१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o८:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जनशक्ति हटाएपछि वीरमा उपचार सेवा प्रभावित : २३ आइसियूसहित १५० बेड बन्द, पाँच सय दरबन्दी खाली

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:५५:oo

वीर अस्पतालले करारमा कार्यरत जनशक्ति हटाएपछि उपचार सेवा प्रभावित बनेको छ । २० असोजदेखि लागू हुने गरी अस्पतालले विशेषज्ञ, एमबिबिएस चिकित्सकसहित दुई सय ७६ जना स्वास्थ्यकर्मी निकालेपछि उपचार सेवा नै प्रभावित बनेको हो ।

हटाइनेमा ५० जना एमबिबिएस चिकित्सक, दुईजना विशेषज्ञ चिकित्सक, १७ जना इमर्जेन्सीमा कार्यरत चिकित्सक, एक सय ५५ जना स्टाफ नर्स, ल्याबमा कार्यरत १० जना, अन्य रेडियोलोजी, प्याथोलाजीलगायतमा काम गर्ने स्वास्थ्यकर्मी छन् । तर नयाँ दरबन्दी प्रक्रियाबाट कर्मचारी भर्ना गर्ने तयारी नै नगरी स्वास्थ्यकर्मी हटाउँदा उपचार सिस्टममै समस्या उत्पन्न भएको छ । स्वास्थ्यकर्मी निकालेपछि एक सय ५५ वटा बेड घटाइएको छ । जनशक्ति घटाएर उपचार सेवा खुम्च्याइएपछि सर्वसाधारण मारमा परेका छन् । 

५५ वटा आइसियू बेडमध्ये २३ वटा बेड घटाएको छ । जनशक्ति अभाव हुने देखिएपछि अस्पताल प्रशासनले शड्ढया नै घटाएको हो । हाल ब्लड बैंक, इमर्जेन्सी, ल्याबलगायतमा जनशक्तिको अभाव छ । दिनहुँ बिरामी बढे पनि जनशक्ति घटेकाले उपचार लिन कठिन हुने गरेको छ । हाल हटाइएका स्वास्थ्यकर्मी कोभिडकालमा भर्ना गरिएको थियो । उक्त संख्यासहित वीरमा सबै कर्मचारीको संख्या एक हजार आठ सय हाराहारी थियो । 

उपचार सेवामा खटिने दक्ष र कोर टिम निकालेपछि उपचार सेवा प्रभावित बनेको अस्पताल प्रशासनले जनाएको छ । ‘यसअघि सबै बेड सञ्चालनमा थिए, तर एकाएक स्वास्थ्यकर्मी निकालिएपछि उपचार सेवा प्रभावित बनेको छ,’ वीरका एक चिकित्सकले भने, ‘पाँच सय दरबन्दी खाली थियो । स्थायी नआउँदासम्म करार जनशक्ति राखेको भए यस्तो समस्या हुने थिएन, कम्तीमा सर्वसाधारणले सहजै सेवा त पाउँथे ।’ हाल निकालिएको स्वास्थ्यकर्मी डायलाइसिस र आइसियू सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति पनि हो । दक्ष जनशक्ति निकालिएपछि नयाँ जनशक्ति ल्याएर काम गर्न कठिन हुने चिकित्सकहरू बताउँछन् । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतकै इच्छाअनुसार वीरमा स्वास्थ्यकर्मी कटौती गरिएको हो । विपद्का वेला स्वास्थ्यकर्मीलाई खोजीखोजी राख्ने, तर चाडबाडका वेला तिनै स्वास्थ्यकर्मीलाई निष्कासन गरिएको भन्दै केही स्वास्थ्यकर्मीले सरकारको निर्णयको विरोधसमेत गरेका छन् । स्रोतका अनुसार स्वास्थ्यमन्त्री बस्नेतले आफूनिकट व्यक्तिलाई नियुक्ति गर्न करारका स्वास्थ्यकर्मीलाई निकालेका हुन् । ‘यहाँ अझै जनशक्तिको अभाव छ, तर पनि जनशक्ति निकालियो,’ अस्पतालका एक चिकित्सकले भने, ‘विपद्का वेला हामीले खटिएर काम गर्‍यौँ, तर अहिले हामीलाई निकालेर अरूलाई राख्न खोजिएको छ ।’ 

रगत नमुना संकलनमा समेत समस्या 
अस्पतालका ब्लड बैंक शाखाका अनुसार ल्याबमा काम गर्ने मात्रै १० जना स्वास्थ्यकर्मी निकालिएका छन् । २४सै घन्टा खोल्नुपर्ने इमर्जेन्सी ल्याब स्वास्थ्यकर्मी कटौतीपछि दिउँसो मात्रै सञ्चालन गरेर राति बन्द गरिएको छ । हाल बिरामीको सबैखाले परीक्षण र उपचारका लागि रगत तान्ने कर्मचारी चारजना मात्रै छन् । यसअघि रगत तान्ने कर्मचारी आठजनाभन्दा बढी थिए । दैनिक ६ सयदेखि एक हजारसम्मको रगत परीक्षण गर्ने गरिएकोमा कर्मचारी निकालेपछि सेवा नै खुम्चिएको छ । 

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत भन्छन्–तलब दिन नसक्ने भएकाले स्वास्थ्यकर्मी कटौती गरियो
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कोभिडकालमा कोभिडको उपचारका लागि भर्ना गरिएका स्वास्थ्यकर्मी निकालिएको बताए । ‘त्यो जनशक्ति कोभिड नियन्त्रणका लागि राखिएको हो । अहिले तलब दिन सक्ने अवस्था भएन । अर्थ मन्त्रालयबाट पैसा कम आयो,’ उनले भने, ‘त्यसैले बढी भएकोलाई निकालेका हौँ । अब स्थायी दरबन्दीबाट नयाँ जनशक्ति थप गर्छौँ । उपचार सेवा प्रभावित हुन दिँदैनौँ ।’ हाल वीर अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी पाँच सय दरबन्दी खाली छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी पनि भर्ना नगर्ने र करारका कर्मचारीलाई पनि निकाल्ने गरिएपछि उपचार सेवामा समस्या देखिएको छ ।

ad
ad