मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
२०८० असोज ११ बिहीबार १६:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डोल्पा आइपुग्यो नाका पासको नमुना

Read Time : < 1 मिनेट
२०८० असोज ११ बिहीबार १६:३७:००

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला र क्याटो नाका हुँदै चिनियाँ व्यापारिक क्षेत्रमा प्रवेश गर्नका लागि आवश्यक पासको नमुना जिल्ला प्रशासन कार्यालय डोल्पामा आइपुगेको छ।

बिहीबार गृह मन्त्रालयको अध्यागमन शाखाबाट पासको नमुना आइपुगेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

गृह मन्त्रालयबाट प्राप्त पास छपाइका लागि बिहीबार जिल्लाका सरोकारवालासँग छलफल भएको प्रमुख जिल्ला  अधिकारी भूमिश्वर पोख्रेलले जानकारी दिए। 

नाका प्रवेश पासको छपाइ सम्बन्धित स्थानीय तह आफैँले डोल्पामै गर्ने निर्णय भएकाले गृह मन्त्रालयको निर्देशन आउनेबित्तिकै वितरण गरिने प्रजिअ पोख्रेलले बताए।

पहिलो चरणमा डोल्पाका लागि एक हजार पाँच सय प्रवेश पास छपाइने बताइएको छ। त्यसैगरी पास लिनका लागि प्रतिव्यक्ति दुई प्रति फोटो र एक प्रति नागरिकताको फोटोकपी चाहिने प्रशासनले जनाएको छ।

विगतका वर्षहरूमा चिनियाँ नाका प्रवेशका लागि पास नचाहिने भए पनि यस वर्षबाट पहिलोपटक प्रवेश पास अनिवार्य गरिएको हो।

नाका खुलेपछि किनमेलका लागि एक साता लाग्ने उपल्लो डोल्पावासीको भनाइ छ। उपल्लो डोल्पाका तीनवटा स्थानीय तहका बासिन्दालाई सदरमुकाम दुनै झरेर दैनिक उपभोग्य सामग्री किनमेल गर्नुभन्दा दुई दिनमा पुग्न सकिने मोरिम्ला नाका पुगेर किनमेल गर्न सजिलो हुन्छ।

चिनियाँ नाका खुलेपछि उपल्लो डोल्पाका डोल्पोबुद्ध,शे–फोक्सुन्डाे र छार्काताङसोङ गाउँपालिकाकाका स्थानीयले नुन, चामल, तेल, मोटरसाइकललगायतका सामान खरिद गर्न पाउनेछन्।

यस वर्ष नाका खुलेमा उपल्लो डोल्पादेखि नजिक पर्ने चीनको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउन्टी नाका खुल्नेछ।

विगत पाँच वर्षदेखि बन्द मोरिम्ला र क्याटो नाका खुला गर्ने भन्दै चिनियाँ राजदूतावासले ३ असोजमा नेपाली राजदूतावासलाई पत्र पठाएको थियो। उपल्लो डोल्पासम्म सडक सञ्जाल नहुँदा याक, चौँरी र घोडा तथा खच्चडबाट दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने गरिन्छ।