१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १५ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o८o कार्तिक १५ बुधबार १३:२८:oo
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

जब नाै कक्षाकी छात्रा एक घन्टाका लागि शिक्षामन्त्री बनिन्...

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८o कार्तिक १५ बुधबार १३:२८:oo

‘रिल’मा एक दिनका लागि मन्त्री र मुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन। यो धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजिना खातुनका लागि पनि ‘रिल’मा नौलो विषय होइन। तर, ‘रिल’मा देखे–सुनेको घटना वास्तविक (रियल)मै आफ्नो जीवनमा आउला भन्ने कुरा रजिनाले कल्पनासमेत गरेकी थिइनन्। 

बुधबार उनकाे जीवनमा कल्पना नगरेकै घटना भयो अर्थात् रजिना एक घन्टाका लागि मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृतिमन्त्री बनिन्। कहिल्यै मन्त्रालय नटेकेकी १८ वर्षीया युवती एकाएक मन्त्री बनेपछि एकछिन अकमकिइन्। जब प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवले आफू बसेको कुर्सी खाली गरेर रजिनालाई जिम्मेवारी हस्तान्तरण गरे तब यो घटनाले स्वयं रजिना र उनीसँगै आएका बालिकाहरूले हर्षविभोर हुँदै ताली पड्काए। 

कलिलो उमेरकी किशोरी अर्कोतर्फ सीमान्तकृत मुस्लिम समुदायकी एक महिला। प्रदेश सरकारले पहिलो पाँचवर्षे कार्यकाल सकेर दोस्रो कार्यकालको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म सो समुदायबाट कुनै पनि महिलाले मन्त्री बन्ने अवसर पाएका छैनन्। यहीवेला मुस्लिम समुदायकी एक किशोरी मन्त्री बनेपछि माहोल एकछिन खुसीसँगै स्तब्ध बन्यो। रजिना वेलावेला भावुक बनिन्।  

‘मन्त्रालय र मन्त्री बस्ने कोठा कस्ता हुन्छन् भनेर नदेखेकी म एकाएक मन्त्री भएपछि सपनाजस्तै लागिरहेको छ,’ मलिन मुद्रामा उनले भनिन्, ‘यो जिम्मेवारी मेरो र आमकिशोरीहरूको आत्मसम्मान, अवसर र सहभागिताको एक अभिव्यक्ति पनि हो।’

यो घटना न रिलमा हो न रियलमा । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा गत ११ अक्टोबरदेखि सुरु भएको ‘गर्ल्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रमअन्तर्गत बुधबार प्रतीकात्मक रूपमा रजिनालाई एकघन्टे मन्त्री बनाइएको हो। यो अभियान सञ्चालन गरिरहेको प्लान इन्टरनेसनल नेपालकी अञ्जु शाक्यले किशोरी सशक्तीकरणको एक नियमित अभियानअन्तर्गत यस्तो अभ्यास गरिएको जानकारी दिइन्। 

उनका अनुसार सोही अभियानअन्तर्गत मधेश प्रदेशमा पनि ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम भइरहेका छन् । आज बिहान आयोजित उक्त कार्यक्रममा प्रदेश सरकारका शिक्षामन्त्री यादव पनि कार्यक्रम अवधिभर सँगै थिए। सो क्रममा मन्त्रीको हैसियतमा रजिनाले मन्त्रालयका योजना, गतिविधि र कार्यक्रमबारे जानकारी लिनुका साथै सहभागी अन्य सहकर्मीबाट प्रश्नोत्तर शैलीमा जिज्ञासासमेत सुनिन्। 

जवाफमा मन्त्री रजिनाले भनिन्, ‘मन्त्रालयका योजना सुनेर मलाई खुसी लागेको छ । तर, हाम्रो गाउँघरमा सामुदायिक विद्यालयको अवस्था नाजुक छ । पर्याप्त कक्षाकोठा, टेबुल–कुर्ची, शौचालय छैनन् । किशोरीहरूलाई महिनावारी भएका वेला विद्यालय जान निकै कठिन भइरहेको छ । प्याड दिने भनिए पनि हामीले आवश्यकताअनुसार पाएका छैनौँ । त्यसकारण भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षण सिकाइमा विशेष ध्यानदिन म आग्रह गर्दछु।’

रजिनाको आत्मविश्वासमिश्रित गुनासो, अपेक्षा र पीडा प्रत्यक्ष हेरिरहेका मन्त्री यादवले युवतीहरूलाई भविष्यमा नेतृत्व लिन र आत्मविश्वास बढाउनमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे। ‘मधेश प्रदेश सरकारले किशोरीहरूका लागि बेटी पढाऊ, बेटी बचाऊ, छोरी शिक्षा, छोरी बिमा, साइकल वितरणलगायतका योजना ल्याएको छ,’ उनले भने, ‘ती योजनाको प्रभावकारी कार्यान्वयनका लागि ध्यान दिँदादिँदै पनि सबै ठाउँका समस्या समाधान गर्न सकिएको छैन । म नेतृत्वमा रहुन्जेल तपाईंहरूका गुनासा सम्बोधनको प्रयास गर्नेछु।’

प्लान इन्टरनेसनल नेपालको पूर्वी क्षेत्रीय कार्यालय जनकपुरका प्रबन्धक रविशंकर पण्डितले महिला सशक्तीकरणबारे सचेतना फैलाउन र अवसर पाएमा महिलाले पनि सबै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्छन् भन्ने सन्देश फैलाउने उद्देश्यले रजिनालाई एक घन्टाका लागि मन्त्री बनाइएको बताए।  

एकघन्टे मन्त्री बनेकी रजिना जनकनन्दिनी गाउँपालिकास्थित श्री राष्ट्रिय मावि कक्षा नाैकी छात्रा हुन्। शारीरिक रूपमा अपांगतासमेत रहेकी खातुन स्थानीयस्तरमा बालविवाह नियन्त्रण, छोरीलाई शिक्षा, सामाजिक कुरीति तथा कुसंस्कारविरुद्ध एक अभियान्ताका रूपमा पनि परिचित छिन्। रासस