१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o८:१३:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

७५६ मेगावाटको तमोर जलविद्युत् चिनियाँ कम्पनीबाट खोस्ने तयारी

तीन वर्षसम्म कुनै काम नगरेपछि सोधिएको स्पष्टीकरणको आएन चित्तबुझ्दो जवाफ, लगानी बोर्डले बनायो उच्चस्तरीय समिति

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:१३:oo

सम्झौता गरेको तीन वर्ष बित्दा पनि कुनै काम नगरेपछि सरकारले सात सय ५६ मेगावाटको तमोर जलाशययुक्त विद्युत् आयोजना चिनियाँ कम्पनीबाट खोस्ने तयारी गरेको छ । समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको तीन वर्ष बितिसक्दा पनि पावर कन्स्ट्रक्सन कर्पाेरेसन अफ चाइना लिमिटेड (पावर चाइना)ले कुनै पनि काम गरेको छैन ।  

बोर्डसँग भएको एमओयूअनुसार कम्पनीले दुई वर्षभित्र आयोजनालाई निर्माणको चरणमा लैजानुपर्ने थियो । साथै, त्यसअघि एमओयूको ४५ दिनभित्र लगानीको योजना पेस गर्नुपर्ने, ६ महिनाभित्र सर्वेक्षण लाइसेन्सको आवेदन दिनुपर्ने थियो । साथै, ६ महिनामा पावर चाइना र एचआइडिसिएलले संयुक्त कम्पनी स्थापना गर्नुपर्ने थियो । तर, तीन वर्ष बितिसक्दासमेत कम्पनीले कुनै पनि काम गरेको छैन । त्यसपछि बोर्डले गत २८ जेठमा पावर चाइनालाई ३० दिनभित्र स्पष्टीकण पठाउन पत्र पठाएको थियो । तर, पावर चाइनाले जवाफ नभएर केही इस्यु उठाएर बोर्डलाई जवाफी पत्र पठाएको थियो । त्यसमा सरकारले सहयोग नगरेको आरोप पावर चाइनाले लगाएको बताएको छ । 

तर, पावर चाइनाको जवाफ लगानी बोर्डलाई चित्त बुझेको छैन । ‘हामीले कन्डिस्नल (सर्तसहितको) लाइसेन्स दिने भनेका थियौँ । तर, पनि पावर चाइनाले काम गरेको देखिएन,’ बोर्डका एक अधिकारीले बताए । पावर चाइनाको जफाफ चित्त नबुझेपछि बोर्डले गत ८ भदौमा तमोर आयोजनाको कार्यान्वयन अघि बढाउने विषयमा उच्चस्तरीय समिति गठन गरेको छ । समितिले आयोजनाको हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजना निर्माणको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्नेछ । सोहीअनुसार यो आयोजनाबारे थप निर्णय हुनेछ । तर, यो औपचारिक प्रक्रिया पूरा गर्न मात्रै गरेको स्रोतको भनाइ छ ।

‘हामीले सीधै कम्पनीबाट आयोजना खोस्न पाउँदैनौँ । त्यसका लागि विभिन्न प्रक्रियाहरू पूरा गर्नुपर्छ । सोहीअनुसार अहिले समिति गठन गरेर अध्ययन गरिरहेका छौँ । यो प्रक्रिया पूरा गर्न मात्रै हो,’ उनले भने, ‘यो आयोजना पावर चाइनाबाट खोसिने सम्भावना उच्च छ । र, अहिले अरुण–३ र तल्लो अरुण बनाइरहेको एसजेभिएनले नै यो आयोजना पाउने सम्भावना बढी छ ।’

साथै, उक्त आयोजना काबली र हेवाखोला जलविद्युत् आयोजनाको बाउन्ड्रीमा परेको हुनाले लाइसेन्स पाउन कठिन भएको विषय पनि पावर चाइनाले उठाएको छ । नेपालको प्रचलित कानुनअनुसार दुईभन्दा बढी जलविद्युत् आयोजनाको बाउन्ड्री मिसम्यास हुन पाउँदैन । सोहीअनुसार लाइसेन्स नपाउने सम्भावना देखिएको पावर चाइनाको भनाइ छ । 

आयोजना के–कसरी अघि बढाउने विषयमा अध्ययन गर्न समिति गठन भएको छ । यसबारे अहिले सोही समितिले नै अध्ययन गरिरहेको छ । त्यो समितिको प्रतिवेदन तथा सुझाव कस्तो आउँछ, सोहीअनुसार यसबारे थप निर्णय हुने ।
अमृत लम्साल, प्रवक्ता लगानी बोर्ड

हाल एसजेभिएनले संखुवासभामा नौ सय मेगावाटको अरुण–३ र ६ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत् बनाइरहेको छ । तमोर आयोजना पनि संखुवासभासहित पाँचथर, ताप्लेजुङ, तेह्रथुम जिल्लामा नै पर्छ । त्यो अवस्थामा एसजेभिएनलाई उक्त आयोजना बनाउन प्राविधिक रूपमा सहज हुने देखिएको बोर्डका एक उच्च अधिकारीले बताए । साथै, एसजेभिएनले पनि उक्त आयोजनाको लाइसेन्स हात पार्न बोर्डमा पहल गरिरहेको छ ।   

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा २६ असोज ०७६ मा पावर चाइना र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)बीच संयुक्त रूपमा उक्त आयोजना बनाउने समझदारी भएको थियो । त्यसपछि ५ माघ ०७६ (१९ जनवरी २०२०) मा बोर्डले एमओयू गरेको थियो । बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारी र पावर चाइना युरो एसियाका भाइस प्रेसिडेन्ट पान डेन्ग्युले हस्ताक्षर गरेका थिए । 

सरकारले उक्त कम्पनीलाई प्रतिस्पर्धामार्फत नै उक्त आयोजना पावर चाइनालाई दिएको थियो । एचआइडिसिएल र पावर चाइनासहित कतारको नेब्रस पावर र जापानको फुजी इलेक्ट्रिक प्रतिपस्र्धामा थिए । पछिल्लो लगानी सम्मेलनमा बोर्डले यस आयोजनालाई सोकेस गरेको थियो । त्यसमा चीन, भारत, जापान र कतारका गरी पाँच कम्पनीले प्रस्ताव पेस गरेका थिए ।  तर, प्रतिस्पर्धाबाट छनोट भएको कम्पनीले समेत आयोजनालाई अलपत्र अवस्थामा पारेको छ । त्यसैले यो आयोजना पावर चाइनाबाट खोस्न लागेको स्रोतको भनाइ छ ।

बोर्डका प्रवक्ता अमृत लम्सालले पनि आयोजना के–कसरी अघि बढाउने विषयमा अध्ययन गर्न समिति गठन भएको बताए । ‘यसबारे अहिले सोही समितिले नै अध्ययन गरिरहेको छ । त्यो समितिको प्रतिवेदन तथा सुझाव कस्तो आउँछ, सोहीअनुसार यसबारे थप निर्णय हुनेछ,’ उनले बताए ।