१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
जिओभाना डि बेनेडेटो
२o८१ बैशाख २० बिहीबार o९:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

लाम्पेडुसा त्रासदीले सम्झाइरहने आप्रवासन समस्या

Read Time : > 2 मिनेट
जिओभाना डि बेनेडेटो
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o४:oo

इटलीको लाम्पेडुसा टापुको तटमा ३ अक्टोबर २०१३ मा भूमध्यसागरको सबैभन्दा खराबमध्ये एक जहाज दुर्घटना भएको थियो । करिब पाँच सयजनालाई बोकेको जहाज डुब्दा कम्तीमा तीन सय ६८ को ज्यान गएको थियो । यो घटना हुँदा म रोममा मानवीय क्षेत्रमा काम गरिरहेकी थिएँ र मेरो घरनजिकै यस्तो दुःखद घटना भएको देख्दा म निकै विचलित भएकी थिएँ । सहकर्मीबाट मैले गोताखोरले समुद्रमा डुबेका लासलाई लहरै बन्दरगाहमा राख्दै गरेका घटनावृत्तान्त सुनेकी थिएँ । गोदाममा मिलाएर राखिएका कफिन त्यसमाथि पनि बालबलिकाका शव रहेका साना सफेद कफिनले मेरो मुटु कुँडिएको थियो ।

यो त्रासदीको १० वर्ष बितिसक्यो र यसका डरलाग्दा स्मृतिले लाम्पेडुसालाई अझै पिरोलिरहेको छ । दुर्भाग्यवश, यस्ता त्रासदी नदोहोरिऊन् भनेर पर्याप्त कदम चालिएका छैनन् । सन् २०१४ देखि भूमध्यसागरमा २८ हजारभन्दा बढी मानिस मरेका वा बेपत्ता भएका छन् र यी मारिनेमा एक हजार एक सयभन्दा बढी बालबालिका छन् ।

त्रासदीको वर्षगाँठको केही साताअगाडि म लाम्पेडुसामा थिएँ । र, यो टापु फेरि एक कठिन समयबाट गुज्रिरहेको थियो । एक सातामा यसले अनुमानित १० हजार मानिसको आगमन देखेको छ, जुन यो टापुको स्थायी जनसंख्याभन्दा झन्डै दोब्बर हो । मानवीय क्षेत्रका संस्थासँगको मेरो वर्षौंको अनुभवका दौरान मैले यो टापुको अहिलेजस्तो भयानक अवस्था कहिल्यै देखेकी थिइनँ । आउने मानिसका लागि बनाइएको वासस्थान पुरुष, महिला र बालबालिकाको लामो लाइनले भरिएका थिए । तीमध्ये कतिपयसँग सडकमै सुत्नुको विकल्प थिएन । कैयौँ दिनसम्म भोकै रहेका मानिस खाना र पानीको खोजीमा सहर चहार्दै थिए ।

टापुमा प्रत्येक आउने असीमित सहनशीलता बोकेका व्यक्तिले ठूलै मूल्य चुकाएका छन् । धेरै मानिस त केही पनि बोकेर आएका छैनन् र केहीले आफ्ना प्रियजनलाई सम्झाउने वस्तु वा मातृभूमिको माटोसहितको झोला मात्रै बोकेका छन् । टापुमा पुग्नेमा लैंगिक हिंसा व्यहोरेका बालबालिका र बलात्कृत आमा पनि थिए । केही बाटामै आफ्ना प्रियजन गुमाएर लाम्पेडुसा पुगेका थिए ।

दुरुह परिस्थितिबाट उम्किएका जोकोही पनि शरण र नयाँ जीवनका लागि हकदार छन्

डुंगाबाट आउने मानिसको पीडा र दुःखमाझ म एक मानवतावादी कथा सम्झिन्छु । पश्चिम अफ्रिकाका एक १८ वर्षीय युवक भर्खर तीन वर्ष पुगिरहेका एक बालक बोकेर टापुमा आएका थिए । ती बालकको युवासँग कुनै साइनो थिएन । युवाले बालकलाई मरुभूमिमा टुहुरो अवस्थामा भेटेका थिए र भूमध्यसागर पार गर्दाको खतरनाक यात्रामा बालकलाई सुरक्षित राखेका थिए । बालकले राम्रै हेरचाह पाइरहेका छन्, तर उनको नाम, राष्ट्रियता र उमेर स्पष्ट हुन सकेको छैन । दुःखको कुरो यस्ता कैयौँ बालक परिचयविहीन भएर हुर्किरहेका छन् । 

इटलीभरि हामी यो वर्ष एक लाख ३३ हजारभन्दा बढी आप्रवासीको आगमनको साक्षी बनेका छौँ । इटलीको गृह मन्त्रालयका अनुसार जहाँ ११ हजार ६ सय टुहुरा बालबालिका समावेश छन् । यी बालबालिकामा नवजात शिशुदेखि ६ वर्षका बालबालिकाको संख्या दुई प्रतिशतभन्दा बढी छ । यो संख्या अघिल्ला वर्षमा दुई गुणाले बढेको छ । यसैबीच भूमध्यसागर पार गर्ने प्रयासमा कैयौँ बालबालिकाले ज्यान गुमाइरहेका छन् । यस वर्षको सुरुवातदेखि नै उल्लेख्य संख्यामा बालबालिकासहित चार हजार पाँच सयभन्दा बढी मानिस समुद्रबाट युरोप जाने जोखिमपूर्ण यात्रा गर्ने क्रममा मारिएका वा बेपत्ता भएका छन् ।

लाम्पेडुसामा मैले दुई यस्ता आमालाई भेटेँ, जसले हालसालै आफ्ना साना बच्चा गुमाएका छन् । यसरी बेपत्ता हुनेमा नवजात शिशु र पाँच महिनाका बालक थिए । यी दुई आमाको कथाले सात वर्षदेखि मलाई झस्काइरहने एक दर्दनाक घटनाको सम्झना गराएको थियो । प्रेम एवं निराशाको उत्कट अभिव्यक्ति प्रदर्शन गर्दै त्यसवेला एउटी आमाले आफ्नो ज्यानको आहुती दिँदै दुर्घटित जहाज डुब्नुअघि एक व्यक्तिलाई आफ्नो बच्चा सुम्पिएकी थिइन् ।

तर, काम गरिरहँदा मैले आशाका कथा पनि सुनेकी छु, जसले मलाई आशावादी बनाइराख्छ । यही जुनमा मैले सिसिली सहरमा गाम्बियाका १४ वर्षीय बालकलाई भेटेकी थिएँ र उनलाई पढेर ठूलो मानिस हुने रहर छ । र, आज उनी इटलीको विद्यालयमा पढिरहेका छन् र आफ्नो शिक्षाको सपना पूरा गर्ने अवसर दिएकामा उनी अत्यन्तै कृतज्ञ पनि छन् ।

प्रत्येक बालबालिका सुरक्षित रहनुपर्छ र तिनले उचित हेरचाह एवं शिक्षा पाउनैपर्छ । दुरुह परिस्थितिबाट उम्किएका जो कोही पनि शरण र नयाँ जीवनका लागि हकदार छन् । त्रासदीको एक दशकपछि पनि हामीले युरोपेली संघभित्र यो हक सुनिश्चित गर्न सक्ने पर्याप्त सुधार र सक्रिय उपाय देख्न सकेका छैनौँ । हामीलाई अझै पनि समन्वित युरोपेली खोज एवं उद्धार संयन्त्र आवश्यक छ । त्यसैगरी गरिबी, द्वन्द्व तथा जलवायु परिवर्तनसम्बन्धी प्रकोपबाट बाध्य भई आफ्नो थातथलो छोडेर युरोप आउनेका लागि नियमित एवं सुरक्षित मार्ग आवश्यक छ ।

ऐक्यबद्धता र समन्वित पहलकदमीका लागि अहिलेभन्दा उपयुक्त समय अर्को हुन सक्दैन । सुरक्षित आश्रय खोज्ने मानिसलाई सुरक्षा उपलब्ध गराउनु हाम्रो सामूहिक जिम्मेवारी हो । हामी सबैले सुरक्षा र जनहित सुनिश्चित गर्न एकीकृत ढंगले काम गर्नैपर्छ ।

आप्रवासन कुनै संकटकालीन अवस्था होइन, तर मानवीयतासम्बन्धी एक समस्या हो, जसलाई सम्बोधन एवं उचित व्यवस्थापन गर्न आवश्यक छ । भूमध्यसागरमा हुने सामूहिक मृत्यु पूर्ण रूपमा रोक्न सकिन्छ र यसलाई रोक्नैपर्छ ।
(बेनेडेटो सेभ द चिल्ड्रेनकी सञ्चार अधिकृत हुन्) अल जजिराबाट
 

ad
ad