Skip This
माओवादीमा नयाँ रक्तसञ्चार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १९ शुक्रबार
  • Saturday, 27 July, 2024
अग्नि सापकोटा
२o८o असोज १९ शुक्रबार o८:o४:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

माओवादीमा नयाँ रक्तसञ्चार

विशेष रूपान्तरण अभियानले माओवादीभित्र नयाँ रक्तसञ्चार पैदा गरेको छ, जनतामा आशा जगाएको छ र अन्य पार्टीको समेत ध्यानाकर्षण गरेको छ

Read Time : > 5 मिनेट
अग्नि सापकोटा
नयाँ पत्रिका
२o८o असोज १९ शुक्रबार o८:o४:oo

कम्युनिस्ट पार्टीले जहिले पनि जनतालाई केन्द्रमा राख्छ । उसका लागि मुख्य मार्गनिर्देशक सिद्धान्त भनेकै जनता हुन् । जनवादी केन्द्रीयताअनुसार कम्युनिस्ट पार्टी चल्छन् । जनताका सुखदुःखमा साथ दिने, जनपक्षीय दिशा पक्रिने, जनपक्षीय शिक्षा, स्वास्थ्यका साथै जनताका दैनन्दिन काममा सहयोग गर्नु आधारभूत विषय हुन् । ऐतिहासिक वस्तुवादी दृष्टिकोणलाई जनतासँग माओवादी, विशेष रूपान्तरण अभियानले आत्मसात् गरेको छ । गत १६ भदौदेखि सुरु भएको यस अभियानमा सबै पदाधिकारी आफ्नोभन्दा भिन्न क्षेत्रमा खटिनुभएको छ । अन्तरजिल्ला, अन्तरक्षेत्र, अन्तरप्रदेशमा उहाँहरू खटिनुभएको छ ।

नयाँ अनुभवसहित उत्साहसाथ देशव्यापी रूपमा अभियान जारी छ । अभियानका दौरान सरसफाइ, सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, समाजवादी प्रतिस्पर्धाजस्ता विविध रचनात्मक गतिविधि भइरहेका छन् । अभियानले माओवादीभित्र नयाँ रक्तसञ्चार पैदा गरेको छ । जनतामा आशा जगाएको छ भने अन्य पार्टीको समेत ध्यानाकर्षण गरेको छ ।

१७ देखि २२ साउनसम्म भएको केन्द्रीय समिति बैठकले गरेको दिशानिर्देशलाई अभियानले पक्रेको छ । पार्टी संगठन, जनवर्गीय संगठन र मोर्चामा देखिएका अन्तरविरोध समाधान हुँदै गएका छन् । जनतालाई नै सर्वोपरि ठान्ने, जनतामै निर्भर रहने, जनता नै शक्तिका स्रोत हुन् भन्ने मान्यतालाई हामीले आत्मसात् गरेका छौँ । माओवादीका एजेन्डा र सरकारले गरेका राम्रा कामको यसअघि प्रभावकारी ढंगले प्रचार गर्न सकिएको थिएन । अहिले हाम्रा एजेन्डा र सरकारका काम जनतासम्म पुग्ने वातावरण बनेको छ । र, सबैमा पार्टी बनाउनुपर्छ भन्ने भाव जागृत भएको छ । 

अभियानको मूल उद्देश्य वैचारिक, संगठनात्मक र सांस्कृतिक पुनर्गठन हो । सामाजिक न्याय, सुशासन र समृद्धिका लागि रूपान्तरित भएर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो । रूपान्तरण भनेपछि सबैभन्दा पहिला आफू रूपान्तरित हुनुप¥यो । त्यसपछि अरूलाई रूपान्तरण गर्न सकिन्छ । आत्मशुद्धि गरेपछि मात्रै आत्मसुधार गर्न सकिन्छ । त्यसपछि आत्मनवीकरण, आत्मअभिवृद्धि हुँदै रूपान्तरणको एउटा प्रक्रिया पार हुन्छ । त्यो विश्वास, नैतिक धरातल खडा गरेर नेता तथा कार्यकर्ता जनताका घरदैलोमा पुगेको स्थिति छ । यस अर्थमा यो अभियान निकै प्रभावकारी भएको छ । 

हाम्रो कार्यनीतिक लक्ष्य आगामी निर्वाचनमा एक्लै स्वतन्त्र ढंगले प्रतिस्पर्धा गर्छौं भन्ने हो । हामीले आगामी निर्वाचनमा कम्तीमा समानुपातिक मतलाई १२ लाखबाट ३० लाख पुर्‍याउने भनेका छौँ । यस अभियानका क्रममा नेता तथा कार्यकर्ता कम्तीमा १२ लाख जनतामा पुगिसक्नुभएको छ । छलफल, अन्तक्र्रिया, बहसका काम भइरहेका छन् । भूगोल र गैरभौलिक १० वटै प्रदेशमा पार्टी चलायमान र जीवन्त बनेको छ । 

भिन्न स्थानमा खटिएका कारण अनुभव साटासाटको उपयुक्त वातावरण पनि निर्माण भएको छ । सिर्जनात्मक ढंगले विभिन्न गतिविधि भइरहेका छन् । जनताको सिर्जनशीलता र पहलकदमीलाई यसले बढाइदिएको छ । कतिपय ठाउँमा त जनता स्वस्फूर्त रूपमा क्रियाशील भइरहेका छन् । यसरी पार्टीको विचार, दृष्टिकोण, नीति, योजना, कार्यक्रम जनतामा विस्तारै पुगिरहेको छ । 

जनताले सिद्धान्त, दर्शन, विचार चाहेका छैनन् भन्ने गलत भाष्य निर्माण गर्न खोजिँदै छ । तर, विचारविना त कुहिराको कागजस्तै भइन्छ । बरु, विज्ञानले नयाँ–नयाँ आविष्कार गरेजस्तै विचारको पनि विकास गर्दै जानुपर्छ । 
 

पहिलो चरणमा संगठन निर्माण, विकास, विस्तारका साथसाथै संगठनभित्र देखा परेका अन्तरविरोधलाई हल गर्ने र पार्टीलाई एकताबद्ध बनाउने विषयमा केन्द्रित भयो । अब दोस्रो चरणको अभियानमा हामी अलि बढी जनसेवाका काममा केन्द्रित हुन्छौँ । विभिन्न पक्षसँग छलफल, अन्तर्क्रिया गर्छौँ । यस्ता कार्यक्रम पार्टीभित्र र बाहिर निरन्तर अगाडि बढ्छन् । सामाजिक संघसंस्था, सामाजिक अभियन्ता, नागरिक अगुवा र विभिन्न व्यक्तित्वसँग बृहत् छलफलको प्रक्रिया पनि अब दोस्रो चरणमा सुरु भइसकेको छ । यो अभियान हामीले गरेको अपेक्षाभन्दा धेरै राम्रोसँग अगाडि जाने संकेत देखा परेका छन् । यसले निकै मजबुत आधार तयार पार्छ ।

तेस्रो चरणमा बाहिर देखिने गरी ठूला अन्तर्क्रिया र जनसभा हुन्छन् । देशका जल्दाबल्दा विषय हामी उठाउनेछौँ । हाम्रा रूपान्तरणकारी एजेन्डा सुनाउनेछौँ । सामाजिक न्याय, सुशासन र समृद्धिको पहलकदमी हामीले लिएका छौँ । प्राप्त उपलब्धिको रक्षा गर्दै नेपाली विशेषताको समाजवाद निर्माणको आधार तयार पार्नुपर्ने ऐतिहासिक दायित्व हाम्रो काँधमा छ । अहिले तत्काल देशमा देखापरेका समस्या समाधानमा पार्टीका तर्फबाट पहलकदमी लिने काम भइरहेको छ । अहिले सामाजिक सद्भाव भड्काउन केही तत्व लागिरहेका छन् ।

नेपालगन्ज, सर्लाही र धरानमा कफ्र्यु नै लगाउनुपर्ने अवस्था बन्यो । विभिन्न माध्यमबाट गडबढी मच्चाउने खालका क्रियाकलाप देखापरिरहेका छन् । हाम्रो पार्टीले अहिले सरकारको नेतृत्व गरेको मात्रै होइन, हाम्रै पार्टीको नेतृत्वमा देशमा ठूलो परिवर्तन भएको हो । यो परिवर्तनलाई उल्ट्याउने खालका दुष्प्रयत्न पनि देखा परेका छन् । परिवर्तनका लागि जसरी हामीले नेतृत्व गर्‍यौँ र स्थापित पनि गर्‍यौँ । अब ठिक त्यसैगरी यसको रक्षा र विकास गर्ने क्रममा हामीले सूत्रधारका रूपमा पहलकदमी लिनुपर्छ र लिन्छौँ पनि । 

पार्टी निर्माण, विकास, विस्तार, सुदृढीकरण र जनताको सेवामा समर्पित हुन विचारको ठूलो महत्व हुन्छ । त्यसका साथै विधिको पनि त्यत्तिकै महत्व छ । जनताले सिद्धान्त, दर्शन, विचार चाहेका छैनन् भन्ने गलत भाष्य निर्माण गर्न खोजिँदै छ । यसलाई हामी दृढतापूर्वक खारेज गर्छौं । यो धर्तीलाई अगाडि बढाउने विचारले नै हो । विचारविना त कुहिरोको कागजस्तै भइन्छ । बरु, विज्ञानले आविष्कार गरेजस्तै विचारको पनि विकास गर्दै जानुपर्छ । नयाँ–नयाँ आविष्कारकै कारण विज्ञान बाँचेको छ । विचार पनि त्यतिवेलासम्म जीवित रहिरहन्छ, जतिवेलासम्म यसले विकास गरिरहिन्छ । विचारको विकासमा त्यति ध्यान नगएका कारण गलत भाष्य निर्माण गर्न खोज्नेहरूलाई बल पुगेको मात्रै हो । 

हामीले विचारमा विशेष ध्यान दिनैपर्छ र दिन्छौँ । वैचारिक, सांगठनिक र सांस्कृतिक पुनर्गठन भनेको पनि यही हो । ठिक ढंगले राजनीतिक संस्कार बसाल्न जरुरी छ । यसले पार्टीको शुद्धीकरण त गर्छ नै, साथसाथै राज्य र आन्दोलनको पनि शुद्धीकरण गर्छ । उही परम्परागत आन्दोलनले अब चल्दैन । विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्दै अगाडि बढ्नुपर्छ । जनताबीच पुग्ने सबैभन्दा प्रभावकारी माध्यम पनि प्रविधि बन्न पुगेको छ । अहिले सूचना प्रविधिको विकासले चमत्कार गरेको छ । यसलाई हामीले सही ढंगले सदुपयोग गर्न सकेनौँ भने अभिशापमा परिणत हुन सक्छ । केही समस्या त देखा परि नै सकेका छन् । अराजकताको स्थिति पनि देखिएको छ । त्यसलाई समेत ख्याल गरेर हामीले सर्वांगीण विकासमा समर्पित हुन्छौँ । 

हामीले प्रविधिको माध्यमबाट नयाँ पुस्तालाई प्रशिक्षित गर्ने, परिचालित गर्ने र संगठित गर्ने अभियान पनि सुरु गरेका छौँ । युवालाई हामीले ठिक ढंगले प्रशिक्षित गर्न सकेनौँ भने समस्या उत्पन्न हुन सक्छ । सूचना प्रविधिमैत्री बनाउन हामीले आइसिटी फोरम नेपाल गठन गरेका छौँ । इतिहासको माग र परिस्थितिले नयाँ आधारमा संगठन निर्माण, विकास, विस्तार र विचारका आधारमा जनतालाई प्रशिक्षित गनुपर्छ । विज्ञान, प्रविधि, सीप र कलालाई व्यवस्थापन गर्न सकिएन भने अहिलेको आवश्यकता पूरा गर्न सकिँदैन । 

बिहानीले दिनको झल्को दिन्छ भनेझैँ सुरुवातको एक महिनाले अभियान सफलतातिर उन्मुख भएको छ । तीनमहिने अभियान समापन भएपछि हामी विधान सम्मेलन गर्नेछौँ । यो अभियानले विधान सम्मेलनको आधारशिला तयार पार्छ । विधान सम्मेलनमा विचार, विधि, प्रक्रिया, पद्धति, मापदण्ड सबैमा हामी बहस गर्छौं । अझ महाबहसकै प्रक्रिया अगाडि बढाउनुपर्छ । अहिले राष्ट्रिय र विश्व दृष्टिकोणको अभाव देखिएको छ । निहित स्वार्थमा अल्मलिँदा दीर्घकालीन रूपमा त्यसले ठूलो असर गर्छ । विश्व बिस्तारै एकध्रुवीयबाट बहुध्रुवीयतिर जाँदै छ । प्रतिस्पर्धा तीव्र रूपमा चलिरहेको छ ।

द्वन्द्वतिरै जान्छ कि जस्तो पनि भइरहेको छ । विश्व दृष्टिकोण निर्माणका लागि नेपालका तर्फबाट हामीले के योगदान गर्न सक्छौँ, त्यसबारे पनि बहस गर्नुपर्नेछ । त्योभन्दा मुख्य कुरा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्छ । अहिले राष्ट्रसामु जे–जति समस्या छन्, तिनको समाधान कसरी गर्ने, मुख्य सवाल यही हो । सरकारले भ्रष्टाचारविरुद्धको अभियान अगाडि बढाएको छ । सुशासन कायम गर्न न्यूनतम र आधारभूत विषयमा पार्टीबीच समझदारी हुनैपर्छ । राष्ट्रिय सवालमा माथि र तल दुवैतिरबाट पहल गर्नुपर्छ । जब जनताले नै यसलाई आत्मसात् गर्छन्, त्यतिवेला हामीलाई साथ दिन्छन् । जनताको साथ र सहयोग प्राप्त भइसकेपछि सही विचार, सही राजनीतिक कार्यदिशा, सही रणनीति कार्यान्वयन गर्न सकिन्छ । जनताको साथ र विश्वास नपाएसम्म परिवर्तकारी कार्यक्रम लागू गर्न गाह्रो हुन्छ । 

विचार, दृष्टिकोण, नीति र कार्यक्रमका आधारमा सबभन्दा पहिला पार्टीलाई एकताबद्ध गरेपछि जनताको विश्वास आर्जन गर्न सकिन्छ । त्यसपछि सबै चुनौती सामना गर्न सकिन्छ । अहिले हाम्रा सामु चुनौतीपूर्ण अवसर छ । हामी सबैभन्दा उन्नत राज्य व्यवस्था समाजवादको यात्रामा छौँ । समाजवादमा रोजगारीको सिर्जना र गरिबी निवारण हुन्छ ।

जनताको जीवनस्तर माथि उठ्छ । व्यक्तिगत होइन, जनताको समूहिक प्रगति हुन्छ । स्रोत साधनको न्यायोचित ढंगले वितरण हुन्छ । त्यसका लागि समाजवादी प्रतिस्पर्धा पनि हुन्छ । ऊर्जा, जोस, जाँगर पैदा गर्न समाजवादी प्रतिस्पर्धा आवश्यक पर्छ । उपलब्ध स्रोत र साधनको परिचालनबाट बढीभन्दा बढी रिजल्ट दिनुपर्छ । त्यो कसले गर्न सक्छ भन्नेमा पनि प्रतिस्पर्धाको विधि अपनाउनुपर्छ । यस अभियानमा हामीले समाजवादको आधार तयार पार्ने गरी छलफल, बहस र अन्तक्र्रिया पनि गरिरहेका छौँ । 

युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्न र विदेशमा रहेकालाई स्वदेश फर्काउन हामीले उपाय खोज्नु छ । असाधारण मिहिनेत र परिश्रमबाट केही मोडल हामीले खडा गर्‍यौँ भने विदेशमा रहेका युवालाई स्वदेश फर्काउने वातावरण बन्न सक्छ । श्रम भनेको देखाउनका लागि जनताकहाँ गएर काम गरिदिने मात्रै होइन, उत्पादनसित जोडिँदै अगाडि बढ्नुपर्छ ।

कृषि, उद्योगधन्दा, राष्ट्रिय सुरक्षा र विज्ञान तथा प्रविधि चार आधुनिकीकरणका पाटा हुन् । यिनलाई भुल्न मिल्दैन । कृषि विकासविना नेपालको विकास हुनै सक्दैन । कृषिका लागि राम्रो सम्भावनाको ढोका पनि खुलेको छ । यसका साथै उद्योगधन्दा, राष्ट्रिय सुरक्षा र विज्ञान तथा प्रविधिको माध्यमद्वारा नै हामीले ठूलो क्रान्ति गर्न सक्छौँ । समृद्धि त्यतिवेला मात्रै हासिल हुन्छ, जतिवेला आत्मनिर्भर हुन सकिन्छ, उत्पादनमा वृद्धि गर्न सकिन्छ । खास वर्ग, खास समुदाय, खास व्यक्ति होइन, आमजनता समृद्ध हुनुपर्छ ।
(सापकोटा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता हुन्)