१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:३६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

मागअनुसार उत्पादन नहुँदा अलैँचीको भाउ बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३६:oo

यतिवेला ताप्लेजुङमा प्रमुख नगदेबालीको रूपमा रहेको अलैँची टिप्न किसानलाई चटारो छ। अहिले तल्लो भागमा अलैँची पाकेर थन्क्याउने वेला भइसेको छ भने माथिल्लो भेगमा धमाधन टिप्ने, छोडाउने र सुकाउने काम भइरहेको छ।

गाउँमा अलैँची बगान भएर पनि जिल्ला सदरमुकाम बसेका व्यक्तिहरूसमेत अलैँची पाक्न थालेपछि गाउँ फर्किएका छन्। ताप्लेजुङमा भदौको पहिलो सातादेखि सुरु हुने अलैँची टिप्ने कार्य कहीँकतै कात्तिक अन्तिमसम्म पनि जारी रहन्छ।

अलैँची पाक्न थालेपछि टिप्न ढिलो भए चरा तथा मुसाले खाइदिने भएकाले पनि यतिवेला भ्याइनभ्याई भएको कृषकहरू बताउँछन्। पाकेको अलैँची टिप्न केही दिन मात्रै ढिलो गरे चरा, मुसाजस्ता जंगली जीवले खाएर सखाप बनाउने फक्ताङलुङ गाउँपालिकाका किसान विशाल राईले बताए।

अलैँचीको सिजनमा सबैतिर एकैपटक टिप्ने र थन्क्याउने काम गर्नुपर्ने भएकाले काम गर्ने जनशक्ति पाउनसमेत मुस्किल हुने हुँदा थप व्यस्त हुनुपरेको मैवाखोला– ४ का लेखनाथ गौतमले बताए।

किसानहरूका अनुसार जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिन्छ । औल अर्थात् एक हजार दुई सय मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौ ८–१० देखि नै टिप्ने गरिन्छ। यस्तै, एक हजार दुई सयदेखि एक हजार आठ सय मिटरसम्मको उचाइमा गरिएको अलैँची खेती असोज पहिलो सातादेखि टिप्न सुरु गरिन्छ । एक हजार आठ सय देखिमाथि लेक क्षेत्रमा कात्तिकदेखि कात्तिक मसान्तसम्म नै अलैँची टिप्ने गरिएको छ।

उत्पादन घट्यो, मूल्य बढ्यो
ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफल भूमिमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट दुई हजार पाँच सय मेट्रिक टन अलैँची उत्पादन हुने गरेको तथ्यांक छ।

यस वर्ष अलैँचीको मूल्य राम्रो आएकाले किसान उत्साहित छन्। यस वर्ष अलैँचीको मूल्य विगत ६ वर्षयताकै उच्च भएको छ। अलैँची व्यवसायी महासंघ ताप्लेजुङकाका अध्यक्ष भद्रवीर रेग्मीका अनुसार गत आइतबार जिल्लामा अलैँची प्रतिमन (४० किलो) ५५ हजारदेखि ६० हजार रुपैयाँसम्ममा कारोबार भएको छ।

जिल्लामा भदौको पहिलो हप्तादेखि अलैँचीको नयाँ उत्पादन बजारमा निस्कन थाल्छ। बजारमा निस्कनुभन्दा अगाडि अलैँचीको मूल्यमा वृद्धि भएपछि किसान हर्षित भएका छन्। अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको तथा मागअनुसार पर्याप्त अलैँची नहुँदा भाउ पनि बढेको अध्यक्ष रेग्मीको भनाइ छ।

यस वर्ष भाउ बढे पनि अलैँची उत्पादन भने घटेको छ। हिउँदको समयमा पर्याप्त वर्षा नभएको र रोगका कारण अलैँचीका बोट मरेकाले  यो वर्ष समग्रमा उत्पादन घट्ने रेग्मीले बताए।