१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o७:४९:oo
Read Time : > 3 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नेपाल इन्डो–प्यासिफिक क्षेत्रमा महत्वपूर्ण साझेदार : अमेरिका

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:४९:oo

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच वार्ता

एन्टोनी जे ब्लिंकेन, विदेशमन्त्री, अमेरिका- नेपाल आज इन्डो–प्यासिफिकमा निकै महत्वपूर्ण साझेदार हो । हामी स्वतन्त्र, खुला, सुरक्षित, समृद्ध हिन्द–प्रशान्त क्षेत्र सुनिश्चित गर्न सँगै काम गरिरहेका छौँ ।

अमेरिकाले नेपाल अमेरिकी इन्डो–प्यासिफिक क्षेत्रमा महत्वपूर्ण साझेदार रहेको दाबी गरेको छ । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदसँगको औपचारिक भेटवार्ताअघि मंगलबार गरिएको पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनले नेपाल इन्डो प्यासिफिक क्षेत्रको महत्वपूर्ण साझेदार रहेको बताएका हुन् । 

नेपाल र अमेरिकाबीच ७६ वर्ष लामो कूटनीतिक सम्बन्धको चर्चा गर्दै उनले भने, ‘नेपाल आज इन्डो–प्यासिफिकमा निकै महत्वपूर्ण साझेदार हो । हामी स्वतन्त्र, खुला, सुरक्षित, समृद्ध हिन्द–प्रशान्त क्षेत्र सुनिश्चित गर्न सँगै काम गरिरहेका छौँ ।’ तर, नेपालले विगतदेखि नै इन्डो–प्यासिफिक रणनीतिमा सामेल नहुने निर्णय लिँदै आएको छ ।

अमेरिकाले प्रशान्त महासागर र हिन्द महासागरमा रहेका क्षेत्रलाई इन्डो–प्यासिफिक नाम दिएर सहकार्य गर्दै आइरहेको छ । अमेरिकाले सन् २०१९ मा ल्याएको यो रणनीतिमा सामेल गराउन नेपाललाई कुनै न कुनै रूपले पहल गर्दै आएको छ । तर, कुनै पनि सुरक्षासम्बन्धी विषय जोडिएको रणनीतिमा सामेल नहुने निर्णय नेपालले लिँदै आएको छ । 

परराष्ट्रमन्त्री साउदको भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिंकेनले नेपाललाई इन्डो–प्यासिफिक क्षेत्रको साझेदारका रूपमा जबर्जस्ती जोड्न खोजेका छन् । त्यस्तै, उनले नेपालले क्षेत्रीय मात्र होइन, विश्वव्यापी रूपमा, अन्तर्राष्ट्रिय संस्थाहरूमा रचनात्मक नेतृत्वका रूपमा आफूलाई स्थापित गरिरहेको उनले सुनाए । ‘धेरै शान्ति सैनिकहरू छन् जसले विश्वभर मानिसहरूलाई द्वन्द्वबाट शान्तिमा जान मद्दत गरिरहेका छन्,’ राष्ट्रसंघीय शान्ति अपरेसनमा विश्वको दोस्रो ठूलो नेपाली सुरक्षाकर्मीको संख्या र भूमिकाबारे उनले भने । दुई देशबीच जनस्तरीय, आर्थिक सम्बन्ध तथा लगानीको सम्बन्ध अझ बलियो बनाउन नेपाल र अमेरिकाले काम गरिरहेको साथै अझै धेरै काम गर्नुपर्नेमा उनले जोड दिए । उनले हमासबाट इजरायलमा मारिएका १० नेपाली विद्यार्थीप्रति समवेदना पनि व्यक्त गरे । 

ब्लिंकेनले इन्डो–प्यासिफिक रणनीतिमा नेपाललाई जोडेर गरेको चर्चामाथि परराष्ट्रमन्त्री साउदले भने कुनै प्रतिक्रिया जनाएनन् । उनले नेपाल आतंकवादको सिकार भएको भन्दै नेपालीहरूप्रति सहानुभूति देखाएकोमा अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गरे ।  उनले नेपाल र अमेरिकाबीच निकै लामो र घनिष्ठ सम्बन्ध रहेकोसमेत उल्लेख गरे ।

‘अमेरिका नेपालको विकास साझेदार हो । संयुक्त राज्य अमेरिकाले हामीलाई धेरै क्षेत्रहरूमा मद्दत गरिरहेको छ, विशेष गरी स्वास्थ्य, शिक्षामा मद्दत गरिरहेको छ,’ साउदले भने, ‘हामी आतंकवादको सिकार छौँ । हामीले इजरायलमा हाम्रा १० जना विद्यार्थीहरू गुमायौँ, एकजनाको अपहरण भएको छ ।’ नेपालको कुनै पनि संकटमा सहयोग गरेको भन्दै साउदले अमेरिकी सरकार र जनतालाई धन्यवादसमेत दिए । 

१२ करोड ५० लाख अमेरिकी डलर ऋण दिने
नेपाली समयअनुसार सोमबार साँझ वासिंटन पुगेका परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट)मा मंगलबार बिहान भेटवार्ता भएको छ । भेटवार्तामा ब्लिंकेनले नेपालमा बलियो र समृद्ध लोकतन्त्र अपेक्षा गरेको बताएका छन् । 

उनीहरूबीच द्विपक्षीय सम्बन्ध तथा इजरायल–प्यालेस्टाइन द्वन्द्वसहित अन्तर्राष्ट्रिय मुद्दाबारे छलफल भएको छ । भेटमा दुवै पक्षले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार र मजबुत बनाउने प्रतिबद्धता नवीकरण गरेको नेपाली दूतावासले जनाएको छ ।

‘लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणमा नेपालको प्रगतिको प्रशंसा गर्दै विदेशमन्त्री ब्लिंकेनले अमेरिकी सरकार नेपाललाई बलियो र समृद्ध लोकतन्त्रको रूपमा हेर्न चाहेको बताउनुभयो । उहाँले नेपालको विकास प्रयासमा अमेरिकाले सहयोग जारी राख्ने आश्वासन दिनुभयो,’ भेटवार्तापछि नेपाली दूतावासले जारी गरेको प्रेस नोटमा भनिएको छ । 

इजरायलमा हमास समूहको हमलामा मारिएका नेपाली विद्यार्थीका परिवारजनप्रति विदेशमन्त्री ब्लिंकेनले सहानुभूति जनाएका छन् । उनले बेपत्ता विपिन जोशीको मुक्तिका लागि चासो व्यक्त गरेको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विदेश मन्त्रालयको विज्ञप्तिअनुसार अमेरिकाले नेपालका साना तथा मझौलास्तरका उद्यमका लागि नेपाली बैंकमार्फत १२ करोड ५० लाख अमेरिकी डलर ऋण दिने भएको छ । यसको कार्यान्वयनका विषयमा दुई मन्त्रीबीच छलफल भएको छ । 

भेटवार्तामा परराष्ट्रमन्त्री साउदले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएको सन्दर्भमा विकासका प्राथमिकताहरू बताएका थिए । उनले  व्यापार तथा लगानी, बजार पहुँच, खाद्य सुरक्षा र सूचना प्रविधिलगायतका क्षेत्रमा अमेरिकाबाट थप सहयोगका लागि आग्रह गरे । नेपालका लागि नयाँ निर्यातयोग्य वस्तुहरू थपेर नेपाल व्यापार प्राथमिकता कार्यक्रम (एनटिपिपी) र जिएसपी सुविधाको पुनः प्रमाणीकरण र विस्तार गर्न परराष्ट्रमन्त्री साउदले अमेरिकालाई अनुरोध गरेका छन् । 

मन्त्री साउदले युएसएआइडी र मिलेनियम च्यालेन्ज कम्प्याक्टमार्फत हालै अमेरिकी सहयोगलगायत नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् । दुवै पक्षले एमसिसीअन्तर्गतका आयोजनाहरूको समयमै कार्यान्वयनको महत्वमा जोड दिएका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार दुवै मन्त्रीहरूले ६० वर्षदेखि अमेरिकी पिस कोरको नेपालमा सेवालगायतका विषयमा प्रशंसा गरेका छन् । उनीहरूले नेपालमा थप सहायता र लगानीका विषयमा पनि छलफल गरेका छन् । 

दुवै पक्षले बहुपक्षीय मञ्चमा नेपाल–अमेरिका सहयोग, मध्यपूर्वको वर्तमान अवस्थालगायत क्षेत्रीय तथा विश्वव्यापी मामिलाहरूमा साझा चासोका अन्य विषयमा पनि विचार आदानप्रदान गरेका छन् । भेट हुनुअघि परराष्ट्रमन्त्री साउदले अमेरिकी विदेश मन्त्रालयमा अतिथि पुस्तिकामा हस्ताक्षर गरेका थिए ।

द्विपक्षीय भेटमा परराष्ट्रमन्त्री साउद, नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्रका अमेरिका महाशाखा प्रमुख गणेशप्रसाद ढकाल, उपनियोग प्रमुख कुमारराज खरेल, आर्थिक काउन्सिलर होमकान्त भण्डारी, परराष्ट्र मन्त्रालयका उपसचिव हरिप्रसाद ओडारीलगायत सहभागी थिए । ब्लिंकेनका साथमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र अमेरिकी विदेश मन्त्रालयका अधिकारी थिए ।

परराष्ट्रमन्त्री साउदलाई वासिंटन डिसीस्थित विमानस्थलमा नेपाली राजदूत श्रीधर खत्री तथा अमेरिकी विदेश मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए । परराष्ट्रमन्त्रीले युएसएडका प्रशासक सामन्था पावर र एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । उनले अमेरिकी कंग्रेसमा नेपाल ककसका सहअध्यक्ष सांसद माइक कारेसँग पनि भेटवार्ता गर्नेछन् । 

परराष्ट्र मन्त्रालयका अनुसार युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसमा नेपाली–अमेरिकी व्यापारिक समुदायसँग अन्तत्र्रिmया गर्ने कार्यक्रम छ । उनले नेपाली मूलका अमेरिकी विशिष्ट व्यक्ति तथा गैरआवासीय नेपाली संघका पदाधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । यसअघि तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाँच वर्षअघि अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । परराष्ट्रमन्त्री साउद १९ कात्तिकमा स्वदेश फर्किने कार्यक्रम छ ।

ad
ad