१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शान्ति तामाङ काठमाडाैं
२०८० असोज १६ मंगलबार ०८:३२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

इन्द्रजात्राको अन्तिम दिन : आठ सय महिलाले ताने रथ 

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०८० असोज १६ मंगलबार ०८:३२:००

इन्द्रजात्राको अन्तिम दिन नानिचाः (नेवारी भाषामा नानी अथवा महिलाले रथ तान्ने)मा आठ सयजना महिलाले रथ तानेका छन् । कुमारी, गणेश र भैरवका तीनवटा रथलाई आठ सय महिलाको समूहले तानेका हुन् ।

प्रत्येक रथको मुख्य जिम्मेवारी चार–चारजना महिलाले लिएका थिए । वसन्तपुरको कुमारीघरबाट सुरु भएको रथयात्रा प्याफल, यटखा, नरदेवी, किलाघः, भेडासिङ, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै कुमारीघरमै आएर पूरा भएको थियो । अघिल्ला वर्षहरूमा झैँ यो वर्ष पनि उल्लाहमयपूर्ण तरिकाले रथयात्रा सम्पन्न भएको महिला परिचालन संयोजक नानीहिरा महर्जनले बताइन् ।

नानीहिरा महर्जन, संयोजक, महिला परिचालन
सुरुको वर्ष किलागलसम्म मात्र महिलालाई रथ तान्न दिने सहमति भएको थियो । तर, सजिलोसँग रथ तानेछि त्यो साल एउटा रथ पूरै रुट घुमाउन पायौँ । दोस्रो सालदेखि भने तीनवटै रथ तान्न थालेका हौँ । रथयात्रामा २० वर्षभन्दा माथि र ६० वर्षभन्दा कम उमेरका महिला सहभागी भएका थिए । यसमा धेरै युवा उमेरका थिए ।

‘एक महिनादेखि व्यवस्था मिलाउँदै रथयात्रा सम्पन्न गर्न सफल भएका छौँ,’ संयोजक महर्जनले भनिन्, ‘पहिला हामीले रथ तान्ने कुरा गर्दा जान्नेहरू, नचाहिने काममा हात हाल्यो भनेर आलोचना हुन्थ्यो । हामीले सुरु गर्दा डराई–डराई गरेका थियौँ । तर, अहिले हामीप्रति सकारात्मक छन् । रथ तान्ने दिन हाम्रो टिम यति छ भनेर जानकारी नै दिन्छन् ।’ उनका अनुसार सुरुका वर्षमा महिलाहरू रथ तान्न आउन डराउँथे । हिम्मतिला महिला मात्र आउँथे । दोस्रो, तेस्रो वर्षपछिचाहिँ जो पनि आउँछु भनेर स्वतः स्फूर्त तरिकाले आउन थालेका हुन् । हाल नानिचाःको दिन सहभागी ९९ प्रतिशत नेवार महिला थिए भने थोरै मात्र गैरनेवार समुदायका छन् ।’

करिब ११ वर्षअघि अर्थात् ०६९ सालदेखि इन्द्रजात्राको अन्तिम दिन नानिचाः हुन थालेको हो । इन्द्रजात्रा व्यवस्थापन समितिका सल्लाहकार स्व. मोहनकृष्ण डंगोलले महिलाले पनि रथ तान्ने प्रस्ताव अघि बढाएका थिए । सोहीअनुसार नानीहिरा महर्जन, सजनी महर्जन, ज्ञानशोभा महर्जनलगायतको १३ समूह बनेको थियो । यी महिलाको समूहले सुरु गरेको रथ तान्ने काम यसपटकसहित गरेर ११औँपटक हो ।

तर, तीनवटै रथ तान्न थालेको भने १०औँपटक मात्र भएको छ । सुरुको वर्ष एउटा मात्र रथ तान्ने अवसर पाएका महिलाले दोस्रो वर्षदेखि अरू दुई रथ तान्न पाए । ‘सुरुको वर्ष किलागलसम्म मात्र महिलालाई रथ तान्न दिने सहमति भएको थियो । तर, सजिलो तरिकाले रथ तान्न सकिने भएपछि त्यो साल एउटा रथ पूरै रुट घुमाउन पायौँ । दोस्रो सालदेखि भने तीनवटै रथ तान्न थालेका हौँ,’ संयोजक महर्जनले भनिन् । रथयात्रामा २० वर्षभन्दा माथि र ६० वर्षभन्दा कम उमेरका महिला सहभागी भएका थिए । यसमा धेरै युवा उमेरका थिए ।

गत मंगलबार हनुमानढोका दरबारपरिसरमा इन्द्रध्वजासहितको लिंगो ठड्याइएसँगै इन्द्रजात्रा सुरु भएको थियो । लिच्छविकालीन राजा गुणकामदेवका पालादेखि जात्रा चलिआएको मानिन्छ । जीवित देवी कुमारीको पूजा गर्ने र शाक्य थरकी कन्यालाई देवीका रूपमा पूजा गर्ने चलनलाई मल्लकालसँग जोडेर हेर्ने गरिएको छ । तत्कालीन राजामा तान्त्रिक शक्ति भएकाले उनले देवीसँगको नियमित भेट गर्ने गरेको, देवीसँगै खेल खेल्ने गरेको, भेटघाटका क्रममा राजाका मनमा भोग र वासना उब्जिएपछि देवीबाट श्राप प्राप्त गरेकोलगायत किंवदन्ती यससँग जोडिएको छ ।