१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १९ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १९ शुक्रबार १६:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अस्थायी आवासका लागि ५० हजार र मृतकका परिवारलाई दुई लाख दिने घाेषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १९ शुक्रबार १६:२९:oo

भूकम्पले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बझाङ पुगेका छन्। सदरमुकाम चैनपुर पुगेर भूकम्पबाट भएको क्षति अवलोकनपश्चात् प्रधानमन्त्री  प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माण गर्ने बताएका छन्। 

उनले गत मंगलबारका दिन बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको क्षतिको यकिन गरिने बताएका हुन्।  उनले मूल्यांकनका आधारमा सामान्य मर्मत–सम्भार गर्नुपर्ने, प्रबलीकरण गर्नुपर्ने वा पुनर्निर्माण गर्नुपर्ने भन्ने निर्धारण गरी कार्य अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। 

भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न सरकारले ५० हजार उपलब्ध गराउने भएको छ।यस्तै, प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्डबमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने बताए। 

राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपांगता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन तथा थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने र सरकारले भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको र भूकम्पले निम्त्याएको पहिरोमा परी मृतक भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतक परिवारलाई तत्काल दुई लाख सहयोग प्रदान गर्ने भएकाे छ। 

प्रधानमन्त्री प्रचण्डले भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरूको दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई यसअघि गोरखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निर्माणको काम अगाडि बढाइने जानकारी गराए। 

उनले सरकारी कार्यालय, सामुदायिक भवन, स्कुल आदि क्षति पुगेका संरचनाहरूको यथाशीघ्र पुनर्निर्माण गरिने बताए। उनका अनुसार हालसालै गएका थुप्रै भूकम्पलाई जोखिमको पूर्वसंकेतको रूपमा लिँदै ठूलो विपतको सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम आकलन न्यूनीकरण, पूर्वतयारी र पूर्वसूचना प्रणालीको काम अघि बढाइएको छ।