
काभ्रेमा पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा चालक पनौती नगरपालिका– २ का ३५ वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका– २ का ५० वर्षीय शिवविक्रम केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रहरीका अनुसार पनौती नगरपालिका– २ सिलाभन्ज्याङमा कुशादेवीबाट नयाँगाउँतर्फ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको ट्रक दुर्घटना भएको हो। ब्रेक फेल भई ट्रक सडकबाट ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। शव पोस्टमार्टमका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ।
दुर्घटनामा परेर बेथानचोक गाउँपालिका– २ की ४५ वर्षीया शारदा तिमल्सिना गम्भीर घाइते भएकी छिन्। उनको शिर मेमोरियल अस्पतालमै उपचार भइरहेको छ।