१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:o९:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपालको लगातार दोस्रो जित

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o९:oo

नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार हङकङमाथि ६ विकेटको सानदार जित निकालेको छ । टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको हो । यसअघि युएईलाई ६ विकेटले निराश पारेको थियो । मूलपानीको माथिल्लो मैदानमा नेपालले बलिङ, ब्याटिङ तथा फिल्डिङमा एकनासको प्रदर्शन गरेको थियो । पहिलो ब्याटिङ गरेको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको थियो । नेपालले १३.५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । 

लगातार दोस्रो जितपछि नेपाल चार अंकसहित शीर्ष स्थानमा छ । एक–एक खेल खेलेका हङकङ र युएईले अंक जोडेका छैनन् । नेपालले तेस्रो खेल शनिबार हङकङसँग खेल्नेछ । नेपालको जितमा प्लेयर अफ दी म्याच करण केसीले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । करणले चार ओभरमा १५ रन खर्चेर सर्वाधिक चार विकेट लिए । उनले ३.७५ इकोनोमीमा बलिङ गरे । उनले योजनाअनुसार खेलेका कारण नतिजा पक्षमा आएको बताएका छन् । 

उनले मूलपानीको माथिल्लो मैदानमा युएईसँग भन्दा हङकङविरुद्धको खेल सहज भएको जनाए । ‘यो विकेटमा 
दोस्रो दिनमा कसरी खेल्ने भन्ने भयो, त्यहीअनुसार खेल्यौँ,’ उनले भने, ‘योजनाअनुसार हङकङलाई सस्तैमा रोक्न सफलभयौँ ।’ एक वर्षदेखि निरन्तर खेलेको र ठूलो टोलीसँग खेलिसकेको हुँदा जित सहज भएको उनले बताए । ‘लगातार एक वर्षदेखि निरन्तर क्रिकेट खेलिरहेका छौँ, यसबीचमा ठूला राष्ट्रसँग खेल्ने अवसर पायौँ, भारतको प्रशिक्षणपछि अझै राम्रो भएको छ,’ उनले भने, ‘ठूला टोलीसँगको प्रतिस्पर्धाका कारण यहाँ सहज नतिजा निस्किरहेको छ ।’ 

 नेपालको ४६ रनमा तीन विकेट
सहज लक्ष्य पछ्याउँदा नेपालले छिट्टै तीन विकेट गुमाएको थियो । इनिङ्सको ३.२ ओभरमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । इशान खानबाट बोल्ड हुनुअघि उनले ८ बलमा एक चौकाको सहयोगमा ८ रन जोडे । इनिङ्सको ५.१ ओभरमा कुशल मल्लले आफ्नो विकेट इशानलाई नै दिए । उनले ६ बलमा १ रन जोडे । त्यसपछि पिन्च हिटरका रूपमा रहेका सन्दीप जोराले ११ बलमा ३ रन मात्र जोडे । इशानले नेपालको शीर्ष चारमध्ये तीन विकेट आफ्नो नाममा लेखाए । 

सन्दीपलाई गुमाउँदा नेपाल ७.३ ओभरमा ४७÷३ को अवस्थामा थियो । कप्तान रोहितकुमार पौडेल र गुल्सन झाले पाँचौँ विकेटका लागि अविजित साझेदारी गरे । रोहितले २० बलमा दुई छक्का र एक चौकाको सहयोगमा २५ तथा गुल्सनले पाँच बलमा दुई छक्का प्रहार गरी १४ रन बटुले । रोहित र गुल्सनबीच २२ रनको साझेदारी भएको थियो । रोहितले आसिफ शेखसँग चौथो विकेटका लागि २८ बलमा ३० रनको साझेदारी गरेका थिए । नेपालको इनिङ्समा शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३४ बलमा ६ चौका प्रहार गरे । 

 अभिनाशको ५० विकेट पूरा 
डेब्युको तीन वर्षपछि तीव्र गतिका बलर अविनाश बोहराले अन्तर्राष्ट्रिय टी–२० मा ५० विकेट पूरा गरेका छन् । हङकङविरुद्ध ४१औँ ओभरमा यासिम मुर्तजालाई आउट गर्दै उनले टी–२० खेलमा ५० विकेट पूरा गरेका हुन् । उनले २०१९ मा युएईविरुद्ध डेब्यु गरेका थिए । समग्रमा उनले ४१ खेलमा ५१ विकेट लिएका छन् । यसक्रममा उनले आठ सय १६ बल फ्याँकेका छन् । उनले ९५१ रन दिएका छन् । अविनाशको बलिङ इकोनोमी ६.८० रहेको छ । अन्तर्राष्ट्रिय टी–२० करिअरमा उनले चार विकेट एक र पाँच विकेटभन्दा माथि एकपटक लिएका छन् । 

‘हङकङविरुद्धको खेलमा योजनाअनुरूप प्रदर्शन भएको छ,’ उनले भने । एकदिवसीय टोलीमा नहुँदा टी–२० फम्र्याटमा पर्न सधैँ अभ्यास गरिरहेको उनले बताए । पछिल्लो समय भारतको प्रशिक्षणले आफ्नो प्रदर्शनमा सुधार आएको उनको भनाइ छ । अविनाश ५० विकेट पूरा गर्ने तेस्रो नेपाली बलर बनेका छन् । यसअघि सन्दीप लामिछाने र करण केसीले यो उपलब्धि हासिल गरेका छन् । सन्दीपले ४६ खेलमा सर्वाधिक ८९ तथा करणले ४७ खेलमा ६८ विकेट लिएका छन् । 

 करणको घातक बलिङ
हङकङविरुद्ध फास्टबलर करणले कसिलो बलिङ गरेका थिए । इनिङ्सको पहिलो बलमै करणले हङकङका कप्तान निजाकत खानलाई बोल्ड गरेका थिए । उनले हङकङका अनुभवी ब्याट्सम्यान बाबर हयातलाई कुशल भुर्तेलबाट क्याच आउट गराए । अविनाश र सोमपाल कामीले समान दुई विकेट लिए । सोमपालले ३.३ ओभरमा १० र अविनाशले ४ ओभरमा १७ रन खर्चिएका थिए । 

कुशल मल्ल र मौसम ढकालले समान एक विकेट लिए । मौसमको अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो विकेट हो । उनले जिसन अलीलाई कुशल मल्लबाट क्याच आउट गराएका थिए । उनले शृंखलाअन्तर्गत युएईविरुद्ध डेब्यु गरेका हुन् । ४२ रन बनाएका आसिफलाई यासिम मुर्तजाले विकेटकिपर जिसन अलीबाट क्याच गराएका थिए । पाँचौँ नम्बरका यासिम मुर्तजाले सर्वाधिक ३६ रन बनाए । ३६ बल खेलेका उनले दुई चौका र एक छक्का प्रहार गरेका थिए । जिसन अलीले १७ रनको योगदान गरे । 

 ब्याटिङ राम्रो भएन
निजाकत खान, कप्तान, हङकङ

हाम्रो ब्याटिङ राम्रो भएन । विश्वकपअघि यो प्रदर्शन राम्रो मान्न सकिँदैन । ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन भयो । सोचेभन्दा कम योगफलमै रोकियौँ । एसिया कप छनोट र यो खेलमा फरक खेलाडी छन् । विश्वकप छनोटमा खेलाडी फरक हुनेछ । वातावरणसँग पनि खेल्न सक्नुपर्छ । पावर प्लेमा राम्रो गर्न सकेनौँ । 

ad
ad