१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सौरभ यादव राजविराज
Invalid date format o८:२o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिके राउत र उपेन्द्र यादवले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ : राजेन्द्र महतो 

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format o८:२o:oo

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा सिके राउत र उपेन्द्र यादवलाई आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।‌राजविराज नगरपालिका– १० विरोलस्थित प्रतिष्ठान निर्माण कामको माग गर्दै अनशनमा बसेका स्थानीयसँग बिहीबार त्यहाँ पुगेर कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘प्रथम गणतन्त्रवादी नेताको नाममा थालिएको योजना कागजमै सीमित रहनु एकदमै ठीक कुरा होइन,’ उनले भने, ‘यस प्रतिष्ठानको सुरुवातमा उपेन्द्र यादवको ठूलो भूमिका छ, त्यसैले उनले यसमा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । जन्म दिएपछि पालनपोषण गर्नुपर्छ, यसरी लावारिस छोड्नुहुँदैन्, सिके राउत यहाँको जनप्रतिनिधि हो, त्यसैले उनले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’ उक्त प्रतिष्ठान निर्माण संघीय सरकारको योजना रहेको चर्चा गर्दै उनले जनमत र जसपा सरकारमा रहेकाले पनि उनीहरूले पहल गर्नुपर्ने बताए । 

नेता महतोले भने, ‘यो संघीय सरकारको योजना हो र अहिले उपेन्द्र यादव नेतृत्वको जसपा र सिके राउत नेतृत्वको जनमत दुवै पार्टी सरकारमा छन्, उनीहरूले यसका लागि पहल गर्नुपर्छ, यो उनीहरूको दायित्व हो ।’  यसका लागि आफ्नोतर्फबाट हुन सक्ने पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

एक प्रदेश, एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीतिअनुसार १६ पुस  ०७५ मा मधेश प्रदेशको मन्त्रिपरिषद्को बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो।  यसका लागि २१ जेठ ०७८ मा मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका– १० विराेलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो।

जग्गाको टुंगो लागेपछि यही जग्गामा २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। तर, शिलान्यासको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि निर्माण कार्य सञ्चालन हुन सकेको छैन।

गजेन्द्रनारायण सिंह अस्पतालको परिसरमा प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको कार्यालय भए पनि नेतृत्वविहीन अवस्थामा छ। 

समितिका अध्यक्ष डा. रोहित पोखरेल प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेपछि र गजेन्द्रनारायण सिंह अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवं प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जितकुमार झा सरुवा भएर अन्यत्र गएपछि एक वर्षयता कार्यालयको कार्यकारी निर्देशकको पदसमेत रिक्त छ।त्यसपछि कार्यालयमा करारमा रहेको तीनजना कर्मचारीको म्यादसमेत थप गरिएको छैन।  यद्यपि, उनीहरू आश्वासनकै भरमा कार्यालय आउने–जाने गरेका छन्। 

आक्रोशित स्थानीयले प्रतिष्ठानको निर्माण कार्यलाई यथाशीघ्र अघि बढाउनुपर्ने, प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरूमा अविलम्ब पदाधिकारी र कर्मचारी नियुक्त गर्नुपर्ने, प्रतिष्ठान निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलन थालेका छन्।