Skip This
विषयगत समितिहरूका बैठक नबस्दा दफावार छलफल गर्नुपर्ने विधेयकहरू समितिमा अलपत्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार २२:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

विषयगत समितिहरूका बैठक नबस्दा दफावार छलफल गर्नुपर्ने विधेयकहरू समितिमा अलपत्र

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार २२:३३:oo


बागमती प्रदेश सभाअन्तर्गतका दुईवटा विषयगत समितिहरूको बैठक शुक्रबार बस्ने भनिए पनि सदस्यहरू उपस्थित नहुँदा बैठक बस्न सकेन । प्रदेश सभामा रहेका पाँचमध्ये दुईवटा समितिहरूको बैठक शुक्रबारका लागि बोलाइएको थियो । 
तर, समितिका सदस्यहरूको अनुपस्थितिका कारण बैठक बस्न नसकेको समितिका जेष्ठ सदस्य शिवराज अधिकारीले जानकारी दिए । ‘बैठक बस्ने तयारी भएर नै म हेटौँडा आएको थिएँ । तर अरु सदस्य साथीहरू अनुपस्थित भएपछि बैठक बस्न सकेन,’ उनले नयाँ पत्रिकासँग भने ।

जेष्ठ सदस्यको हैसियतले समितिको अध्यक्षता गरिरहेका अधिकारीले १४ असोजमा प्रदेशसभाको बैठक बस्ने भएकाले एकदिनका लागी संसदिय समितिको बैठकमा सांसदहरू नआएको हुनसक्ने बताए । 

‘१४ गते प्रदेश सभाको बैठक बोलाइएको छ । आउने जाने गरिरहनुपर्ने भएकाले सांसदहरूलाई समस्या भएको हुनसक्छ । अब हामीले पनि समितिको बैठक १६ गतेको लागि बोलाएका छौँ । त्यसपछि बैठकले नियमित आफ्नो काम गर्छ,’ सांसद अधिकारीले भने ।

शुक्रबारका लागि प्रदेश सभाको प्रदेश मामिला समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र अर्थ तथा विकास समितिको बैठक बोलाइएको थियो । बैठक बोलाइए पनि शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सदस्यहरूले उपस्थित हुन नसक्ने जानकारी गराएपछि बिहीबार नै उक्त समितिको बैठक स्थगित गरिएको थियो । 

तर, शुक्रबार बैठक बोलाएर पनि सदस्यहरू उपस्थित नहुँदा प्रदेश मामिला समिति र अर्थ तथा विकास समितिको बैठक बस्न सकेन । यसअघि बागमती प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको लामो समयपछि पहिलोपटक यही १९ भदौमा संसदीय समितिहरूको बैठक बसेको थियो ।

शुक्रबार बस्ने भनिएको समितिको बैठकहरूले आफ्नो कार्यविधि निर्माणमा छलफल गर्ने र प्रदेशसभाबाट प्राप्त विधेयकहरूमाथि दफावार छलफलको लागि कार्यतालिका बनाउने कार्यसूची रहेको थियो । 

बैठक बस्न नसक्दा दफावार छलफलका लागि समितिहरूमा प्राप्त विधेयकहरू समितिमै अलपत्र परेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले बताए । 

यसअघि ३१ भदौमा बसेको प्रदेश सभा बैठकले सदनमा प्रस्तुत भएका चारवटा विधेयकहरूको दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिहरूमा पठाउने निर्णय गरेको थियो । 

बैठक नबस्दा विधेयकहरू अलपत्र
३१ भदौमा प्रदेश सभा बैठकले पाँचवटा समितिमध्ये दुईवटा समितिमा दफाबार छलफलका लागि चारवटा विधेयक पठाएको थियो । तर, बोलाइएको बैठक बस्न नसक्दा विधेयकहरू विषयगत समितिमै अलपत्र परेका छन् ।

प्रदेश सभा बैठकले संसदमा पेस भएको चारवटा विधेयकहरूमा एउटा विधेयक प्रदेश मामिला समिति र अरु तीनवटा विधेयक शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा दफावार छलफलका लागी पठाएको थियो । 

शुक्रबारका लागि बोलाइएको विषयगत समितिहरूको बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समिति र प्रदेश मामिला सममितिको बैठक नबस्दा विधेयकहरू अलपत्र परेको प्रवक्ता गुप्ताले बताए । 

विधेयकहरूमा दफावार छलफल गर्नुपर्ने भएकाले समय लाग्ने र पछि हतारमा गरिने कामले त्रुटि हुनसक्ने उनको भनाइ छ । 

‘बैठक तोकिएको समयमा र नियमित बस्नसके विधेयकहरूमा पर्याप्त छलफल गर्न सकिन्छ र त्रुटि कम हुन्छ । समितिहरूमा दफावार छलफल गर्नुपर्ने भएकाले समय पनि लाग्छ त्यसकारण तोकिएको समयमा नियमित बैठक बस्दा परिणाम पनि राम्रो आउँछ,’ उनले भने ।

प्रदेश सभाले ‘प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, ०७५ लाई संशोधन गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि प्रदेश मामिला समितिमा तथा ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,’ ‘विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्रदेश स्वास्थ्य सेवा ऐन, ०७५ लाई संशोधन गर्न बनेको विधेयक, ०८०’ लाई दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाएको थियो ।

संसदीय समितिको सभापति चयन अझै अन्योल
बागमती प्रदेश सभामा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा विकास समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति गरी पाँचवटा विषयगत समितिहरू रहेका छन् ।

प्रदेश सभामा विषयगत समितिहरू गठन भए पनि अहिलेसम्म समितिको सभापति भने चयन हुन सकेको छैन । यसअघि १९ भदौमा बसेको पहिलो बैठकमा समितिका जेष्ठ सदस्यहरूले अध्यक्षता गरेका थिए ।

बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक १८ पुस ०७९ मा बसेको थियो । असारमा संसदीय समिति गठन गर्दै दलहरूले समितिमा रहने सदस्यहरूको टुंगो लगाएका थिए । तर, त्यसयता पटकपटक छलफल भए पनि समितिहरूको सभापति भने चयन हुन सकेको छैन ।

सत्तारूढ दलहरूबीच नै समितिको सभापतिको विषयमा भागबन्डा मिल्न नसक्दा अहिलेसम्म समितिले सभापति पाउन सकेका छैनन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भदौ महिनाभित्र समितिहरूले नेतृत्व पाइसक्ने दावी गरे पनि अहिलेसम्म दावी पूरा हुन नसकेको हो ।

ad
ad