१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:५१:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दोलखामा पाँच दिनमा तेस्रोपटक सुन बरामद : ११ केजी सुनको मालिक चिनियाँ नागरिक, मुख्य नेपाली व्यवस्थापक नुर्बुछिरिङ शेर्पा

बिगु गाउँपालिका– १ का २८ वर्षीय केसर तामाङको डेराबाट बुधबार चार र शनिबार तीन तथा नजिकैबाट आइतबार चार केजी तस्करीको सुन बरामद

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:५१:oo

दोलखामा पाँच दिनमा तेस्रोपटक तस्करीको सुन बरामद भएको छ । बिगु गाउँपालिका– १ का २८ वर्षीय केसर तामाङको डेराबाट सात र नजिकैबाट चार गरी ११ केजी सुन बरामद भएको हो । गत बुधबार चार र शनिबार तीन केजी सुन बरामद गरेको प्रहरीले आइतबार थप चार केजी बरामद गरेको छ । पछिल्लो चार किलो सुन ढुंगाको कापमा माटोको चपरीले पुरिएको अवस्थामा फेला परेको हो । 

दोलखाको उत्तरी नाका फलेक हुँदै ११ किलो सुन तस्कर गर्ने गिरोहका मुख्य नेपाली व्यवस्थापक बिगु गाउँपालिका– १ का ५५ वर्षीय नुर्बुछिरिङ शेर्पा रहेको पनि खुलेको छ । प्रहरीका अनुसार तस्करी गरेर ल्याइएको सुनमा उनको समेत लगानी छ । नौ करोड ९३ लाख ३५ हजार तीन सय १३ रुपैयाँ मूल्यबराबरको ११ केजी सुन बरामदसँगै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ, जसमा नुर्बुछिरिङ पनि छन् । 

जिल्ला प्रहरी कार्यालय दोलखाले नुर्बुछिरिङलाई गत बिहीबार श्रीमती ३० वर्षीया सुनमाला तामाङसँगै सदरमुकाम चरिकोेटबाट पक्राउ गरेको थियो । सुन तस्करीका लागि आवश्यक युवा उनकै योजनामा भेला गरिएको खुलेको छ । सुन तस्करीमा ठूलै गिरोह संलग्न रहेको देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को विशेषज्ञ टोली नै खटाएर अनुसन्धान भइरहेको छ ।

नुर्बुछिरिङले नै बिगु– १ कै १८ वर्षीय पेम्बा तामाङ र च्याङ्बा भनिने चसमान तामाङलाई सुन लिन फलेक पठाएका थिए । लामाबगरमा सुन लुकाउने जिम्मा भने बिगु– १ का केसर तामाङले पाएका थिए । उक्त सुन चरिकोटसम्म ल्याउन भने अशोक मगरसहितको टोलीलाई जिम्मा दिइएको थियो । चरिकोटमा बुझेपछि काठमाडौंसम्म लैजाने र सुनको वास्तविक मालिकलाई बुझाउने जिम्मा नुर्बुछिरिङ आफैँले लिएका थिए । सोही ‘कन्साइन्मेन्ट’ पूरा गर्न उनी बुधबार श्रीमती सुनमालासहित चरिकोट पुगेका थिए । प्रहरीले उनलाई सोही क्रममा पक्राउ गरेको थियो । चसमान पनि पक्राउ परेका छन् । 

जिप्रका दोलखाका प्रमुख डिएसपी दीपक खड्काले बरामद ११ केजी सुन तस्करीमा नुर्बुछिरिङ शेर्पाले नेपाली व्यवस्थापकको भूमिका खेलेको अनुसन्धानमा देखिएको बताए । उनले भने, ‘फलेक नाकाबाट तस्करी गरेर ल्याइएको ११ केजी सुन बरामद भएको छ । यसको मुख्य नेपाली व्यवस्थापक नुर्बुछिरिङ रहेको अनुसन्धानले देखाएको छ । बरामद सुनमा उनको पनि केही लगानी रहेको देखिन्छ ।’

प्रहरीका अनुसार बरामद सुनको वास्तविक मालिक भने चिनियाँ नागरिक हुन्, जसले पेम्बा र चसमानलाई फलेक नाकामा तस्करीको सुन जिम्मा लगाएका थिए । उनी आफैँ भने रसुवाको केरुङ नाकाबाट नेपाल आउने र तस्करीको सुन बुझ्ने योजना थियो । उनकै निर्देशनअनुसार नुर्बुछिरिङले तस्करीका लागि आवश्यक युवा भेला परेका थिए । जिप्रका प्रमुख डिएसपी खड्काले तस्करीमा संलग्न मुख्य नाइके चिनियाँ नागरिक रहेको र तस्करीको सुन बुझ्न केरुङ नाकाबाट नेपाल भित्रिने योजना रहेको बताए । 

उनले भने, ‘तस्करी भएर आएको सुनको मालिक चिनियाँ नागरिक हो । उसैले नेपाली एजेन्टलाई फलेक नाकामा सुन दियो । ऊ आफैँ भने केरुङ नाकाबाट नेपाल भित्रिने र तस्करी भई आएको सुन बुझ्ने योजनामा थियो । यसका लागि उसलाई भरिया आवश्यक थियो । नुर्बुछिरिङले त्यसैको व्यवस्थापन गरिदिएको देखिन्छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा चीनले गत ७ असोजबाट एक साताका लागि रोङजिया र कोल्दु नाका खुला गरेको थियो । रोङजिया नाकाबाट चीनको फलेक पुग्न सकिन्छ । नाका खुलेलगत्तै चीनले लामाबगर क्षेत्रका स्थानीयलाई फलेकसम्म जान–आउन खुला गरेको थियो । त्यसैको फाइदा उठाउँदै गिरोहले तस्करीमा लामाबगरका स्थानीयलाई प्रयोग गरेको प्रहरी दाबी छ । हवाईमार्गबाट हुने सुन तस्करीमा पछिल्लोपटक कडाइ भएपछि सोही गिरोह स्थालमार्गतर्फ लागेका प्रहरीको अनुमान छ ।

राजस्व अनुसन्धान विभागले गत २ साउनमा हङकङबाट तस्कर गरेर ल्याइएको ६०.७१६ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको थियो । अनुसन्धानका क्रममा उक्त गिरोहले दुई महिनाको अवधिमा विमानस्थलबाट मात्रै ३६२.७७८ केजी सुन तस्करी गरेको खुलेको थियो । उक्त घटनाका सम्बन्धमा अहिले जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस चलिरहेको छ । घटनामा २९ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध तीन अर्ब ५० करोड ३० लाख ९१ हजार नौ सय ७५ रुपैयाँ बिगो दाबी गरिएको छ । अदालतमा दर्ता गरिएको अभियोगपत्रअनुसार अभियुक्तविरुद्ध संगठित रूपमा अवैध सुन चोरी–पैठारी गरेको अभियोग लगाइएको छ । उनीहरूविरुद्ध पाँच वर्षसम्मको कैद सजाय माग दाबी गरिएको छ । घटनामा चिनियाँ नागरिक अलेक्स भनिने यायो पुचिङ र अली भनिने ली वेन सुङलाई मुख्य प्रतिवादी बनाइएको छ ।

भागबन्डा नमिल्दा बाहिरियो सूचना
तस्करीको सुनका मालिक चिनियाँ नागरिकले नेपालमा मुख्य व्यवस्थापनको जिम्मा नेपालकै नुर्बुछिरिङ शेर्पालाई दिएका थिए । चिनियाँ मालिकले फलेक नाकाबाट लामाबगरसम्म सुन ल्याउने जिम्म पेम्बा तामाङ र च्याङ्बा भनिने चसमान तामाङलाई दिएका थिए जसको व्यवस्थापन भने नुर्बुछिरिङले गरेका थिए । लामाबगरमा सुन राख्ने जिम्मा केसर तामाङको थियो ।

योजनाअनुसार पेम्बा र चसमानले सुन लामाबगर ल्याए । केसरलाई जिम्मा पनि दिए । तर, लामाबगरबाट चरिकोट लैजाने क्रममा भने विवाद भयो । प्रहरीका अनुसार सुन चरिकोटसम्म लैजाने जिम्मा अशोक मागरसहितको टोलीलाई दिइएको थियो । उनीहरूबीच भागबन्डाको विषयमा कुरा मिलेन । उनीहरूमध्येकै असन्तुष्ट पक्षले सूचना प्रहरीलाई चुहाइदियो । नभन्दै प्रहरीले सुनसहित केसर, नुर्बुछिरिङ, सुनमाला, पेम्बा, बिगु– १ कै २० वर्षीय माधव मगर र राज तामाङलाई पक्राउ गरेको छ । अशोकसहितको टोली भने फरार छ ।

ad
ad