
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले सदस्य संख्याको अंकगणितका आधारमा तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनहरूलाई आग्रह गरेका छन्।
नेपाल पत्रकार महासंघ रुपन्देहीले दसैँ, दीपावली, छठ र नेपाल संवतको अवसरमा आइतबार बुटवलमा गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले शुद्धीकरणको विषयलाई लिएर तालाबन्दी गरी महासंघको गरिमा नघटाउन आग्रह गरे।
‘सबैको साझा संस्था बनाउने जगका रूपमा शुद्धीकरण गरिएको हो। विजयादशमीको शुभकामना दिँदै म बुटवलबाट भन्छु– तालाबन्दी र निषेधले पत्रकार महासंघको ओझ घट्ने हो,’ उनले भने, ‘संवाद गरौँ, सहकार्य गरौँ, विधान र शुद्धीकरणअनुसार नयाँ कोर्समा अगाडि बढौँ।’
पत्रकार महासंघ संवादबाटै निकास निकाल्न तयार रहेको बताउँदै अध्यक्ष पोखरेलले टाउका गनेर हिसाबकिताबमा मात्रै सीमित नहुन आग्रह गरे। ‘एउटा संख्या बढी र तल हुँदैमा चुनाव जित्ने र हार्ने अवस्थाको अन्त्य गर्नुपर्छ। शुद्धीकरणले गर्न खोजेको त्यही हो। र, माथि हुँदैमा चुनाव जित्ने र हार्ने अवस्था हुँदैन,’ उनले भने।
पोखरेलले नेपालको पछिल्लो राजनीतिमा समेत सहकार्यको विकास भएकाले नेतृत्वमा कसैलाई पनि निषेध गर्न नहुने बताए। उनले विगतमा निषेध गरिए पनि अब त्यसो हुन दिन नहुनेमा उनको जोड थियो। कोही मिलेर कसैलाई सक्ने नभई सबैलाई समेटेर लैजानका लागि शुद्धीकरण गरिएको उनको दाबी छ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चाडपर्वहरूमा तडकभडक र विकृतिहरू देखापरेको बताउँदै यसतर्फ सञ्चार क्षेत्रले बहस चलाउनुपर्ने बताए। उनले नेपाली चाडपर्वको आफ्नै खालको मौलिकता रहेको भए पनि विपन्न समुदायको बारेमा पनि सोच्नुपर्ने समय आएको बताए।
यसैगरी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले चाडपर्वहरूले सबैलाई एकतामा जोड्नुपर्ने धारणा राखे।