१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १४ आइतबार
  • Friday, 09 May, 2025
२o८o असोज १४ आइतबार १३:४७:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

सेतो पुतलीबाट सर्ने सापु रोगबाट बच्न चिकित्सकको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १४ आइतबार १३:४७:oo

पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापु) रोगका बिरामी देखा पर्न थालेका छन्। 

भरतपुर आँखा अस्पतालमा विगत १५ दिनमा ६ जना सापुका बिरामी जटिल अवस्थामा आएको अस्पतालका आँखारोग विशेषज्ञ डा. कुमुदिनी सुवेदीले बताइन्। 

केही समयअघि महामारीको रूपमा फैलिएको आँखा पाक्ने रोगसँग झुक्किएर सापु रोगका बिरामी अस्पताल उपचारका लागि समयमा नआउँदा यसमा जटिलता थपिएको उनको भनाइ छ।

उनले भनिन्, ‘हामीकहाँ आउने बिरामी पाँच दिनदेखि नौ दिनको अन्तरालमा सापुका लक्षण बोकेर आउनुभएको छ।’

आँखा रातो भएको खण्डमा यसलाई सामान्य आँखा पाकेको भनी भर परेर नबस्न डा. सुवेदीको आग्रह छ। उनले सापु रोग साना बालबालिकाका लागि अझ घातक हुन सक्ने भन्दै बच्चा चञ्चल हुने, सरसफाइमा ध्यान नदिने, बच्चालाई सरसफाइबारे बुझाउन नसकिने र बच्चाले आफ्नो आँखाको समस्याबारे बताउन नसक्ने भएकाले सानो बच्चाको दृष्टि गुम्न सक्ने खतरा बढेको औँंल्याइन्। 

डा. सुवेदीले अहिलेको समयमा अकारण दृष्टि गुमाउनबाट बच्नका लागि सापु राेगबारे जान्न अन्यन्तै आवश्यक भएको बताइन्। 

आँखा पाक्ने रोग लाग्दा आँखा रातो हुने, कचेरा लाग्ने भए पनि सुरुमै दृष्टिमा कमजोरी नआउने, तर सापु रोगमा भने आँखामा कचेरा वा चिप्रा नलागी आँखा रातो हुने, दृष्टि कमजोर हुने, उज्यालोमा हेर्न गाह्रो हुनेजस्ता लक्षण देखिने डा. सुवेदीले जानकारी दिइन्। 

उनले भनिन्, ‘आँखा रातो भएपछि हामी सकेसम्म छिटो आँखा उपचार केन्द्रमा उपचार गर्न गइहाल्नुपर्छ, समयमै उपचार पाउन सकेमा सापु रोग लागेका धेरैजसो बिरामीको दृष्टि बचाउन सकिन्छ।’ सापु रोगबारे नेपाल सरकारले पनि जानकारीमूलक पर्चा निकालेको अवगत गराउँदै डा. सुवेदीले त्यसमा उल्लेख भएका कुराको अवलम्बन गर्न अनुरोध गरिन्।  

प्रायः वर्षायामको भदौदेखि मंसिरसम्म यो रोग पहाडी भेगमा बढी देखिने भए पनि अहिले मौसमको परिवर्तनसँगै तराई भेगतिर पनि सर्दै गएको उनको भनाइ छ। हालसम्म सेतो पुतलीलाई सापुकोे कारक मानिएको भए पनि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीमा समेत यो रोग देखा परेको डा. सुवेदी बताइन्।  

अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको भन्दै उनले भनिन्, ‘यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ, म आग्रह गर्दछु– हजुरहरूको आँखा रातो भएको छ भने तुरुन्तै आँखा उपचार केन्द्रमा आउनुहोला र दृष्टि बचाउने हाम्रो लक्ष्यमा सहयोग गर्नुहोला।’