१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १५ सोमबार
  • Friday, 09 May, 2025
२o८o असोज १५ सोमबार १६:४o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बंगलादेशमा डेंगुबाट हजारभन्दा बढीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १५ सोमबार १६:४o:oo

बंगलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेंगुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ। लामखुट्टेकाे टाेकाइबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ। 

डेंगुबाट उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, मांसपेशी दुख्ने र सबैभन्दा गम्भीर रूपमा रक्तस्राव हुन्छ। अत्यधिक रक्तस्रावका कारण मानिसको मृत्युसमेत हुन सक्छ।

विश्व स्वास्थ्य संगठनले लामखुट्टेबाट सर्ने डेंगुसहित चिकुंगुन्या, पहेँलो ज्वर र जिकाजस्ता रोगहरू जलवायु परिवर्तनका कारण छटो र थप फैलिरहेको चेतावनी दिएको छ।   

बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार राति प्रकाशित गरेको तथ्यांकअनुसार डेंगुबाट दुई लाखभन्दा बढी संक्रमित हुँदा एक हजार ६ जनाको मृत्यु भइसकेको छ। 

महानिर्देशनालयका पूर्वनिर्देशक बेनजिर अहमदले सन् २००० पछिको प्रत्येक वर्षको तुलनामा डेंगुबाट मर्नेहरूको संख्या यस वर्ष उच्च रहेको बताए। ‘यो बंगलादेश र विश्व दुवैमा ठूलो स्वास्थ्य घटना हो,’ उनले भने। 

मृत्यु हुनेहरूमा शिशुसहित १५ वर्षमुनिका एक सय १२ बालबालिका रहेका छन्। यो आँकडा सन् २०२२ को तुलनामा कम हो। सो वर्ष डेंगुबाट दुई सय ८१ बालबालिकाको मृत्यु भएको थियो।

यस वर्षको मनसुनमा भएको अनियमित वर्षाका साथै उष्ण तापक्रमका कारण लामखुट्टेहरूको प्रजननमा उचित वातावरण भएकाले डेंगुको प्रकोप बढेको वैज्ञानिकहरूले बताएका छन्। 

सन् १९६० को दशकबाट बंगलादेशमा डेंगुका केसहरू देखिए पनि उसले सन् २००० देखि यो रोगको प्रकोपको तथ्यांक राख्न थालेको हो। 

डेंगुका धेरैजसो प्रकोप मनसुनका वेला जुलाईदेखि सेप्टेम्बरसम्म देखिन्छन्, तर बंगलादेशका अस्पतालहरूले हालैका वर्षमा जाडो महिनामा पनि यस रोगका बिरामीलाई भर्ना गरेका छन्। 

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रिएससले सेप्टेम्बर महिनामा डेंगुको प्रकोपले बंगलादेशको प्रणालीमा ठूलो दबाब दिएको बताए।