
चाडपर्वको पूर्वसन्ध्यामा बजारमा कालोबजारी र गुणस्तरहीन वस्तु बिक्री हुन थालेपछिसरकार सक्रिय भएको छ । सरकारले कालोबजारी र गुणस्तरहीन वस्तु बिक्री गर्नेमाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आसन्न चाडपर्वका अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी र अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन वस्तु बिक्री–वितरण गर्नेजस्ता अनुचित कार्य नगर्न–नगराउन उद्योगी, व्यवसायीको ध्यानाकर्षण गराएको छ ।
मन्त्रिपरिषद्को प्रस्तावमा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्ति, फर्मलाई कानुनबमोजिम कडा कारबाहीका लागि कोही–कसैसँग सूचना भए हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्री नम्बर ११३७ मा सूचना दिन उपभोक्तालाई अनुरोधसमेत गरिएको छ ।
उपभोग्य वस्तुको बिक्री–वितरणसँग सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर सुपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रलाई थप सक्रिय र क्रियाशील बनाई बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउने विशेष प्रस्तावमा छ ।
त्यसैगरी बैठकले अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक नाफाखोरी गर्ने र अस्वाभाविक रूपमा मूल्यवृद्धि गरी कालोबजारीमा संलग्न हुने जो–कोहीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने र सोको प्रतिवेदन सर्वसाधारण सबैका जानकारी लागि सम्बन्धित निकायबाट दैनिक रूपमा सम्प्रेषित गर्ननिर्देशन दिइएको छ ।
त्यस्तै, विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न–नगराउन अनुरोध गरिएको छ । विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायत संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै सरकारले सामाजिक सञ्जालको बढ्दो प्रयोग सकारात्मक तथा मर्यादित बनाउन आग्रह गरेको छ ।