१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख १९ बुधबार ११:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पार्किङ खुल्यो, कहिले खुल्छ धरहरा ?

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:२६:oo

दसैँ–तिहारलाई लक्षित गरी काठमाडौं महानगरले सुन्धारास्थित धरहराको भूमिगत पार्किङ खुला गरेसँगै सर्वसाधारणमा धरहरा प्रवेश कहिले गर्न पाइन्छ भन्ने जिज्ञासा बढेको छ । दुई वर्षअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हतार–हतारमा धरहरा उद्घाटन गरे पनि सर्वसाधारणले प्रवेश पाएका छैनन् । 

धरहरासहितका करिब ९० प्रतिशत संरचना बनिसकेका छन् । बाँकी १० प्रतिशत बन्न अझै चारदेखि पाँच महिना लाग्ने धरहरा निर्माण गरिरहेको कम्पनी जिआइटिसी रमन कन्स्ट्रक्सनका प्रोजेक्टर म्यानेजर रमेश पौडेलले बताए । ‘९० प्रतिशत काम सकिएको छ । हामीसँग सम्झौता भएकोबाहेकका केही काम बाँकी छन् । ती काम सकेर हस्तान्तरण गर्दा अझै चार–पाँच महिना लाग्छ,’ प्रोजेक्टर म्यानेजर पौडेलले भने ।

रमेश पौडेल, प्रोजेक्टर म्यानेजर,जिआइटिसी रमन कन्स्ट्रक्सन
९० प्रतिशत काम सकिसकेको छ । हामीसँग सम्झौता भएबाहेकका केही काम बाँकी छन् । ती काम सकेर हस्तान्तरण गर्न अझै चार–पाँच महिना लाग्छ । यस्तै, धरहराअगाडिको सडक व्यवस्थित, बगैँचा निर्माण, बाहिरी भाग व्यवस्थित, हरियाली बनाउनेलगायत काम बाँकी छन् ।

उनका अनुसार धरहरा अगाडिपट्टिको सडक व्यवस्थित, बगैँचा निर्माण, बाहिरी भाग व्यवस्थित, हरियाली बनाउनेलगायत काम बाँकी छन् । तत्कालीन प्रधानमन्त्री ओलीले ११ वैशाख ०७८ मै धरहरा निर्माण सम्पन्न भएको दाबी गर्दै उद्घाटन गरेका थिए । उनले हाल धरहरा निर्माणका लागि कुनै पनि समस्या नभएको र छिट्टै हस्तान्तरण हुने बताएका थिए । 

सुन्धारा र पुरानो धरहरा संरक्षण सुरु नै भएन 
धरहराआसपासका संरचना निर्माणले गति लिए पनि सुन्धारा र ठुटे धरहरा (पुरानो) संरक्षण भने अगाडि बढ्न सकेको छैन । ‘हामीले सुन्धारा र पुरानो धरहरा संरक्षणबाहेकका काम गरिरहेका छौँ,’ म्यानेजर पौडेलले भने । सुन्धारा पुनर्निर्माण गलत तरिकाले भएको भन्दै स्थानीयले विरोध गरेपछि काम रोकिएको थियो । निर्माण कम्पनीको कामविरुद्ध काठमाडौं महानगरका मेयर बालेन्द्र साहले समेत आपत्ति जनाएका थिए । भूकम्पले ढलेको धरहरा संरक्षण पनि उपयुक्त तरिकाले नभएको भन्दै स्थानीयले विरोध गरेपछि कम्पनीले काम रोकेको थियो । हाल ती दुवै कामले निरन्तरता पाउन सकेको छैन । 

कस्तो बन्दै छ नयाँ धरहरा ?
ऐतिहासिक सम्पदा भए पनि धरहरा पुनर्निर्माण बहुउपयोगी आधुनिक भवनका रूपमा भइरहेको छ । यस भवनको तीन तलासम्म सवारी पार्किङस्थल रहेको छ । जसमध्ये आइतबारदेखि पहिलो एक तला सर्वसाधारणका लागि खुला गरिएको छ । धरहरा क्षेत्र निर्माण सम्पन्न भएपछि सुन्धारा, न्युरोड, रत्नपार्क क्षेत्रमा आउने सवारीसाधनले यहाँ सःशुल्क पार्किङ गर्न सक्नेछन् । आधुनिक ढंगले पुनर्निर्माण गर्न जमिन अपुग भएपछि सरकारले गोश्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गरिरहेको छ । जसकारण पहिले पाँच रोपनी क्षेत्रफलमा फैलिएको धरहरा ४२ रोपनीमा विस्तार भएको छ । तत्कालीन पुनर्निर्माण प्राधिकरणले पारित गरेको डिजाइनअनुसार गोश्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहेको छ । भित्र छिरेपछि दुई तला भूमिगत छ । भूमिगत तलाबाट लिफ्ट चढेर धरहराको माथिल्लो भागमा पुग्न सकिनेछ ।

पर्यटकको सुविधाका निम्ति धरहरा चढ्न र ओर्लन दुईवटा लिफ्ट छुट्टाछुट्टै राखिएको छ । लिफ्टमा एकपटकमा आठजनासम्म चढ्न सक्नेछन् । धरहराको २०औँ तलामा ‘अब्जरभेसन डेस्क’ निर्माण भएको छ । यहाँबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिनेछ । २० तलाबाट धरहराको टुप्पासम्म जान प्रयोग गरिने लिफ्ट पारदर्शी छ । धरहरालाई हरियालीयुक्त बनाउन एउटा बगैँचा बनाइनेछ । बगैँचालाई ‘ह्यांगिङ गार्डेन’ नाम दिइएको छ । डिजाइनअनुसार धरहरा प्रवेश गर्ने मुख्य ढोकामा पानीको अत्याधुनिक फोहरा बनाइनेछ । यहाँ संग्रहालयसमेत निर्माण गरिनेछ । संग्रहालयमा पुराना सिक्का छाप्ने मेसिन राखिनेछ । धरहरामा राखिने पानीको फोहोरा ५० फिट अग्लो हुनेछ । यसको १०औँ तलामा मिनी थिएटर रहनेछ । जहाँ प्रोजेक्टरबाट धरहराको इतिहासबारे भिडियो देखाइनेछ ।

ad
ad