१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १० बिहीबार
  • Thursday, 23 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ जेठ १० बिहीबार o६:२६:oo
Read Time : > 4 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेवानिलाई वाइडबडी उडानबाटै १९ अर्बभन्दा बढी घाटा

न्यारोबडीमा भने नाफा, वाइडबडी र ट्विनअटर उडानमा निरन्तर घाटा, ग्राउन्ड ह्यान्डलिङले भरथेग

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १० बिहीबार o६:२६:oo

उपलब्ध जहाजहरूको कुशल व्यवस्थापन गर्न नसक्दा नेपाल वायुसेवा निगम (नेवानि)ले निरन्तर घाटा व्यहोर्दै आइरहेको छ । निगमलाई ६ वर्षको अवधिमा अन्तर्राष्ट्रिय र आन्तरिक उडानबाट २० अर्बभन्दा बढी घाटा भएको छ । जहाज उडाउँदा आम्दानीभन्दा खर्च बढी भएपछि निगमले आर्थिक नोक्सानी व्यहोर्नुपरेको हो ।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठित ‘निगमको संरचनागत एवं व्यवस्थापकीय सुधार अध्ययन तथा सिफारिस समितिले पर्यटनमन्त्री सुदन किराँतीलाई बुझाएको प्रतिवेदनले निगमलाई सबैभन्दा ठूलो नोक्सानी वाइडबडी एयरबस–३३० उडानमा भइरहेको देखाएको छ । आर्थिक वर्ष ०७४/७५ देखि ०७९/८० (वैशाख) सम्म ६ वर्षको अवधिमै निगमलाई वाइडबडीबाट मात्रै १९ अर्ब १५ करोडभन्दा बढी घाटा भएको प्रतिवेदनमा उल्लेख छ । युरोपदेखि अमेरिकासम्म सीधा उडान गरेर पर्यटक बोक्ने योजनासहित चर्को ब्याजमा खरिद गरिएको वाइडबडी लामो दूरीमा उडाउन नसक्दा निगमले निरन्तर ठूलो घाटा व्यहोर्नुपरेको हो । 

निगमले कोरिया, अस्ट्रेलिया, युरोप, अमेरिकाजस्ता लामो दूरीका गन्तव्यमा वाइडबडी उडाउन सकेको छैन । विगत १० वर्षयता युरोपेली युनियन (इयू)ले नेपालमा दर्ता भएका जहाजलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाएको छ । सोहीकारण, अहिले लामो दूरीमा जापानको नारिता मात्र उडान भइरहेको छ । दुई सय ७४ सिटको वाइडबडी छोटो दूरीका भारत तथा खाडी देशमा मात्रै सीमित हुँदा नाफा कमाउन नसकिने विज्ञहरू बताउँछन् । गत आवको पहिलो १० महिना (साउन–वैशाख)मा वाइडबडी उडानबाट निगमलाई तीन अर्ब २८ करोडभन्दा बढी घाटा भएको देखिन्छ । 

अन्तर्राष्ट्रिय उडानतर्फ न्यारोबडी ल्याएको तीन वर्षपछि निगमले १४ असार ०७५ मा पहिलो र १० साउन ०७५ मा दोस्रो वाइडबडी ल्याएको थियो । वाइडबडी नेपाली भूमिमा अवतरण गरेको ३३ र ९९ दिनपछि मात्र नियमित उडान सुरु गरिएको थियो । यसले पनि आर्थिक भार थपिनुका साथै निगमको साखमा समेत आँच आएको अध्ययन समितिको निष्कर्ष छ । 

निगमलाई वाइडबडी र ट्विनअटर जहाज उडाउँदा निरन्तर घाटा भइरहेको छ भने न्यारोबडीबाट केही नाफा देखिन्छ । आव ०७४/७५ देखि ०७९/८० (वैशाख)सम्म न्यारोबडी उडानबाट एक अर्ब ७९ करोड नाफा भएको छ । तर, सोही अवधिमा आन्तरिकतर्फको उडानमा दुई अर्ब ७२ करोड घाटा भएको छ । गत आर्थिक वर्षको पहिलो १० महिना (साउन–वैशाख)मा न्यारोबडीबाट ९५ करोड ७८ लाख नाफा भएको छ भने ट्विनअटर उडानमा करिब ५१ करोड नोक्सानी भएको छ ।

६ आर्थिक वर्षमा कोभिड महामारीको वेला (आव ०७६/७७ र ०७७/७८)बाहेक न्यारोबडी उडान नाफामै देखिन्छ । 
निगमसँग आन्तरिकतर्फ चालू अवस्थाका दुईवटा ट्विनअटर विमान छन्, जसमध्ये एउटा मात्र निरन्तर उडानमा प्रयोग भइरहेको हुन्छ । दुईटा ट्विनअटर जहाज पूर्ण क्षमतामा सञ्चालन गर्न निगम व्यवस्थापन असफल भएको अध्ययन समितिको निष्कर्ष छ । ‘विमान मर्मत सुनिश्चितता, सोहीअनुसारको बजार विस्तार र विमान चालकहरूबीच व्यवस्थापनको तारतम्यता मिलाउन नसक्नु व्यवस्थापकीय कमजोरी देखिन्छ’ प्रतिवेदनमा उल्लेख छ ।

 थप जहाज खरिद योजनामा निगम 
 भइरहेकै जहाज पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको निगम व्यवस्थापनले तत्कालै तीनवटा स्टल र दुईवटा ट्रंक उडान गर्ने जहाज खरिद गर्ने योजना बनाएको छ । यस्तै, दीर्घकालमा अन्तर्राष्ट्रिय उडानतर्फ दुईवटा न्यारोबडी र एउटा वाइडबडी जहाज खरिद गर्ने योजना बनाएको छ । जब कि, वाइडबडी जहाज लामो दूरीमा उडाउन नसक्दा निगमको समग्र वित्तीय स्थिति नै नाजुक देखिन्छ ।

निगमसँग चालू अवस्थाका जहाजहरू एयरबस ३३० दुई, एयरबस ३२० दुई र ट्विनअटर डिएचसी–६ दुईवटा गरी ६ वटा छन् । अन्तर्राष्ट्रिय उडान गर्ने एउटा बोइङ ७५७ र आन्तरिक उडान गर्ने पाँचवटा चिनियाँ (एमए–६०, वाई–१२ ई) तथा एउटा ट्विनअटर विमान त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा छन् ।

 कुन वर्ष कति घाटा ?
निगमलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानबाट आव ०७४/७५ मा एक अर्ब ३० करोड घाटा भएको छ । वाइडबडी भित्रिएपछि आव ०७५/७६ मा निगमको नोक्सानी दोब्बरभन्दा बढी भएर तीन अर्ब ८३ करोड पुगेको छ । यस्तै, आव ०७६/७७ मा कोभिड महामारीका कारण उडान गर्न नपाउँदा घाटा बढेर चार अर्ब ५८ करोड र आव ०७/७८ मा चार अर्ब ८४ करोड पुगेको थियो । महामारी कम भएर अन्तर्राष्ट्रिय उडान खुला हुन थालेपछि आव ०७८/७९ मा आम्दानी बढेर निगमको घाटा पनि दुई अर्ब ६९ करोडमा झरेको देखिन्छ । गत आव ०७९/८० (वैशाखसम्म) जहाज उडानको घाटा दुई अर्ब ८३ करोड पुगेको तथ्यांक छ । 

दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी र चारवटा चिनियाँ जहाज खरिदका लागि लिएको ऋणको साँवा–ब्याज भुक्तानी गर्नुपर्दा निगममाथि अर्थिक भार छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा चिनियाँ सहुलियत ऋणको समयमै ब्याज भुक्तानी गर्न नसक्दा सञ्चित कुल ऋण ४८ अर्ब तीन करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । जसको औसतमा १० प्रतिशतभन्दा बढीको दरले ब्याज तिर्नुपर्छ । धेरै कर्मचारी कार्यरत निगममा आन्तरिक सञ्चालन खर्चसमेत उच्च छ । अहिले निगमको सञ्चालन आम्दानीभन्दा दायित्व बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।

 ग्राउन्ड ह्यान्डलिङमा पाँच अर्ब ६० करोड खुद नाफा 
निगमले नेपालमा उडान गर्ने विदेशी वायुसेवालाई ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ) सेवा दिँदै आइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ सेवा दिँदै आइरहेको निगमले गत वर्षदेखि भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि भूमिस्थ सेवा दिने अनुमति पाएको छ । निगमले यही भूमिस्थ सेवाबाट हुने आम्दानीले खर्च धानिरहेको तथ्यांकले प्रस्ट देखाएको छ । 

निगमले ६ आर्थिक वर्षमा भूमिस्थ सेवाबाट सञ्चालन खर्च कटाएर पाँच अर्ब ६० करोड खुद नाफा कमाएको देखिन्छ । जसले गर्दा विमान सञ्चालनमा भएको ठूलो नोक्सानी कम गर्नसमेत मद्दत पुगेको छ । निगमलाई भूमिस्थ सेवाबाट आव ०७४/७५ मा एक अर्ब २६ करोड, ०७५/७६ मा एक अर्ब ३१ करोड, ०७६/७७ मा करिब ९५ करोड, ०७७/७८ मा ४३ करोड, ०७८/७९ मा ९८ करोड र आव ०७९/८० (वैशाखसम्म) ६६ करोड रुपैयाँ नाफा भएको छ ।

वाइडबडी र ट्विनअटर उडानमा नोक्सानी भए पनि न्यारोबडी र भूमिस्थ सेवामा नाफा हुनाले समग्रमा ६ आर्थिक वर्षको घाटा पौने १५ अर्बमा सीमित भएको तथ्यांकले देखाउँछ । कुल आम्दानीभन्दा खर्च बढी हुँदा निगमलाई आव ०७४/७५ मा नौ करोड, ०७५/७६ मा दुई अर्ब ६३ करोड, ०७६/७७ मा तीन अर्ब ७७ करोड, ०७७/७८ मा चार अर्ब ४० करोड, ०७८/७९ मा एक अर्ब ७० करोड र ०७९/८० (दश महिना) मा दुई अर्ब १६ करोड घाटा भएको छ ।  

यस्तै, ग्राउन्डेड अवस्थामा राखिएका चिनियाँ जहाजहरूको मर्मत सम्भार, पार्किङ, ह्रासकट्टी र ब्याजसमेत जोड्दा वार्षिकक दुईवटा एमए–६० का लागि २८ करोड ३१ लाख र तीनवटा वाई–१२ई जहाजका लागि १९ करोड ७८ लाख खर्च हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

व्यवस्थापन चुस्त बनाए नाफामा जान्छ
दीपेन्द्रबहादुर क्षेत्री, संयोजक, निगम संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति

निगमले वाइडबडी लामो दूरीको गन्तव्यमा उडाउन पाएको भए बल्ल सर्भाइभ हुन्थ्यो । अहिलेको उडान ठूलो घाटामा छ । (इयूले नागरिक उड्डयन प्राधिकरणलाई नियामक र व्यवस्थापक छुट्याउन भनिरहेको छ । त्यो नहुँदासम्म इयूले कालोसूचीबाट हटाउँदैन र युरोपमा हामीले उडान गर्न पाउँदैनौँ । त्यसतर्फ सरकारको ध्यान जानुपर्छ । 

न्यारोबडी नाफामै चलिरहेको छ । तर, आन्तरिक उडान चिन्ताजनक देखिन्छ । चिनियाँ जहाजको आम्दानीभन्दा सञ्चालन खर्च धेरै भएर ग्राउन्डेड छन् । अझै अरू जहाज थप्ने योजना रहेछ । जहाज नथपी सुखै छैन, तर पूर्ण क्षमतामा उडाउनुपर्‍यो । निगमको चुक्ता पुँजी बढाएर २० अर्ब पुर्‍याउन सुझाव दिएका छौँ । निगम सम्हाल्नै नसक्ने स्थितिमा पुगेको होइन । यदि व्यवस्थापन चुस्त बनाई काम गरेमा केही वर्षमै  नाफामा लैजान सकिन्छ । 

ad
ad