मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १८ शुक्रबार
  • Friday, 01 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असोज २३ मंगलबार १२:००:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

बन्यो १२०० मेगावाटसम्म विद्युत् प्रसारण गर्ने पूर्वाधार

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज २३ मंगलबार १२:००:००

कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न भएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका– १३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब एक सय ४० किलोमिटर डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न भएको हो।

प्रसारणलाइन निर्माण सम्पन्न भएसँगै करिब १२०० मेगावाटसम्म विद्युत् प्रसारणका लागि पूर्वाधार तयार भएको छ।

नेपाल विद्युत् प्राधिकरणले प्रसारणलाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण गरेको थियो। पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोटसम्मको करिब ४० किलोमिटर प्रसारणलाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। 

पहिलो खण्डमा नै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा छन्। दुवै सबस्टेसनमा १००/१०० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरू राखिएका छन्।

दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको करिब ९० किलोमिटर प्रसारणलाइन निर्माण सम्पन्न गरी सोमबारबाट चार्ज गरी सञ्चालनमा ल्याइएको छ। यस खण्डमा दुई सय ३६ वटा टावर निर्माण गरिएको छ। 

सुनवल नगरपालिका– १३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनका लागि टावरहरू निर्माण गरिएको छ। नयाँ बुटवलमा २२० केभीको सबस्टेसन निर्माण गरिएको छ। दोस्रो खण्ड सञ्चालनमा आएसँगै कालीगण्डकी करिडोर प्रसारणलाइन निर्माण सम्पन्न भएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कालीगण्डकी करिडोर प्रसारणलाइन सञ्चालनमा आएपछि एकीकृत विद्युत् प्रणालीको विश्वसनीयता बढ्ने र नवलपरासी, रुपन्देहीलगायतका क्षेत्रको भोल्टेज सुधार हुने बताए। 

प्रसारणलाइनको क्षमताले नधान्दा कुश्मा सबस्टेसनबाट मोदीतर्फ थप विद्युत् पठाउन नसक्दा म्याग्दीमा सञ्चालित ४० मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको पूरै विद्युत् प्रवाह हुन सकिरहेको थिएन भने लमजुङको दोर्दी खोला करिडोरमा निर्माण भएका आयोजनाको विद्युत् प्रसारणमा पनि समस्या थियो। 

कालीगण्डकी करिडोर सञ्चालनमा आएसँगै मिस्त्रीलगायतका आयोजनाहरूको विद्युत् पूर्ण रूपमा प्रसारण गर्न सकिने कार्यकारी निर्देशक घिसिङले बताए। उनले भने, ‘त्यस क्षेत्रको विद्युत् प्रसारणको समस्या समाधान भएको छ, आयोजनाहरूबाट उत्पादित विद्युत् पूर्ण रूपमा प्रवाह हुने हुँदा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतर्फ थप निर्यात गर्न सजिलो हुनेछ।’

दाना सबस्टेसनमा ४२ मेगावाटको मिस्त्री खोला, १४ मेगावाटको घार खोला, १३.६ मेगावाटको थापा खोला र ५ मेगावाटको घलेम्दी खोला जलविद्युत् आयोजनाहरूको ७४.६ मेगावाट विद्युत् जोडिएको छ। 

उक्त आयोजनाहरूबाट उत्पादित विद्युत् स्थानीय रूपमा खपत गरी बाँकी कालीगण्डकी करिडोर प्रसारणलाइन हुँदै नयाँ बुटवल सबस्टेसनतर्फ प्रवाह गरिएको छ।

मुस्ताङ, म्याग्दीलगायतका जिल्लामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् पनि यही प्रसारणलाइनमा जोडी राष्ट्रिय प्रणालीमा समाहित गरिनेछ।

रूख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध, कोभिड–१९को महामारीलगायतका कारणले कालीगण्डकी करिडोर प्रसारणलाइन निर्माण प्रभावित भएको आयोजना प्रमुख चन्दन घोषले बताए। 

पर्वतको फलेवास नगरपालिका– ६ का स्थानीयले प्रसारणलाइन निर्माणबाट देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै तीन वर्षभन्दा बढी  प्रसारणलाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गरेका थिए। स्थानीयको अवरोधका कारण फलेवासमा प्रसारणलाइनका चारवटा टावर निर्माण प्रभावित भएको थियो।

प्राधिकरणको उच्च व्यवस्थापन र आयोजनाको निरन्तरको पहलपछि समस्या समाधान गरी प्रसारणलाइन निर्माण गरिएको थियो । कुश्मा–नयाँ बुटवल खण्ड निर्माणका लागि भारतीय कम्पनी एल एन्ड टीसँग ०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो। उक्त सम्झौता ०७४ पुसबाट कार्यान्वयनमा आएको थियो।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारणलाइन आयोजना निर्माण गरिएको हो। आयोजनाको अनुमानित लागत करिब ११ अर्ब रुपैयाँ छ।

नयाँ बुटवल सबस्टेसनबाट बर्दघाटसम्मको लाइन निर्माण सम्पन्न भएपछि हेटौँडाबाट नयाँ बुटवलसम्म २२० केभी प्रसारणलाइन पूर्वाधार संरचना तयार हुनेछ। नयाँ बुटवल–बर्दघाट २१ किलोमिटर प्रसारणलाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।

अहिले हेटौँडाबाट भरतपुर हुँदै बर्दघाटसम्मको २२० केभी प्रसारणलाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ।

भारतसँगको विद्युत् व्यापारका लागि नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारणलाइन पनि निर्माण गर्न लागिएको छ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् सोही प्रसारणलाइनमार्फत भारततर्फ निर्यात गरिनेछ। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)मार्फत प्राप्त हुने अनुदानबाट नयाँ बुटवलमा ४०० केभीको सबस्टेसन र बुटवल–गोरखपुर प्रसारणलाइनअन्तर्गत नेपालखण्डको निर्माण गरिनेछ।