१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:३o:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सकियो १९औँ एसियाड : चार वर्षपछि जापानमा भेट्ने वाचा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:३o:oo

चार वर्षपछि जापानमा भेट्ने वाचासँगै आइतबार चीनको पूर्वी सहर हाङझाउमा आयोजना भएको १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) सम्पन्न भएको छ । प्रतियोगिता २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म चलेको थियो । चीनले निर्धारित समयभन्दा एक वर्षपछि प्रतियोगिता आयोजना गरेको हो । सन् २०१८ मा इन्डोनेसियाको जाकार्ताबाट हाङझाउले १९औँ संस्करणको झन्डा बोकेको थियो । 

यसबीचमा विश्वमै महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण चीनले गत वर्ष नै गर्नुपर्ने एसियाड गर्न सकेन । आयोजक चीनले कोभिड–१९ पूर्ण रूपले निर्मूल नभएको कारण देखाउँदै एक वर्षपछि गर्न ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)सँग आग्रह गरेको थियो । ओसिएले सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गरी हाङझाउलाई २०२३ मा प्रतियोगिता आयोजना गर्न अनुमति दियो । चीनले १९औँ एसियाड आयोजना गर्न थप पाँच वर्ष पाउँदा भव्य आयोजना गर्न सफल भयो । 

यहाँ सहभागी भएका विदेशी पत्रकार, खेलाडी तथा अफिसियलहरूले १९औँ संस्करणको आयोजना भव्य भएको बताएका छन् । विशेष गरी उद्घाटन र समापन समारोहमा आयोजक चीनले विशेष बनाएको थियो । समापनले चीनले पूरै अत्याधुनिक डिजिटल लाइटको प्रयोग गरेको थियो । ८० हजार क्षमता भएको रंगशालामा कडा सुरक्षा व्यवस्था देखिन्थ्यो । सर्वसाधारणदेखि विदेशी पत्रकारहरूलाई विभिन्न चरण पार गरी रंगशालामा प्रवेश गराइएको थियो । समापनमा आयोजकले स्थानीय संस्कृतिदेखि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समावेश गरेको थियो । 

८० हजार दर्शक क्षमता रहेको हाङझाउको ओलम्पिक स्टेडियममा ओसिएका कार्यकारी अध्यक्ष राजा रणदीपले २०औँ संस्करणको झन्डा तथा टर्च लाइन प्रदान गरेका थिए । झन्डा तथा टर्च हस्तान्तरणसँगै औपचारिक रूपमा हाङझाउ एसियाड समाप्त भएको हो । यसपटक पौडीबाट चीनकी युफेई झाङले सर्वाधिक ६ स्वर्ण जितेकी थिइन् । चीनकै हाइयाङ क्विन १९औँ एसियाडको मोस्ट भ्यालुएबल प्लेयर (एमभिपी) घोषित भए ।

४५ देशका १२ हजार खेलाडी
सन् १९५१ मा नयाँदिल्लीदेखि सुरु भएको एसियाडको इतिहासमा यसपटक धेरै रेकर्ड बनेका छन् । पहिलोपटक ४५ देशका १२ हजार खेलाडी सहभागी थिए । यसअघिको संस्करणमा ११ हजार खेलाडी मात्र थिए । १९औँ संस्करणमा खेलाडीहरूले ४० खेलको ४८३ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । जसमध्ये ४१ राष्ट्रले पदक जितेका छन् । भुटान, माल्दिभ्स, यमन र टिमोर लिस्टे पदकविहीन हुँदै घर फर्किएका छन् । 

एसियाडमा कीर्तिमानी रूपमा चीनले सबैभन्दा बढी २०१ स्वर्ण पदक जितेको छ । चीनले १११ रजत र ७१ कांस्य गरी ३८३ पदक जितेर शीर्ष स्थानमा रह्यो । अर्कोपटकको आयोजक राष्ट्र जापान ५२ स्वर्ण, ६७ रजत र ६९ कांस्यका साथ दोस्रो स्थानमा रह्यो । जापानले कुल १८८ पदक जित्यो । १९० पदकका साथ दक्षिण कोरिया तेस्रो भयो । दक्षिण कोरियाले ४२ स्वर्ण, ५९ रजत र ८९ कांस्य हात पारेको थियो । 

समापनमा लि क्वान
१९औँ एसियाडको समापन समारोहमा पटक प्रिमियर अफ स्टेट चाइना लि क्वान लि क्वान उपस्थित भएका छन् । चीनको पूर्वी सहर हाङझाउमा शनिबार एक भव्य समारोहबीच एसियाडको समापनमा प्रधानमन्त्री लि क्वान आएका हुन् । चीनको जेजिआन प्रान्तमा दुई सातासम्म चलेको प्रतियोगिताको उद्घाटन राष्ट्रपति सी जिनपिङले गरेका थिए । लि क्वानले समापन समारोहमा उपस्थित भएका विभिन्न देशका विशिष्ट पाहुनालाई स्वागत गरेका थिए । आयोजकका प्रवक्ता वाङ सेन्विनका अनुसार प्रधानमन्त्री लि क्वान र विशिष्ट पाहुनाहरूलाई विशिष्ट भिभिआइपी कक्षमा राखिएको थियो । 

कडा सुरक्षा व्यवस्था
दुई साताअघिको उद्घाटनमा राष्ट्रपति स्वयं उपस्थित हुने भएपछि हाङझाउमा निकै कडा सुरक्षा व्यवस्था अपनाइएको थियो । हाङझाउको मुख्य रंगशालाको वरिपरि सबै क्षेत्रमा सुरक्षाकर्मीले सुरक्षा दिएका थिए । यसपटक प्रिमियर अफ स्टेट चाइना लि क्वान आउने भएपछि त्यही किसिमको सुरक्षा व्यवस्था अपनाएको प्रवक्ता वाङ सेन्विनले जनाएका छन् । समापन समारोहको बिहानदेखि नै सबै मुख्य बाटोहरूमा निजी तथा सर्वसाधारणका सवारीसाधान प्रवेश निषेध गरिएको थियो । उनीहरूलाई वैकल्पिक बाटो अपनाउन आग्रह गरिएको हो । 

हाङझाउ सहरलाई पूरै मेट्रो ट्रेनले जोडिएको छ । मेट्रो ट्रेनको अति नै व्यस्त मानिने लेन ६ लाई पूरै बन्द पारिएको छ । प्रतियोगिताको आयोजना भइरहेको क्वाजिन सिटीलाई जोड्ने मुख्य लेनको रूपमा लेन नम्बर ६ हो । यो रुटका सबै मेट्रो एक दिनका लागि बन्द गरिएको सुरक्षाकर्मीले जनाए । उनीहरूलाई केवल लेन नम्बर २ प्रयोग गर्न भनिएको थियो । 

एरिकाले बोकिन् नेपालको झन्डा 
१९औँ एसियाडको समापन समारोहमा नेपालको झन्डा कराँते खेलाडी एरिका गुरुङले बोकेकी छिन् । नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले समापन समारोहको मार्चपासमा नेपालको झन्डा एरिकालाई बोक्न दिने निर्णय गरेको हो । उनले नेपाललाई कराँतेमा ऐतिहासिक रूपमा रजत पदक दिलाएकी थिइन् । एसियाडको उद्घाटनमा नेपालको झन्डा वीरबहादुर महरा र उसुकी निमा घर्तीमगरले संयुक्त रूपमा बोकेका थिए ।  एसियाडको अन्तिम दिन आइतबार बिहान कराँतेको महिला ८५ केजीमुनि तौलसमूहको अन्तिम ३२ को खेलमा नेपालकी सविना श्रेष्ठ चीनकी रानरान लीसँग ३–१ अंकले पराजित भइन् । 

नेपालको दुई पदक
यसपटक दक्षिण एसियाली राष्ट्र भारतले इतिहास रच्दै चौथो स्थान रक्षा गरेको छ । भारतले अहिलेसम्मकै एसियाड यात्रा ऐतिहासिक बनाएको छ । भारतले २८ स्वर्ण, ३८ रजत र ४१ कांस्य गरी १०७ पदक प्राप्त ग¥यो । एसियाली खेलकुदमा नेपालले एक रजत र एक कांस्य जितेको छ । नेपालले सन् २००६ पछि पहिलोपटक दुई पदक जितेको हो । पछिल्ला तीन संस्करणमा नेपाल एक–एक पदकमा सीमित बनेको थियो । 

नेपाललाई कराँतेमा शनिबार एरिका गुरुङले रजत पदक दिलाएकी थिइन् । उनले रजत जित्नुअघि महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । महिला टोलीले डेब्युमै ऐतिहासिक पदक जितेको हो । नेपाल पदक तालिकाको ३३औँ स्थानमा रह्यो । २०१८ मा इन्डोनेसियामा भएको १८औँ एसियाडमा पनि नेपाल ३३औँ स्थानमा थियो ।यसपटक एसियाडमा नेपालबाट २९ खेलमा दुई सय ५३ खेलाडीको सहभागिता रहेको थियो । महिलामा एक सय २७ र पुरुषमा एक सय २६ खेलाडी सहभागी थिए । 

राजवंशीलाई सम्मान
एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया)ले खेलकुद पत्रकार निरञ्जन राजवंशीलाई सम्मान गरेको छ । एआइपिएस एसियाले पाँचवटा र सोभन्दा बढी पटक एसियाली खेलकुदको रिपोर्टिङ गर्दै लामो समय योगदान दिएका एसियाभरिका पत्रकारहरूलाई कदर गर्ने क्रममा नेपालबाट राजवंशी सम्मानित भएका हुन् । हाङझाउको मुख्य प्रेस सेन्टरमा आयोजित कार्यक्रममा ओलम्पिक च्याम्पियन तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीका सदस्य सियोङ मिन रियु, एआइपिएस एसियाका अध्यक्ष हि डोङ जोङ र उपाध्यक्ष मुबारक अल बोनिनले प्रमाणपत्र प्रदान गरेका थिए । 

एआइपिएसले अन्तर्राष्ट्रिय रूपमा लामो समय रिपोर्टिङ गर्ने पत्रकारहरूलाई सम्मान गर्ने परम्पराको सुरु गरेपछि एआइपिएस एसियाले यो वर्षको एसियाली खेलकुदबाट सम्मानको अभियान थालेको हो । जसमा यो वर्ष ६९ जना पत्रकार सम्मानित भएका हुन् ।

राजवंशीले सन् १९९८ को बैंकक, सन् २००२ को बुसान, सन् २०१० को ग्वान्जाउ, सन् २०१४ को इन्चोन तथा हान्झाउ एसियाडमा रिपोर्टिङ गरेका थिए । सम्मानित भएपछि राजवंशीले भने, ‘एसियाली खेलकुदमा रिपोर्टिङ गरेको पनि २५ वर्ष भइसकेछ । त्यसमा अन्तर्राष्ट्रिय रूपमा सम्मानित हुन पाउँदा खुसी लागेको छ ।’ सम्मानित हुनेहरूमा सबैभन्दा वढी १० पटक एसियाडमा भाग लिएका चीनका वेई सेङ थिए । 

 

ad
ad