१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
मुना कुँवर काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १५:१९:oo
Read Time : > 3 मिनेट
ad
ad
प्रवास डिजिटल संस्करण

‘निष्पक्ष, पारदर्शी र विश्वासिलो निर्वाचन प्रणालीका लागि मेरो उम्मेदवारी’

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:१९:oo

गैरआवासीय नेपाली संघमा फेरि पनि तपाईंको उम्मेदवारी किन ?
एनआरएनएको इतिहासमा पहिलोपटक अध्यक्ष महिलाका रूपमा मैले छोटो अवधि काम गर्ने मौका पाएँ । मैले ६ महिना कार्यकारी अध्यक्षका रूपमा काम गर्दा उल्लेखनीय काम गरेकी छु । एक कार्यकाल पूर्ण अवधि काम गर्न पाएमा संघलाई जीवन्त र गतिशील ढंगले अघि बढाउने र विदेशमा बस्ने प्रत्येक नेपालीले अपनत्व महसुस हुने वातावरण बनाउनेछु ।

मेरो आफ्नो कार्यकालमा महत्वपूर्ण उपलब्धि भएको छ । गैरआवासीय नेपाली नागरिकताका लागि संसद् र नेपाल सरकारले महत्वपूर्ण निर्णय गरेको छ । नवौँ राष्ट्रिय खेलकुदमा पहिलोपटक एनआरएनएको टिम सहभागी भई पदक जितेको छ ।संघको काठमाडौंस्थित कार्यालयको पूर्वाधार विकास (लिफ्टदेखि घेरा पर्खालसम्म) अपांगमैत्री बनाएको छ । पोखरामा स्मार्ट शौचालय निर्माण सुरु गरिएको (चाँडै हस्तान्तरण हुने) छ । बिरामीलाई रगत अभाव नहोस् भनेर घुम्ती रक्तसञ्चार बस सुरु गरिएको (तीन प्रदेशमा चाँडै हस्तान्तरण हुने तयारीमा) गरेका छौँ । विदेशमा रहेका नेपालीलाई समस्या परेमा तत्काल जानकारी गराउन २४ सै घन्टा खुला रहने हटलाइन सेवा सुरु गरेको छ । संघको विधान पहिलोपटक सर्वसम्मतले पास पनि भएको छ ।

संघको अबको नेतृत्व समझदारी, सहकार्य र एकताको पक्षपाती हुनुपर्नेछ । त्यसैले संघको संयोजनकारी भूमिकामा म आफूलाई नै उपयुक्त र सक्षम ठान्छु । त्यसैले पनि आगामी कार्यकालका लागि संघमा अध्यक्ष पदका लागि मेरो उम्मेदवारी हो ।

तपाईं अध्यक्ष हुनुभयो तपाईंले दुई वर्षमा गर्ने योजना के–के छन् ? 
संघभित्र गर्नुपर्ने कामहरू धेरै छन् । मैले आगामी कार्यकालका लागि २४ वटा बुँदा अगाडि सारेकी छु । जसमध्ये प्रतिनिधिलाई मात्र मताधिकार रहने व्यवस्थाको अन्त्य गर्नुपर्नेछ । किनभने संघको निर्वाचनमा सबैको उत्तिकै अधिकार छ । त्यसैगरी प्रत्येक गैरआवासीय पञ्जीकृत सदस्यले मतदान गर्न पाउने अधिकारका लागि काम गर्नेछु । रेमिट्यान्सको वृद्धिमा विशेष जोड दिइनेछ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको योजनालाई अझ सबल, प्रभावकारी बनाउन विदेशमा रहेका बढीभन्दा बढी नेपालीलाई आबद्ध गर्न विभिन्न देशमा सचेतना कार्यक्रम गर्ने मेरो योजना छ । विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई केही समस्या भएमा खबर गर्न स्थापना गरिएको २४सै घन्टा खुला रहने हटलाइन सेवालाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने मेरो योजना छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकहरू र विद्यार्थीहरूले विदेशमा कुनै पनि समस्या भोग्नुपरेमा नेपाल सरकारले तत्काल उचित कदम चाल्नुपर्दछ । यस्तो अवस्थामा नेपाल सरकार र सम्बन्धितसँग एनआरएनएले निरन्तर समन्वय गर्नेछ । नेपालका स्थानीय उत्पादनलाई विश्वबजारमा पुर्‍याउन विशेष पहल गर्नेछु । उच्च हिमाली जडीबुटी र स्याउ, अदुवा, टिमुर, कफी, खुर्सानीजस्ता कृषि उपज, अचार, गुन्द्रुक, सिन्कीजस्ता मौलिक चिजहरू ब्रान्डिङ गर्ने मेरो योजना छ । यसका साथै अन्य योजनाहरूको पनि मैले बनाएकी छु । जसलाई क्रमिक रूपमा कार्यान्वयन गर्ने मेरो प्रतिबद्धता छ ।

म नेतृत्वमा पुगेलगत्तै एनआरएनए ग्लोबल फन्ड स्थापना गरिनेछ । जुन गैरआवासीय नेपाली संघको सबैभन्दा ठूलो कोष हुनेछ । जुन नेपाल र नेपाली मात्रको समृद्धिका लागि सारथि मात्र होइन, संकट पर्दाको सञ्जीवनी पनि हुनेछ । कोष एनआरएनएका प्रत्येक सदस्यको लागि गर्वको विषय बन्नेछ । व्यापक छलफल, गृहकार्य र योजना बनाएर कोषलाई अघि बढाइनेछ ।

निर्वाचनपछि आफ्नो लक्ष्य हासिल गर्न र थप एकताबद्ध, प्रभावकारी संगठन निर्माण गर्न अन्य नेतृत्व तथा सदस्यहरूसँग कसरी सहकारी गर्ने योजना छ ?
आगामी कार्यकालमा मैले गर्ने कामहरूमध्ये यो पनि प्रमुख काम हो । अहिले संघभित्रैे मनमुटाव, गुटबन्दी र तिक्तता देखिएको छ । तर, यसलाई जतिसक्दो छिटो समाधान गर्नु अहिले अपरिहार्यता हो । त्यसैले यदि मैले आगामी कार्यकाल हाँक्ने मौका पाएँ भने सबैभन्दा पहिला यो समस्यालाई समाधान गर्नेछु  । संघभित्रको मनमुटावलाई तोड्दै एकतासहित पारदर्शी र मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्नेछु ।

एक उम्मेदवारको हैसियतमा नेपाली संस्कृति र सम्पदालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न एनआरएनएको भूमिकाप्रति तपाईंको दृष्टिकोण के छ ?
एक उम्मेदवारको हैसियतले यो मेरो कर्तव्य पनि हो । तर, म उम्मेदवार नभएपछि गैरआवासीय नेपाली नागरिककाे हैसियतले मैले मेरो मुलुकको संस्कृति र सम्पदालाई प्रवर्द्धन गर्नु दायित्व पनि हो । यसै विषयलाई मनन गर्दै मैले नेपालका स्थानीय उत्पादनलाई विश्वबजारमा पुर्‍याउन विशेष योजना बनाएकी छु । जस्तै, उच्च हिमाली जडीबुटी, स्याउ, अदुवा, टिमुर, कफी, खुर्सानीजस्ता कृषि उपज, अचार, गुन्द्रुक, सिन्कीजस्ता मौलिक चिजहरू ब्रान्डिङ गरिनेछ । र, यसलाई विश्वबजारमा पुर्‍याइनेछ ।

स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने मान्यताअनुरूप पोखरामा सम्पन्न नवाैँ राष्ट्रिय खेलकुदमा एनआरएनएका खेलाडीहरूले भाग लिई पदकसमेत जितेको सबैलाई अवगत नै छ । अब कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदमा बढीभन्दा बढी एनआरएनए खेलाडीको सहभागिता सुनिश्चित गरिनेछ । अब यो खेलकुदलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेछ ।

नेपाली डायस्पोराले सामना गर्नुपर्ने मुख्य समस्या वा चुनौतीहरू के छन् र निर्वाचित भएमा त्यसलाई कसरी सम्बोधन गर्ने योजना छ ?
हाम्रो अथक प्रयासको परिणाम नेपाल सरकारले भर्खरै लागू गरेको गैरआवासीय नेपाली नागरिकताले केही हदसम्म सहज प्रदान  गरेको छ । वंशजको नागरिकताको निरन्तरतालगायत नेपाली नागरिकसरहको अधिकारका नपाउनु गैरआवासीयका लागि चुनौती हुन् । मेरो कार्याकालमा यो अधिकारको विषयमा पनि लबिङ गर्नेछु । त्यस्तै, नेपाल सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा ध्यान नपुर्‍याउँदा नेपाली नागरिकहरू अपहेलित हुनुपरेको छ । विशेष गरी श्रम गन्तव्य मुलुकमा नेपाली श्रमिकले समस्या भोगेका छन् । श्रम गन्तव्य मुलुकमा कूटनीतिक नियोगको प्रदर्शन बलियो हुन नसक्दा नेपाली श्रमिकले दुःख पाएका छन् । म मेरो कार्यकालमा यसलाई सुधार गर्नेछु । नियोगहरूको क्षमता अभिवृद्धिमा सरकारसँग समन्वय गर्नेछु । त्यस्तै, विश्वका सबै मुलुकबाट नेपालमा रेमिट्यान्स पठाउनका लागि औपचारिक माध्यमको सुविधा छैन । यसमा पनि सरकारसँग समन्वय गरी एनआएनएलाई कमिसनसहित औपचारिक रूपमा रेमिट्यान्स पठाउन सक्ने सुविधाको व्यवस्था गर्नेछु ।

ad
ad