१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:४१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मल कारखानाको विस्तृत सम्भाव्यता अध्ययन गर्न मलेसियन कम्पनीसँग सम्झौता, दुई वर्षभित्र प्रतिवेदन पेस गर्नुपर्ने

तनहुँको आबुखैरेनीमा स्थापना हुने मल कारखानाको अनुमानित लागत २६० मिलियन अमेरिकी डलर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:४१:oo

नेपालमा ग्रिन क्याल्सियम एमोनियम नाइट्रेट मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययन मलेसियन कम्पनीले गर्ने भएको छ । बुधबार लगानी बोर्ड नेपालका कार्यकारी अधिकृत सुशील भट्ट र मलेसियाको रेनिकोला एसडिएन बिएचडीका प्रबन्ध निर्देशक बौमहिदी अब्देलालीले हस्ताक्षर गरेका छन् । समझदारीपत्रअनुसार रेनिकोला एडिएन बिएचडीले अनुमतिपत्र पाएको २४ महिनाभित्र डिटेल फिजिबिलिटी स्टडी रिपोर्ट पेस गर्नुपर्नेछ । 

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले गत आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत ग्रिन हाइड्रोजन र ग्रिन एमोनियम प्रविधि प्रयोग गरेर रासायनिक मल उत्पादनका लागि कारखाना स्थापना गर्ने घोषणा गरेका थिए । बजेटको बुँदा नम्बर ३६ मा भनिएको छ– ‘ग्रिन हाइड्रोजन र ग्रिन एमोनिया प्रविधि प्रयोग गरी रासायनिक मल कारखाना स्थापना गर्न लगानी बोर्ड नेपालमार्फत कार्य अगाडि बढाइनेछ ।’

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्थाअनुसार रेनिकोलाले वातावरणमैत्री प्रविधिमा आधारित भएर मल उत्पादन गर्न २४ पुस ०७९ मा पेस गरेको प्रस्तावका आधारमा लगानी बोर्डको ३० चैत ०७९ को बैठकले अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको थियो । प्रस्तावकसँग गरिने समझदारीपत्र (एमओयू)को मस्यौदा ८ भदौ ०८० मा सम्पन्न बोर्डको ५५औँ बैठकबाट स्वीकृत भएको थियो ।

तनहुँको आबुखैरेनीमा स्थापना गर्ने प्रस्ताव गरिएको परियोजनाले इलेक्ट्रोलिसिस प्रविधि प्रयोग गरी ग्रिन एमोनिया र ग्रिन क्याल्सियम एमोनियम नाइट्रेट मल तयार पार्ने आवधारणा बनाएको छ । आबुखैरेनीमा स्थापना हुने मल कारखानाको अनुमानित लागत २६० मिलियन अमेरिकी डलर रहेको लगानी बोर्डले जनाएको छ । यस कारखानाबाट वार्षिक ९५ हजार ६ सय मेट्रिकटन ग्रिन एमोनिया र दुई लाख ८६ हजार नौ सय ७५ मेट्रिकटन ग्रिन क्याल्सियम एमोनियम नाइट्रेट मल उत्पादन गरिने प्रस्तावमा उल्लेख छ ।

समझदारीपत्रमा हस्ताक्षर गर्दै लगानी बोर्डका सिइओ भट्टले नेपालमा हरित अवधारणामा मल उत्पादन गर्ने उद्देश्य राखेको यस परियोजनाले नेपालको विद्युत्लगायत आन्तरिक स्रोतको परिचालन गरी हरित अर्थतन्त्रको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वयन र दिगो रूपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने बताउँदै उनले तोकिएको समयभित्र सम्भाव्यता अध्ययनसहितको प्रतिवेदन पेस गर्न प्रस्तावक मलेसियन कम्पनीलाई आग्रह गरे ।