
ट्राफिक प्रहरी भन्छ– करिडोरका सडकमा परिचालन गर्न जनशक्ति नै छैन
छिटो र ट्राफिक जाममुक्त हुने आसले अधिकांश सवारीचालकको रोजाइमा उपत्यकाका करिडोर सडक पर्ने गर्छन् । सहरका मुख्य सडकमा हुने दैनिकजसोका आन्दोलन, प्रदर्शन र ट्राफिक जामका कारण चालकहरू सकेसम्म यी सडकको विकल्प खोज्छन् । तर, पछिल्लो समय करिडोरका सडकमा समेत हुने गरेको अस्तव्यस्त पार्किङले चालक तथा यात्रुहरू सास्ती भोग्न बाध्य छन् ।
उपत्यकाका सबैजसो मुख्य सडकसँग करिडोर सडक जोडिसकिएकाले सवारी आवागमनमा राहत मिलिरहेको थियो । तर, अस्तव्यस्त पार्किङका कारण पछिल्लो समय करिडोर सडक अस्तव्यस्त बन्न थालेका छन् । जथाभावी सवारीसाधन पार्किङ गर्दा यी सडकमा समेत जाम झेल्नुपर्ने अवस्था रहेको चालकको भनाइ छ । उपत्यकाभित्र ११ वटा खोेला छन् । सबैजसो खोलाका दुवैतर्फ करिडोर सडक निर्माण भइसकेका छन् । मुख्य सडकसँग समेत जोडिएका कारण यात्रु तथा चालकले राहत महसुस गरेका थिए ।
डिआइजी पोषराज पोखरेल : प्रमुख, उपत्यका ट्राफिक प्रहरी कार्यालय
करिडोर सडकमा ट्राफिक परिचालन गर्न आवश्यक जनशक्ति अभाव छ । त्यतातिर त्यति ध्यान दिनै सकेका छैनौँ, अहिले मुख्य सडकको ट्राफिक व्यवस्थापनमै हाम्रो ध्यान छ । करिडोर क्षेत्रमा नियमित ड्युटीमा खटाउँदैनौँ, कम्प्लेन आयो भने मात्रै ट्राफिक खटिन्छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिआइजी पोषराज पोखरेलका अनुसार करिडोर सडकमा ट्राफिक जनशक्ति परिचालन गर्न आवश्यक जनशक्ति अभाव छ । ‘करिडोर सडकमा त्यति ध्यान दिनै सकेका छैनौँ, अहिले मुख्य सडकको ट्राफिक व्यवस्थापन नै हाम्रो जिम्मेवारी हो,’ उनले भने, ‘अर्को कुरा सबै करिडोर व्यवस्थित बनेका छैनन्, मुख्य सडकसँग जोड्ने ठाउँमा ट्राफिक प्रहरी परिचालन पनि भइरहेको छ, तर करिडोर क्षेत्रमा नियमित ड्युटी खटाउँदैनन्, कम्प्लेन आयो भने मात्रै ट्राफिक खटिन्छन् ।’
बागमती र विष्णुमती सबैभन्दा अस्तव्यस्त
काठमाडौं महानगरपालिकाले मुख्य सडक क्षेत्रमा पार्किङ निषेध गरेपछि यहाँका सवारी पार्किङ करिडोर क्षेत्रतर्फ सरिरहेका छन् । ट्राफिक प्रहरी र नगर प्रहरीको नजर नपर्ने भएकाले अधिकांशले करिडोर सडकमा पार्किङ गर्ने गरेका छन् । यस्तै, करिडोर सडक खुलिरहेका नयाँ–नयाँ होटेल तथा रेस्टुरेन्टका कारण पनि पार्किङ बाक्लो हुन थालेको हो । उपत्यकाभित्रका करिडोर सडकमध्ये सबैभन्दा बढी चाप धोबी खोला र बागमती करिडोरमा हुने गरेको छ । मध्य–सहरबीचमा रहेका यी खोलाका दुवै किनारमा सडक निर्माण भएका छन् । तर, यी खोलाका दुवै किनारका अधिकांश सडक बिहानदेखि बेलुकासम्मै पार्किङका कारण अस्तव्यस्त हुने गरेको छ । बागमती करिडोर क्षेत्रको तिनकुने, शंखमूल, सिनामंंगल, थापाथली क्षेत्रमा सबैभन्दा बढी सवारीसाधन पार्किङ हुने गरेका छन् । यस्तै धोबी खोला करिडोरमा पनि अधिकांश ठाउँमा पार्किङ हुँदै आएको छ । यसबाहेक विष्णुमती, मनोहरा, ललितपुरको कर्मनासा, भक्तपुरको हनुमन्तेलगायत करिडोर सडकमा अव्यवस्थित पार्किङ भइरहेको छ । जसका कारणले मुख्य सडकमा जाम भएर करिडोर सडकतर्फ मोडिएने सवारीसाधन जाममा पर्ने गरेका छन् ।
करिडोर व्यवस्थित नहुँदा मुख्य सडकमा बढ्यो सवारी चाप
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मुख्य सडकको ट्राफिक व्यवस्थापनमा करिडोर सडकले ठूलो राहत मिलेको थियो । तर, त्यहाँ पनि जाम हुन थालेपछि मुख्य सडकमा पुनः पहिलाकै जस्तो चाप हुन थालेको छ । ‘करिडोर सडक पनि अस्तव्यस्त हुँदा त्यसको असर मुख्य सडकमा पर्न थालेको छ,’ डिआइजी पोखरेलले भने, ‘करिडोर सडकमा कसैले पार्किङ व्यवसाय नै त गरेका छैनन्, तर त्यहाँ सडक अवरोध हुँदा मुख्य सडक प्रभावित हुन्छ ।’ त्यसो त कतिपय ठाउँमा पार्किङ गरेर सडक नै अस्तव्यस्त बनाएको गुनासो आएपछि काठमाडौं महानगर प्रहरीले समेत सवारीसाधन नियन्त्रणमा लिने गरेको छ ।
सूर्यराज आचार्य, पूर्वाधारविद्
करिडोर सडक सबैजसो खुलिसकेका छन्, तर पुलमुनिका खण्ड निकै साँघुरा र होचा छन् । त्यहाँ ठूला सवारीसाधन छिर्न सक्दैनन्, अर्कोतर्फ पुलमुनिको सडक डिजाइनमा पनि गलत छ । लाजमर्दो डिजाइन गरिएको छ ।
विद्युत् प्राधिकरणले खनेका खाल्डा अझै पुरिएनन्
करिडोर क्षेत्र अव्यवस्थित पार्किङले मात्रै अस्तव्यस्त बनेको छैन, नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा खनेका खाल्डा नपुर्दासमेत सडक धरापजस्तै छन् । प्राधिकरणले करिब एक वर्षअघिदेखि बागमती, धोबी खोला, मनोहरालगायत सडकमा तार भूमिगत गर्न सडक खनिरहेको छ । तर, कतिपय ठाउँमा काम सकिएपछि प्राधिकरणले खाल्डा पुरेको छैन । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले नेपाल विद्युत् प्राधिकरणले खनेका तथा भत्काएर सडकहरू उसैले नै निर्माण गर्नुपर्ने बताए । ‘प्राधिकरणले जहाँ–जहाँ सडक भत्काएको छ, त्यहाँ–त्यहाँ बनाउने जिम्मा उसैको हो,’ उनले भने ।
करिडोर सडकका पुलमुनि छिर्दैनन् ठूला सवारीसाधन
त्यसो त करिडोर सडकमा पर्ने साँघुरा र होचो पुलका कारण सबैखाले सवारीसाधन सञ्चालन हुन सक्दैनन् । करिडोरको परिकल्पना नै नगरी निर्माण गरिएका पुलमुनिका सडक विस्तार गर्दा निकै होचा र जोखिमपूर्ण छन् । साना सवारीसाधन मात्रै पुलमुनिबाट ओहोरदोहोर गर्न सक्छन् । अधिकांश पुलमुनिका सडक निर्माणमा इन्जिनियरिङ त्रुटि छ । पुल निर्माण गर्दा त्यसमुनि करिडोर सडक पनि बन्न सक्छ भन्ने हेक्का नराख्दा सडक धराप थापेजस्ता भएका छन् ।
करिडोरको अन्य खण्डमा फराकिलो भए पनि पुलमुनिको उचाइ निकै कम हुँदा ठूला सवारीसाधन अड्किने गरेका छन् । करिडोर खण्डमा पहिलोपटक सवारीसाधन चलाउने चालकले कुन ठाउँमा फसिने हो, थाहा नै पाउँदैनन् । विशेष गरी विष्णुमती, बागमती र धोबी खोला करिडोरमा यस्तो समस्या छ । पूर्वाधारविद् सूर्यराज आचार्यले सडक विभागले खोलामाथि पुल बनाउँदादेखि नै करिडोर सडकबारे योजना नबनाउँदा यस्तो त्रुटि भएको जानकारी दिए ।
‘करिडोर सडक सबैजसो खुलिसकेका छन्, तर पुलमुनिका खण्ड निकै साँघुरा र होचा छन्,’ उनले भने, ‘त्यहाँ ठूला सवारीसाधन छिर्न सक्दैनन्, अर्कोतर्फ पुलमुनिको सडक डिजाइन पनि गलत छ । लाजमर्दो डिजाइन गरिएको छ । यसले नेपालका इन्जिनियर र इन्जिनियरिङमाथि नै प्रश्न उठाएको छ ।’ बागमती करिडोरको तिनकुने पुल, सिनामंगल र गौशाला पुलमुनि ठूला सवारीसाधन छिर्न सक्दैनन् भने धोबी खोला करिडोरको बिजुली बजार पुलमुनि दुवैतिर सडक खोलिए पनि यहाँ पनि ठूला सवारीसाधन छिर्दैनन् । सेतोपुल, कालोपुल, रातोपुलमुनिका सडक पनि होचा छन् ।