१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सुनसरीको बराहक्षेत्र– ११ स्थित पटवारा टोल शोकमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:३१:oo

छोरा इजरायल गएको २७ दिनमै मृत्युको खबर सुनेपछि आमा कैलाशदेवी अर्धचेत

इजरायलस्थित गाजा क्षेत्रमा हमास हमलामा २५ वर्षीय राजेशकुमार स्वर्णकारको ज्यान गएपछि सुनसरीको बराहक्षेत्र नगरपालिका– ११ स्थित पटवारा टोल शोकमा छ । छोरा इजरायल गएको २७ दिनमै मृत्युको खबर सुनेपछि आमा कैलाशदेवी अर्धचेत छिन् । आफन्त र छिमेकीले उनलाई सम्झाइरहेका छन् । दाजु मुकेश घरिघरि भक्कानिन्छन् । बुबा पनि बोल्न सकेका छैनन् ।

राजेशले गाउँनजिकैको माउन्ट भ्यु स्कुलमा कक्षा ८ र इनरुवाको नवयुग एकडेमीबाट एसएलसी उत्तीर्ण गरेका थिए ।  विराटनगरस्थित शिक्षादीपबाट प्लस टु सकेका उनले उच्च शिक्षामा कृषि विज्ञानका लागि सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर बहुमुखी क्याम्पसलाई रोजे । स्नातकको ४ वर्षमा आठाैँ सेमेस्टर सकेर इन्टर्नअन्तर्गत ‘लर्न एन्ड अर्न’ मार्फत अन्य विद्यार्थीसँगै उनी पनि इजरायल गए । 

जानुअघि घरमा पनि निकै छलफल भएको थियो । तर, ११ महिनाका लागि मात्र भएको र सिकाइसँगै केही कमाइ पनि हुने भएकाले परिवारले पनि स्वीकृति दियो । दाजु मुकेशले भने, ‘पासपोर्ट बुझाऊँ कि नबुझाऊँ भनेर पनि सोधेको थियो । कलेजले पठाएको इन्टर्न भएकाले बुझाउन भन्यौँ ।’ 

बुबा राजकुमार स्वर्णकार कोशी गाउँपालिकाको खानेपानीमा काम गर्छन् । यसबाहेक सामान्य खेतीपाती छ । चारैजना छोरालाई उनले दुःखसुख पढाए । चारमध्ये जेठो दाइ मुकेश बराहक्षेत्र नगरपालिकाका सबओभरसियर छन् । माइला दाजुले पनि इन्जिनियरिङ कन्सल्टेन्सी सञ्चालन गरेका छन् भने कान्छो भाइ भारतमा इन्जिनियरिङ अध्ययन गरिरहेका छन् ।

दुई दाजु र एक भाइले इन्जिनियरिङ पढ्दै गर्दा राजेशले भने अलि फरक सपना बोकेर कृषि विज्ञान रोजे । उनको चाहना थियो, कृषि विज्ञान सकेर नेपालमै कृषि पेसामा केही गरौंँ । कृषि क्षेत्रभित्रका विविध पाटामा केही सिक्नलाई २८ दिनअघि निस्किएका राजेशको सपना इजरायलमा हमासको हमलाले पूरा हुन दिएन । साइलो छोरोको मृत्युको खबरपछि बुबा एकोहोरो टोलाइरहेका छन् । दाजु मुकेश सहानुभूति दिन आउनेसँग वेलावेला भक्कानिन्छन् ।  

बाल्यकालमा राजेशसँगै अध्ययन गरेका उनका साथी कलामुद्दिन अन्सारीले टोलकै इमानदार, सहयोगी र मिहिनेती साथीको मृत्युको खबरपछि दु:खी भएको बताए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी निरीक्षक विपिन रेग्मी, जनप्रतिनिधिलगायतको टोलीसमेत सोमबार दिउँसो परिवारको अवस्था बुझ्न र सहानुभूति दिन पुगे  । प्रजिअ पाण्डेले शव नेपाल ल्याउन पहल गर्ने बताइन् ।

ad
ad