१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका लुम्बिनी
२o८१ बैशाख २१ शुक्रबार १७:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु

बौद्ध दर्शनको प्रवर्द्धनमा विश्व लाग्नुपर्नेमा जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:५१:oo

लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु भएको छ। बौद्ध दर्शन र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यसहित शुक्रबारदेखि प्रदर्शनी सुरु गरिएको हो।

लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ट एन्ड रोड इनिसिएटिभको संयुक्त आयोजनामा पहिलो बौद्ध संस्कृति सम्मेलन तथा बिआरआईको १०औँ वार्षिकोत्सवको उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा वक्ताहरूले बेल्ट एन्ड रोडको अवधारणाले बौद्ध संस्कृति प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने बताए। चिनियाँ बौद्ध भिक्षुयात्रीहरू फाइयान तथा ह्वेन साङले यात्रा गरेको क्षेत्रमा सिल्क रोडको अवधारणा बनेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन राज्यमन्त्री सुशीला श्रीपालीले बौद्ध पुरातत्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनियाँ यात्रीहरूको ऐतिहासिक भूमिका रहेको भन्दै त्यो रुटको विकासले नेपाल, चीन तथा भारतको बौद्ध संस्कृतिलाई जोड्ने बताइन्।

बिआरआईको १०औँ वार्षिकोत्सवको अवसरमा लुम्बिनीमा कार्यालय स्थापनासमेत गरिएको छ। चीनको यो महत्वपूर्ण परियोजनामा नेपालले सन् २०१७ मे १२ मा हस्ताक्षर गरेको थियो। क्षेत्रीय एकीकरणमा सुधार गर्दै रेल्वे, सडक, पूर्वाधार विकासमा साझेदारी गर्ने योजना यो परियोजनाको छ।

कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले शान्ति र सदभावमय विकासका लागि बौद्ध दर्शनलाई आत्मसात् गर्नुपर्ने भन्दै मुलुकका हरेक विकासका कार्यहरूले शान्ति निम्त्याउने काम गर्नुपर्ने बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शनको व्यावहारिक अनुशरण आवश्यक रहेको भन्दै बौद्ध संस्कृति प्रदर्शनी नियमित गरिरहन आवश्यक रहेको बताए।

लुम्बिनीस्थित चिनियाँ मोनाष्ट्रीका प्रमुख ताओ युएले बुद्ध युनिभर्सल भएकाले यिनको दशर्नको प्रवर्द्धन र अनुशरणमा पनि विश्वले काम गर्नुपर्ने बताए। भियतनामी टेम्पलका प्रमुख डा. लामले बुद्ध जन्मस्थल हुनु नै नेपालका लागि गौरवको विषय भएको बताए। यी क्षेत्रका पहिचानमा चिनियाँ यात्रीहरूको भूमिकालाई बिर्सन नहुने उनको भनाइ छ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले बौद्ध शिक्षालाई सरकारले केन्द्रमा राख्न नसकेको भन्दै राज्यको प्रमुख निकायमा रहेका व्यक्तिहरूले विशेष ध्यान दिनुपर्ने औँल्याए।

भिक्षु महासंघका निग्रोध महाथेरले कैयौँ बौद्ध दार्शनिकहरूले सिल्करोड हुँदै नेपाल, चीन, भारत भ्रमण गरेको बताए। बौद्ध भिक्षु महासंघका सचिव भिक्षु धर्मगुप्तले बौद्धग्रन्थको विकासमा चीनको महत्वपूर्ण भूमिका रहेको साथै सांस्कृतिक विकासका कार्यक्रम निरन्तर हुनुपर्ने बताए।

आइसिसिआर चियर प्रोफेसर विमलेन्द्र कुमारले सिल्करोड बौद्ध संस्कृतिसँग आबद्ध रहेको भन्दै ह्वेनसाङसहितका यात्रीहरूले बौद्धधर्मको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु बजिरले बौद्ध संस्कृतिको प्रदर्शनीले बौद्ध दर्शनलाई बुझ्न सहयोग गर्ने बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र संयोजक डा. कुमार खड्काका अनुसार प्रदर्शनीमा बौद्ध संस्कृतिका विषयमा विभिन्न कार्यपत्रहरू प्रस्तुत भएको र विज्ञहरूले छलफल गरेको बताए।

ad
ad