१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:१६:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चालू आवमा मात्रै साढे नौ अर्बको विद्युत् निर्यात, ५६ प्रतिशतले वृद्धि

३१ प्रतिशतले बढ्यो निर्यात, पाँच महिनामा भित्रियो १२ अर्ब

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१६:oo

चालू आव ०८०/८१ को पहिलो तीन महिनामा नौ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ५६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ६ अर्ब १६ करोड ५३ लाख रुपैयाँको विद्युत् निर्यात भएको नेपाल विद्युत् प्राधिकरणको तथ्यांक छ ।

 प्राधिकरणका अनुसार असोजमा मात्रै चार अर्ब दुई करोड ३५ लाखको विद्युत् निर्यात भएको छ । तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसतदर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ । सिक्किमको बाढीले १२ सय मेगावाटको टिस्टा तीन जलविद्युत् आयोजना बगाएको र कोइलाको मूल्य बढ्दा अहिले भारतमा बिजुलीको मूल्य बढेको छ । पछिल्लो समय प्राधिरकणले प्रतियुनिट १६ रुपैयाँसम्ममा विद्युत् निर्यात गरेको छ । फलस्वरूप विद्युत् निर्यातबाट राम्रो आम्दानी भइरहेको प्राधिकरणले जनाएको छ । भारततर्फ बिजुली निर्यात यो वर्ष बिजुली निर्यात सुरु गरेदेखि २८ जेठबाट असोज मसान्तसम्म प्राधिकरणले ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । गत वर्ष सोही अवधिमा नौ अर्ब ४० लाख रुपैयाँको विद्युत् निर्यात भएको थियो । 

 कुन महिना कति निर्यात ?
 जेठ महिनाको पाँच दिनमा ४० करोड पाँच लाख र असारमा एक अर्ब ७५ करोडको विद्युत् निर्यात भएको थियो । जेठ र असारमा विद्युत्को औसतदर प्रतियुनिट नौ रुपैयाँ ६७ पैसा थियो । साउनमा दुई अर्ब १४ करोड ३३ लाख, भदौमा तीन अर्ब ४७ करोड ८५ लाख र असोजमा चार अर्ब दुई करोड ३५ लाख रुपैयाँको विद्युत्  निर्यात भएको छ । तीन महिनामा नौ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् निर्यात भएको हो । 

साउन, भदौ र असोजमा विद्युत्को औसत बिक्रीदर प्रतियुनिट क्रमशः आठ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ । तीन महिनाको विद्युत् समग्र औसत बिक्रीदर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ । विद्युत् निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ । 

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । कात्तिक ०७८ देखि भारतीय बजारमा व्यावसायिक रूपमा विद्युत् निर्यात गर्दै आएको छ । प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही समयअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएन लाई बिक्री गरिरहेको छ । एनभिएनले ११० मेगावाट विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थालाई हेर्दा यस वर्ष करिब १६ अर्ब रुपैयाँको विद्युत् निर्यात हुन सक्ने देखिएको बताउनुभयो । ‘करिब सय मेगावाट थप विद्युत् निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग प्रस्ताव गरेका थियौँ, तर अहिलेसम्म स्वीकृति नपाएपछि केहीअघि पुनः प्रस्ताव पठाएका छौँ,’ उनले भने, ‘चाडपर्व सुरु भइसकेको छ, यस अवधिमा कलकारखाना बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युत्को माग घट्छ, भारतबाट थप विद्युत् निर्यात स्वीकृति नपाउने हो भने विद्युतगृहहरू बन्द गर्नुपर्ने अवस्था आउन सक्नेछ, यस्तो अवस्थामा छिट्टै थप विद्युत् निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौँ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा गत जेठ १८ गते द्विपक्षीय दीर्घकालीन विद्युत् व्यापार समझदारी पनि भएको थियो । त्यसअन्तर्गत भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् किन्ने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा पनि गरेका थिए । त्यससम्बन्धी अन्तिम सम्झौतापत्रको मस्यौदा भारतीय मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि दुवै देशका ऊर्जासचिवले त्यसमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । त्यसपछि नेपाल र भारतबीचको विद्युत् व्यापार थप उचाइमा पुग्ने घिसिङ बताउँछन् ।

 गत आवमा नौ अर्बको विद्युत् व्यापार घाटा
 गत आवमा प्राधिकरणले भारतसँगको विद्युत् व्यापारमा नौ अर्बबराबरको घाटा व्यहोरेको थियो । गत आवमा प्राधिकरणले भारतबाट १९ अर्ब ४४ करोडको विद्युत् आयात गर्दा १० अर्ब ४५ करोडको मात्रै निर्यात गरेको थियो । तर, चालू आवमा दुई देशबीचको विद्युत् व्यापार नाफामा जाने प्राधिकरणको अनुमान छ । 

प्राधिकरणले स्वदेशी माग धान्न सन् १९७१ देखि नै भारतबाट विद्युत् आयात गर्दै आएको थियो । बर्खामा उत्पादन बढी भएका वेलामा इनर्जी बैंकिङ (पैँचो)का रूपमा भारतको बिहार राज्यलाई बिक्री गर्दै आएको थियो । पछि हिउँदमा निर्यात भएबराबरको विद्युत् आयात गरिन्थ्यो र बढी भएमा शुल्क भुक्तानी गरिन्थ्यो । प्राधिकरणले कात्तिक ०७८ देखि भने भारतको इनर्जी एक्सचेन्ज मार्केटमा व्यापारिक रूपमा नै विद्युत् बिक्री गर्दै आएको छ । 

नेपालमा अधिकांश जलविद्युत् आयोजना नदी प्रवाह (आरओआर)मा आधारित छन् । त्यस्तो अवस्थामा बर्खामा खोलामा पानी बढी हुँदा उत्पादन पनि पूर्ण हुन्छ । यही समयमा भारतमा विद्युत् निर्यातसमेत गर्न सकिन्छ । तर, हिउँदमा खोलामा पानी कम हुँदा उत्पादन स्वदेशी मागभन्दा पनि कम हुन्छ । त्यसवेला स्वदेशी माग धान्न भारतबाटै विद्युत् आयात गर्नुपर्छ । तर, गत आवमा सुक्खायाम अस्वाभाविक रूपमा लम्बिँदा हिउँदमा विद्युत् उत्पादन पनि ह्वात्तै घटेको थियो । त्यसैले गत आवमा विद्युत्को निर्यातभन्दा आयात बढी भएको घिसिङ बताउँछन् । 

ad
ad