१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o७:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइसिसी एकदिवसीय विश्वकप - २०२३ : २० वर्षपछि विश्वकपमा भारतले इंग्ल्यान्डलाई हरायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:३१:oo

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा भारतले २० वर्षपछि इंग्ल्यान्डलाई पराजित गरेको छ । लखनउमा आइतबार विश्वकपअन्तर्गत २९औँ खेलमा भारतले साबिक विजेतासमेत रहेको इंग्ल्यान्डलाई सय रनले हराएको हो । पहिलो ब्याटिङ गरेको भारतले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २९ रनको मध्यम योगफल खडा गर्‍यो । प्रत्युत्तरमा इंग्ल्यान्डले ३४.५ ओभरमा एक सय २९ रन मात्र बनाउन सक्यो । भारतले एकदिवसीय विश्वकपमा अन्तिमपटक सन् २००३ मा दक्षिण अफ्रिकामा भएको संस्करणमा इंग्ल्यान्डलाई ८२ रनले निराश पारेको थियो । 

भारतले मध्यम योगफल रक्षा गर्ने क्रममा मोहमद सामीले कसिलो बलिङ गर्दै सात ओभरमा दुई मेडन राखी २२ रन खर्चेर सर्वाधिक चार विकेट लिएका थिए । यसैगरी, जसप्रित बुमराहले ६.५ ओभरमा ३२ रन खर्चेर तीन विकेट लिए । कुलदीप यादवले २४ रनमा दुई विकेट हात पारे । जितसँगै भारत अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । भारतले लगातार ६ खेलमा जित निकाली १२ अंक जोडेको छ । दक्षिण अफ्रिका १० अंकका साथ दोस्रो तथा न्युजिल्यान्ड आठ अंकसहित तेस्रो स्थानमा छ । 

साबिक विजेता इंग्ल्यान्ड दुई अंकका साथ पुछारमा छ । गणितीय आधारमा मात्र इंग्ल्यान्ड प्रतियोगितामा रहेको छ । भारतविरुद्ध इंग्ल्यान्डका लागि लिआमले सर्वाधिक २७ रन बनाएका थिए । जोए रुट र बेन स्टोक्स शून्य रनमा आउट भएका थिए । 

यसअघि पहिलो ब्याटिङ गरेको भारतको सुरुवात कमजोर भएको थियो । इंग्ल्यान्डका सिमर र स्पिनर बलरविरुद्ध डटेर सामना गर्न नसकेको भारतीय ब्याट्सम्यानले घरेलु मैदानमा गतिलो रन बटुल्न सकेनन् । कप्तान रोहित शर्मा, लोकेश राहुल र सूर्यकुमार यादवले मात्र स्तरीय ब्याटिङ गरेका थिए ।

रोहितले सर्वाधिक ८७ रन बनाएका थिए । उनले १०१ बलमा १० चौका र तीन छक्का प्रहार गरेका थिए । भारतको ब्याटिङमा शुभमन गिलले नौ रन, विराट कोहलीले शून्य रन र श्रेयश आयरले चार रन बनाए । भारतले शीर्ष ब्याट्सम्यान गुमाउँदा भारत ३०.२ ओभरमा १३१–४ को स्थितिमा थियो । त्यसपछि रोहितले राहुल र यादवसँग साझेदारी गर्र्दै भारतलाई दुई सयको योगफल कटाए । राहुलले ५८ बलमा ३९ रन तथा यादवले ४७ बलमा ४९ रन जोडे । बलिङमा इंग्ल्यान्डका लागि डेभिड वियलीले ४५ रन खर्चेर तीन विकेट लिए । क्रिस वाकस र आदिल रसिदले समान दुई विकेट हात पारे । 

कोहली ३४औँ पटक शून्य रनमा आउट
एकदिवसीय क्रिकेटमा सचिन तेन्दुलकरको विश्वकीर्तिमान रूपमा रहेको ४९औँ शतक बराबरी गर्ने लक्ष्य राखेका भारतका विराट कोहली आइतबार इंग्ल्यान्डसँग शून्य रनमा आउट भएका छन् । कोहलीले चालू आइसिसी विश्वकपमै एक शतकीय इनिङ्स खेल्दै ४८औँ शतक पूरा गरेका थिए । इंग्ल्यान्डविरुद्धको महत्वपूर्ण खेलमा कोहलीले नौ बल सामना गर्दा पनि शून्य रनमा आउट भए । करिअरमा उनी ३४औँ पटक शून्य रनमा आउट भएका हुन् । भारतीय क्रिकेट इतिहासमा जाहिर खान सर्वाधिक ४४ पटक शून्य रनमा आउट भएका छन् । 

ad
ad