१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Sunday, 11 May, 2025
तस्बिर : दिपेन्द्र ढुंगाना/ नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८o असोज ११ बिहीबार o६:११:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साफ यू–१९ च्याम्पियनसिप : नेपालको यात्रा सेमिफाइनलमै समाप्त

भारतसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा नेपाल लगातार तेस्रोपटक फाइनल खेल्नबाट वञ्चित, उपाधिका लागि शनिबार भारत र पाकिस्तान भिड्ने

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार o६:११:oo

घरेलु टोली नेपालको यात्रा सेमिफाइनलमा समाप्त हुँदा भारत र पाकिस्तानले साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएका छन् । बुधबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग पेनाल्टी सुटआउटमा ३–२ ले पराजित भयो । पाकिस्तानले सडनडेथमा भुटानलाई हराउँदै पहिलोपटक फाइनलमा स्थान बनाएको हो । फाइनल खेल शनिबार हुनेछ । 

पेनाल्टीमा भारतलाई जित दिलाउन अर्जुन सिंह, ग्वाम्सर गोरारी र अन्तिम पेनाल्टी प्रहार गरेका मानङलेनथाङ किप्गेनले गोल गरे । नेपालका गोलकिपर तथा कप्तान जियारथ शेखले भारतका दिनेश सिंह सौबम र रिकी मित्तलको पेनाल्टी रोकेका थिए । नेपालको तर्फबाट पेनाल्टीमा आश्विन घोडासैनी र कुशल देउवाले मात्रै गोल गरे । दोस्रो नम्बरमा पेनाल्टी प्रहार गर्न गएका प्रशान्त लक्षमको प्रहार भारतीय गोलकिपर लियोनल डारियलले रोकेका थिए । चौथो नम्बरमा आएका लक्षु थापाको प्रहार बारमा लाग्दा विक्रम तामाङको प्रहार अकासिएको थियो । 

पाँचौँ संस्करण जारी रहँदा नेपाल र भारत समान दुईपटकका च्याम्पियन हुन् । नेपालले सुरुवाती दुई संस्करणको उपाधि जितेको छ । भारतले त्यसपछिका दुई उपाधि जितेको हो । यसपटक भारत उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा छ । नेपाल भने लगातार तेस्रोपटक फाइनल पुग्नबाट असफल भएको छ । 

नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले मिहिनेत गर्दागर्दै पेनाल्टीमा असफल भएको बताए । ‘खेलाडीले मिहिनेत गर्दागर्दै सफल भएनौँ । खेलमा यस्तो भइहाल्छ । पेनाल्टी अभ्यास कम भएको हैन, सबै घाइते हुँदा समस्या भयो,’ श्रेष्ठले भने, ‘भारतविरुद्ध बल पोसेसन राख्न खोजेका थियौँ । अन्तिम मिनेटमा गोल हुन सकेन,’ उनले भने । 

भारतका प्रशिक्षक सुभेन्दु पांडाले खेल निकै रोमाञ्चक भएको र घरेलु समर्थकबीच नेपाललाई दबाब दिन सफल भएको बताए । ‘खेल निकै उत्साहपूर्ण थियो । समर्थकले गर्दा खेलाडीलाई दबाब भयो । पहिलोपटक यत्रो समर्थकबीच खेलेका थियौँ,’ पांडाले भने । ‘नेपाल निकै राम्रो टोली हो । हामी पेनाल्टीमा सफल भयौँ,’ उनले भने । पांडाले फाइनलमा पाकिस्तानसँग राम्रो प्रतिस्पर्धा हुने बताएका छन् । 

भारतको अग्रता 
खेलको २७औँ मिनेटमा पहिलो गोल भयो । भारतका साहिल खुर्सिदले गोल गरे । अर्जुन सिंहले बक्सभित्रबाट मिलाएको बललाई साहिलले भली गोल गरेका थिए । १२ हजार ६ सय ५६ समर्थकमाझ खेलको ७३औँ मिनेटमा नेपालका समीर तामाङले बराबरी गोल गरेका हुन् । दीपक थापामगरले बक्सबाहिरबाट मिलाएको पासलाई सदुपयोग गर्दै समिरले बक्सभित्रबाट हेड गोल गरेका हुन् । 

उत्तेजित समर्थक 
दोस्रो हाफको आठौँ मिनेटमा आक्रामक बनेका दर्शकले मैदानमा पानीको बोतल फालेका थिए । समीर तामाङलाई मध्यभागमा भारतका रिकी मित्तलले कुइनाले प्रहार गरेपछि घरेलु दर्शक आक्रामक बन्दै बोतल मैदानमा फ्यालेका हुन् ।

आक्रामक खेल 
पहिलो हाफमा भारत नेपालविरुद्ध आक्रामक भएको थियो । नेपालले समेत आक्रामक खेल प्रस्तुत ग¥यो । तर, भारत पहिलो हाफ फिनिसिङमा सफल देखियो । लगातार आक्रमणका बाबजुद नेपाल दोस्रो हाफमा गोल गर्न सफल भएको हो । खेलको ३२औँ मिनेटमा नेपालले पहिलो सशक्त प्रहार गरेको थियो । 

कुशल देउवाले ३० यार्डबाट हानेको लामो प्रहार भारतीय गोलकिपर लियोनल डारियलले सीधै आफ्नो पन्जामा पारेका थिए । पहिलो हाफको इन्जुरी समयमा कुशलले नै हानेको कर्नरमा समीर तामाङले हानेको हेडर पोस्टमाथिबाट बाहिरिएको थियो । ४७औँ मिनेटमै नेपालले खतरनाक मुभ बनायो । लक्षु थापाको थ्रु बललाई नीराजन धामीले बक्सभित्रबाट प्रहार गर्दा पोस्टमा लागेर बाहिरियो । 

खेलको ५४औँ मिनेटमा राजा हरिजानले हातले बल छोएपछि पाएको फ्रिकिकलाई २५ यार्डबाट प्रशान्तले प्रहार गरे पनि सटिक रहन सकेन । ग्वाम्सर गोयरीले पहिलो हाफको इन्जुरी समयमा हानेको प्रहार नेपालका गोलकिपर जियारथ शेखले बचाएका थिए । 

पाकिस्तान पहिलोपटक फाइनलमा
भुटानलाई सडनडेथमा ५–६ ले पराजित गर्दै पाकिस्तान साफ यू–१९ च्यम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा पाकिस्तानका लागि मोहम्मद आदिल युनस, शाह जहन, अलिज अफर, फुर्सिद आलम, मोहम्मद सदाम र कमिल अहमद खानले गोल गरेका थिए । भुटानका लागि किन्जाङ तेन्जिङ, जिग्मे नाम्गेल, रिन्जिन दोर्जे, युगेन दोर्जे र पेमा जाङ्पोले गोल गरेका हुन् । प्रतियोगिताको पाँचौँ संस्करण आइपुग्दा पाकिस्तान पहिलोपटक प्रतियोगितामा सहभागी भएको हो । 

घरेलु समर्थकको दबाब भयो शुभेन्दु पांडा, प्रशिक्षक, भारत
खेल निकै उत्साहपूर्ण रह्यो । समर्थकले खेल राम्रो माने । दुवै टोलीलाई प्रेसर भयो । हाम्रा खेलाडीले पहिलोपटक यति धेरै दर्शकबीच खेल खेलेका हुन् । दबाबलाई धान्न सके । नेपाल राम्रो टोली हो । हामीलाई दबाबमा राख्यो । सुरुवातमै गोल गरे पनि खेल पेनाल्टीमा पुग्यो । फाइनलमा पाकिस्तान राम्रो प्रतिद्वन्द्वी हो । फाइनल खेल्न तयार छौँ । 

मिहिनेत गर्दागर्दै सफल भएनौँ सुनिल श्रेष्ठ, प्रशिक्षक, नेपाल 
खेलाडीले मिहिनेत गर्दागर्दै सफल भएनन् । खेलमा यस्तो भइहाल्छ । पेनाल्टी अभ्यास कम भएको हैन, सबै घाइते हुँदा समस्या भयो । किपरले राम्रो गर्‍यो । बल पोसेसन राख्न खोजेका थियौँ । तर पनि भारतले अग्रता बनायो । भारत राम्रो टोली हो । एक गोल खाएर पनि पुनरागमन गर्‍यौँ । अन्तिम मिनेटमा गोल सफल भएन । लगातार फाइनल पुग्न सकेनौँ । फाइनलभन्दा पनि प्रदर्शन याद गर्नुपर्छ । रिजल्टमा चुकेका छौँ ।