१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ आजबाट  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:२१:oo

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आज (बुधबार)बाट ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ सुरु हुँदै छ। 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले असोज १७ गतेदेखि २१ गतेसम्म हुने मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो। 

मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लात्भिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनामलगायत १४ देशका ४० जना ख्यातिप्राप्त चित्रकारको सहभागिता रहने नगरपालिकाले जनाएको छ। 

नगरपालिकाको धार्मिक तथा पर्यटकीय स्थलहरूमा आयोजना गरिने पाँचदिने चित्रकला कार्यशाला तथा कला प्रदर्शनीमा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

लाइभ चित्रकला कार्यशाला एवं कला प्रदर्शनी कार्यक्रमअन्तर्गत स्वदेश तथा विदेशका चित्रकारले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। 

‘लाइभ चित्रकला कार्यशाला एवं प्रदर्शनी कार्यक्रमका लागि नेपालसहित विदेशी चित्रकारहरू काठमाडौंबाट हिँडिसक्नुभएको छ। यो अवधिमा स्वदेश तथा विदेशका चित्रकारले करिब एक सयको हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्नेछन्,’ उनले भने, ‘चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज २० गते दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारको स्टल, सांस्कृतिक झाँकी, नृत्य प्रदर्शनलगायतका कार्यक्रम गर्ने तयारी गरिएको छ। यसले नगरको मात्र नभई जिल्लाकै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ।’ 

चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममा आउने चित्रकार, अथितिलगायतलाई स्वागत गर्न दिक्तेल बजारदेखि महुरेगढीसम्मका विभिन्न ठाउँमा स्वागतद्वार तयार पारिएको छ भने बजार तथा सडक सरसफाइ गरेर सजाइएका छन्। महुरेगढीमा नेपाली सेनाको एक टुकडीले नृत्यमार्फत स्वागत गरेपछि चित्रकार तथा अतिथिलाई बजार परिक्रमा गराइने आयोजकले जनाएको छ।

चित्रकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौं आर्ट ग्यालरीमा लगेर प्रदर्शनीको योजना बनाइएको नगरप्रमुख भट्टराईले जानकारी दिए।

खोटाङको कला, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि दशवटै स्थानीय तहमा भएका पाखा, पखेरा, जंगल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरूको प्रचारका लागि लाइभ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको हो। 

लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउने दाबी गरिएको छ। चित्रकला कार्यशाला एवं प्रदर्शनीका अवधिमा तयार पारिएका क्यानभासलाई संग्रहालय बनाएर राखिने आयोजकले जनाएको छ। 

गत चैत १९ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रत्यक्ष चित्रकला कार्यशाला एवं प्रदर्शनी गर्ने निर्णय गरेको थियो। लाइभ चित्रकला कार्यशाला एवं कला प्रदर्शनीका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडाबाट प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्वसहितका तस्बिरहरू प्राथमिकीकरण एवं छनोट गरिएको छ। 

यस्तै, जिल्लाका अन्य नौ स्थानीय तहबाट प्राथमिकीकरण गरेर पठाइएका तस्बिरहरूसमेत प्रत्यक्ष चित्रकलाका आकर्षण हुने जानकारी दिइएको छ। 

नगरपालिकाको प्रमुख प्रवेशद्वार महुरेगढीबाट सुरु भएर विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रमको पहिलो दिन आज (बुधबार) दिउँसो २ः२० बजेबाट बजार परिक्रमा तथा विदेशी चित्रकारहरूलाई सांस्कृतिक झाँकीसहित स्वागत गरिने कार्यतालिका छ। 

नगरपालिकाको रु. १८ लाख खर्चमा सञ्चालन हुने कार्यक्रममा राई इज किङ उपाधिप्राप्त गायक राजेश पायल राईसमेत आउने आयोजकले जनाएको छ। चर्चित गायक राई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको सदभावना दूत पनि हुन्। 
 

ad
ad