१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार ११:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विदेशी पर्यटकलाई बेँसीसहरमा ढाकाटाेपीले स्वागत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:५८:oo

अन्नपूर्ण पदमार्गका लागि हिँडेका पर्यटकलाई सदरमुकाम बेँसीसहरमा ढाकाटाेपीले स्वागत गरिएको छ । ४४औँ विश्व पर्यटन दिवसको अवसर पारेर लमजुङ हुँदै मनाङतर्फ हिँडेका पर्यटकलाई बाटोमै रोकेर बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले ढाकाटोपी र रातो टीका लगाएर विदेशी पर्यटकको स्वागत गरेका हुन् । 

चेक गणतन्त्रबाट बुबाआमासँग नेपाल घुम्न आएका १० वर्षीय जोनसँगै अन्य २३ जना ढाकाटोपी र रातो टीकामा सजिएका थिए । ढाकाटोपी र रातो टीकामा सजिएका १० वर्षीय जोनले नेपालको स्वागत–सत्कारले रमाइलो लागेको बताए । उनले भने, ‘म पहिलोपटक बुबाआमासँग नेपाल घुम्न आएको हुँ । नेपालको स्वागत–सत्कारले खुसी लाग्यो । फेरि पनि नेपाल घुम्न आइरहुँजस्तो लागेको छ ।’

पर्यटन तथा उद्योग कार्यालयको आयोजना, बेँसीसहर नगरपालिकाको सहआयोजना र होटेल व्यावसायी संघको समन्वयमा टुरिजम एन्ड ग्रिन इन्भेस्टमेन्ट भन्ने नाराका साथ ४४औँ विश्व पर्यटन दिवस लमजुङमा पनि मनाइएको हो।

मनाङसँगै लमजुङ पनि पर्यटनको हब भएकाले जिल्लामा बाह्य पर्यटकको आगमनलाई तीव्र पार्न पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङले बताए । उनले भने, ‘सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना पर्यटकको आगमन हुने महिना भएकाले पर्यटन दिवसले पर्यटकहरूको आगमनमा नयाँ उत्साह थपिनेछ ।’

कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले लमजुङका पर्यटकीय क्षेत्रहरू र पर्यटनको अवस्थाबारे जानकारी गराएकी थिइन् ।  उनले जिल्लामा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएकाले पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने बताइन्। 

दिवसकै अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय भुजुङले पनि कार्यक्रमको आयोजना गरी पर्यटकको स्वागत गरेको छ ।

दिवसकै अवसरमा गाउँगाउँ पुगेका पर्यटकलाई पनि गाउँलेले फूलमाला, खादाले भव्य स्वागत गरेका छन् । जिल्लाको खुदी, भुलभुले, भुजुङ, घलेगाउँ, काउलेपानी, पसगाउँ, खासुर, सिउरुङलगायतका होमस्टेहरूमा पुगेका पर्यटकलाई पनि भव्य स्वागत गरेका छन् । ‘मुलुकमा शान्ति स्थापना भएपछि लमजुङको सदरमुकाम बेँसीसहर हुँदै अन्नपूर्ण पदमार्गमा जाने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ ।’

विगतका वर्षमा जिल्लामा गैरसरकारी कार्यालयले मात्र पर्यटन दिवस मनाउने गरे तापनि यस वर्ष भने सरकारी तवरबाटै दिवसको दिनमा औपचारिक कार्यक्रम गरिएकाले पर्यटन क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वाससमेत लिइएको छ ।  यस्तै, विश्व पर्यटन दिवसकै अवसरमा अन्नपूर्ण पदमार्गको जिल्ला मनाङमा पनि पर्यटकलाई स्थानीय र व्यवसायीले स्वागत गरेका छन् । 

ad
ad