१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १३:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देश युवाविहीन हुने खतरा बढ्यो : झलनाथ खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१५:oo

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा बेरोजगारी व्याप्त रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। रोजगारी नहुँदा युवाशक्ति विदेश पलायन भइरहेको बताउँदै उनले यही अवस्था रहे देश युवाविहीन हुने खतरा रहेको उल्लेख गरे। 

समाजवादी जागरण अभियानका क्रममा भैरहवा आएका खनालले आइतबार समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले  गरेको पत्रकार सम्मेलनमा बोल्दै युवाशक्ति विदेश पलायन हुनु मुलुकका लागि ठीक नभएको बताए।

‘युवालाई मुलुकमै टिकाउन जरुरी छ। यसका लागि रोजगारी वृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास जरुरी छ,’ उनले भने। खनालले मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरणलगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै यसले समाजवादतर्फ जान मद्दत गर्ने दाबी गरे।

यस्तै, नेता खनालले नेपालमा नयाँ ढंगको ध्रुवीकरणको आवश्यकता रहेको उल्लेख गरे। वर्तमान पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको जिकिर गर्दै उनले समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरणको आवश्यकता रहेकोमा जोड दिए। ‘समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्टहरू एक हुनुपर्ने हुन्छ,’ उनले भने, ‘यसका लागि नयाँ ध्रुवीकरण जरुरी छ।’

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनताका प्रत्यक्ष भोगाइलाई लिएर मेची–महाकाली यात्रामा निस्किएको बताए। उनले असोज १४ बाट सुरु भएको यात्रा भैरहवासम्म आउँदा झन्डै पाँच हजारभन्दा बढी स्वतन्त्र नागरिक र विभिन्न पार्टी छाडेर समाजवादीमा प्रवेश गरेको बताए।