१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:२४:oo
Read Time : > 5 मिनेट
ad
ad
Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:२४:oo

२०% भन्दा धेरै नाफा राखेर सामान बिक्री गर्नुलाई कालोबजारी मान्दै कानुनले त्यस्तो गर्नेलाई एक वर्षसम्म कैद र अढाई लाखसम्म जरिवानाको व्यवस्था गरेको छ, तर व्यापारीहरूले तरकारी ११५% सम्म महँगोमा उपभोक्तालाई बेच्दा राज्य मूकदर्शक छ

नियमित मूल्यवृद्धि त छँदै थियो, चाडको मुखमा दैनिक उपभोग्य खाद्यान्न तथा तरकारीको मूल्यवृद्धिको पारो झन् बढेको छ । आर्थिक मन्दीले थलिएका उपभोक्ता अस्वाभाविक मूल्यवृद्धिको भारले थिचिएका छन् । पछिल्लो तीन महिनाको अन्तरमा दैनिक उपभोग्य वस्तुमा ४५ प्रतिशतसम्मले मूल्यवृद्धि भएको तथ्यांकले नै देखाएको हो । 

गत १ असारको तुलनामा १ असोजमा चामल, दाल, चिनी, मसलालगायत खाद्यान्नको मूल्य अचाक्ली वृद्धि भएको छ । दुई हजार एक सय रुपैयाँ पर्ने २० किलो बोराको जिरा मसिनो चामल १ असोजमा आउँदा तीन हजार पुगेको छ । बोरामै नौ सय रुपैयाँले वृद्धि भएको हो । यही अवधिमा प्रतिकेजी एक सय ८५ रुपैयाँ पर्ने रहर दाल ५५ रुपैयाँले बढेर दुई सय ४० पुगेको छ । त्यस्तै, चिनी प्रतिकेजी ९५ रुपैयाँबाट बढेर एक सय २० रुपैयाँ पुगेको छ । दैनिक भान्सामा प्रयोग हुने जिरा दाना पनि प्रतिकेजी एक हजार ५० बाट दुई सय ५० रुपैयाँले बढेर एक हजार तीन सय पुगेको छ । 

कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ ले २० प्रतिशतभन्दा धेरै नाफा खाएर मालवस्तु बिक्री–वितरण गर्नुलाई कालोबजारी मानेको छ । त्यस्तो गर्ने व्यापारीलाई एक वर्षसम्म कैद र अढाई लाखसम्म जरिवानाको व्यवस्था गरेको छ । 

सो ऐनको दफा ३ मा नाफाखोरीसम्बन्धी व्यवस्था छ । जको उपदफा (१)मा भनिएको छ– ‘...नेपाल सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा दुई लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्नेछ ।’ तर, व्यापारीले ११५ प्रतिशतसम्म नाफा खाएर उपभोक्ताको ढाड सेक्दा पनि नियामक सरकारी निकाय मूकदर्शक बनेका छन् । 

चाडबाडको मुखमा भएको अस्वाभाविक मूल्यवृद्धिले उपभोक्ता मारमा परेका छन् । काठमाडौंको बालाजु माछापोखरी बस्ने सुशीला पोखरेल आम्दानी नबढ्ने, तर महँगी अचाक्ली हुँदा भान्सा चलाउन सकस भएको अनुभव सुनाउँछिन् । ‘म काठमाडौं बसेको २० वर्ष भयो । यसपालि त थेग्नै नसकिने गरी मूल्य बढेको छ । जागिरबाट हुने आम्दानी खासै बढेको छैन, तर उपभोग्य वस्तुको भाउ बढेको बढ्यै छ,’ उनले भनिन्, ‘यस्तै हो भने अब दैनिक गुजारा कसरी गर्ने भन्ने भइसक्यो ।’ 

बजार भाउ महँगिँदा आर्थिक मन्दीले थलिएका उपभोक्ताको किनमेल नै पातलिएको छ । दैनिक अत्यावश्यक खाद्यान्न तथा तरकारीको समेत व्यापार खुम्चिएको छ । तीन वर्षदेखि वनस्थली क्षेत्रमा खाद्यान्न पसल चलाइरहेका आशाराम कार्की पछिल्लो समय करिब ४० प्रतिशतले व्यापार घटेको बताउँछन् । ‘व्यापार त स्वाट्टै घट्यो, विगतका वर्षहरूमा चाडपर्वमा महँगो हुन्छ भन्दै पहिले नै किन्न आउने उपभोक्ता धेरै हुन्थे, अहिले निकै घटेका छन्,’ उनले भने, ‘सबै खाद्यान्नको मूल्य भने बढेको छ ।’ 

सरकारको फितलो अनुगमनको फाइदा उडाउँदै व्यापारीले मिलेमतोमा मूल्य बढाएको बताउँछन् उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमल्सिना । ‘चाडको मुखमा उपभोग्य वस्तुहरूको मूल्य विगतका वर्षहरूमा पनि बढेको थियो, तर अहिले उपभोक्ताको क्षमताले धान्नै नसक्ने गरी बढेको छ । उपभोक्ताको भने किन्ने क्षमता घटेको छ,’ उनले भने । माग र आपूर्तिको तालमेल नमिल्दा पनि अस्वाभाविक मूल्यवृद्धि भएको उनको बुझाई छ । ‘कति माग आन्तरिक उत्पादनले धान्छ, कति आयात गर्नुपर्छ भन्ने तथ्यांक सरकारले वेलैमा ननिकाल्दा चाडबाडको मुखमा अभाव देखाएर मूल्यवृद्धि गर्ने गरिएको छ,’ उनले भने । 

पछिल्लो समय खाद्यान्नको मूल्यवृद्धि हुनुमा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय कारण रहेको बताउँछन् राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा । रुस र युक्रेनबीचको युद्धले विश्वव्यापी रूपमै खाद्यसंकट निम्तिनु मूल्यवृद्धिको एक अन्तर्राष्ट्रिय कारण भएको उनले बताए । त्यस्तै, नेपालमा खाद्यान्न निर्यात गर्ने भारतमै उत्पादनमा कमी हुनु तथा पर्याप्त वर्षा नभएर नेपालमा पनि उत्पादनमा कमी आउनु पनि प्रमुख कारण मान्छन् । त्यसबाहेक नेपालमा हुने कालोबजारी र सरकारको कमजोर अनुगमन प्रणालीले मूल्यवृद्धिमा भूमिका खेलेको उनले बताए । 

‘आगामी दिनमा यो संकट झनै गहिरो देख्छु । भारतले चामल र गहुँलगायत मुख्य खाद्यवस्तुमा निर्यात घटाउँदै छ, जसको हल्लाले पनि मूल्य बढ्न भूमिका खेल्छ,’ उनले भने, ‘हामी आत्मनिर्भर नभएको यो अवस्थामा मूल्यवृद्धि कहाँसम्म पुग्छ भन्न सकिँदैन ।’

नेपाल चामल–तेल–दाल उद्योग संघका अध्यक्ष सुबोध गुप्ता पनि आन्तनिर्भर नभएको अवस्थामा अन्तर्राष्ट्रियस्तरमा मूल्य बढ्दा यहाँ पनि बढ्नु स्वाभाविक रहेको दाबी गर्छन् । नेपालमा खाद्यान्न निर्यात हुने मुलुकमै कम उत्पादन भएकाले त्यसको असर पनि देखिएको उनले बताए । ‘हाम्रोमा समग्रमा ६–७ प्रतिशले उत्पादन घटेको छ, भारतले पनि चामल र गहुँमा प्रतिबन्ध लगाउँदा त्यसले बजारमूल्य बढाउन सीधा भूमिका खेलेको छ,’ गौतमले भने । नेपाल खुद्रा व्यापार संघका कार्यकारी सदस्य रोशन शाही पनि बजारमा माग र आपूर्तिको सन्तुलन नभएकाले बाहिरबाट मूल्य बढेर आएको वस्तुको भाउ वृद्धि भएको दाबी गर्छन् । 

योजना आयोगका पूर्वउपाध्यक्ष पुष्प कँडेल भने जे–जे बहाना देखाइए पनि सरकारले बजार अनुगमन प्रभावकारी रूपमा नगर्दा मूल्यवृद्धि भएको बताउँछन् । ‘सबैतिर हेर्दा जनता निराश देखिन्छन्, मूल्य बढेको बढ्यै छ, सरकार यसबारेमा चुइँक्क बोलेको छैन, आफ्ना संयन्त्रलाई चुस्त–दुरुस्त बनाउन नसक्दा जनता मारमा परेका छन्,’ उनले भने । 

तर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवाल भने पछिल्लो समय भएको मूल्यवृद्धिलाई हेरेर अनुगमनलाई तीव्र पारिएको दाबी गर्छन् । १० नियमित टोली र दुई निरीक्षण टोली खटाएर खाद्यान्न, तरकारीलगायत अनुगमनलाई चुस्त बनाउने काम थालिएको उनले बताए । ‘अहिले कुन कारणले मूल्यवृद्धि भएको छ, व्यापारीहरूले कृत्रिम अभाव गराएका हुन् कि उत्पादनमै मूल्य बढेको हो भनेर विस्तृत अध्ययन भइरहेको छ,’ उनले भने, ‘प्रतिवेदन आएपछि जरैसम्म पुगेर अनुगमन गरी कारबाही गर्छौँ ।’ 

बजारमा चिनी अभाव : प्राकृतिक कि कृत्रिम ?
मूल्य बढाउने विभिन्न प्रपञ्च हुन्छन् । त्यसमध्ये एक हो अत्यावश्यक वस्तुको अभाव देखाइदिने । अहिले बजारमा चिनीको अभाव देखिएको छ । व्यापारीहरू यसलाई प्राकृतिक अभावको रूपमा अथ्र्याइरहेका छन् भने उपभोक्ता अधिकारवादीहरू मूल्य बढाउन योजनाबद्ध रूपमा गरिएको कृत्रिम अभावको संज्ञा दिन्छन् ।

चिनी उत्पादक संघका उपाध्यक्ष राजकुमार अग्रवाल यसपटक उत्पादन नै कम भएकाले अभाव हुने र मूल्य बढ्न सक्ने भनेर सरकारलाई थप आवश्यक चिनी आयात गर्न तीन महिनाअघि नै आग्रह गरेको दाबी गर्छन् । ‘यसपटक उत्पादन ९० हजार मेट्रिकटन मात्र थियो, थप ५० हजार मेट्रिकटन किन्न आग्रह गरेका थियौैँ,’ उनले भने, ‘तर, सरकारले चिनी ल्याएन, मागभन्दा आपूर्ति कम भएपछि मूल्य त स्वाभाविक रूपमै बढ्छ नि ।’

तर, उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भने सरकारकै संरक्षणमा व्यापारीहरूले कृत्रिम अभाव गराएको दाबी गर्छन् । ‘तत्काललाई बजारमा चिनी पुग्ने थियो, तर अहिले चाडपर्वको मौका छोपेर मूल्य बढाउन व्यापारीले अभाव देखाए,’ उनले भने, ‘उपभोक्ता चिनी किन्न जाँदा व्यापारीले अभाव भएको बताउन थालेका छन् । व्यापारीलाई सरकारले पनि साथ दिएको छ ।’ 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवाल चिनीको हकमा आयात गर्नुपर्ने र अन्तर्राष्ट्रियस्तरमै मूल्य बढेकाले व्यापारीले मनोमानी गरे भनेर कारबाही गर्न नमिल्ने बताउँछन् । ‘हाम्रोमा उत्पादन हुने चिनीले मागको ५० प्रतिशत मात्र धान्छ, बाँकी आयात नै गर्नुपर्छ । यसपटक झन् उत्पादनमा कमी आयो, उत्पादनको ४० प्रतिशत उद्योगीले विभिन्न परिकार बनाउन लैजान्छन् र बाँकी १० प्रतिशत मात्र उपभोक्तालाई जाने हो,’ उनले भने, ‘समयमै सरकारले आपूर्ति गर्न सकिरहेको छैन, प्रक्रियामै छ । चिनीको मूल्य बढ्नु स्वाभाविक छ, कालोबजारी भएकाको हकमा रोक्ने प्रयत्न जारी छ ।’ 

कालीमाटीको भन्दा दोब्बर मूल्यमा तरकारी खान बाध्य उपभोक्ता

कालीमाटी तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यभन्दा झन्डै दोब्बर मूल्यमा खुद्रा पसलबाट तरकारी किनेर खान बाध्य छन् काठमाडौं उपत्यकाका उपभोक्ता । मंगलबार कालीमाटी तरकारी बजार विकास समितिले निर्धारण गरेको भिन्डीको मूल्य ५१ रुपैयाँ प्रतिकेजी भए पनि खुद्रा तरकारी बजारमा ११० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, काउलीको मूल्य कालीमाटी तरकारी बजारमा ८८ रुपैयाँ प्रतिकेजी रहेकामा खुद्रा पसलबाट एक सय २० रुपैयाँमा बिक्री भएको थियो । ४५ रुपैयाँ प्रतिकेजी रहेको हरियो फर्सीलाई उपभोक्ताले खुद्रा पसलबाट ९० रुपैयाँमा किनेर उपभोग गरे । त्यस्तै, नेपाली टनेलको सानो गोलभेँडा कालीमाटी तरकारी बजारमा ६४ रुपैयाँ प्रतिकेजी रहेकोमा उपभोक्ताले १०० रुपैयाँसम्म किन्न बाध्य भए ।

भक्तपुरको लोकन्थली बस्ने कृतिका कर्ण हरेक दिनजसो तरकारीको मूल्य बढिरहेको बताउँछिन् । ‘अघिल्लो हप्ता पाँच सय खर्च गर्दा तीन किलोजति तरकारी आउनेमा हप्ता दिनपछि दुई किलो पनि आउँदैन,’ उनले भनिन्, ‘महँगीले भान्सा चलाउनै मुस्किल परिसक्यो ।’ ललितपुरको सातदोबाटो बस्ने मोनिका पौडेलको दुःखेसो पनि उस्तै छ । आइइएलटिएस कोर्स गर्न काठमाडौंमा बस्दै आएकी उनी महँगी देखेर चकित छिन् । ‘कुनै तरकारी किनिसाध्य छैन । भिन्डी नै केजीको एक सय १० भन्दा म चकित परेँ,’ उनले सुनाइन्, ‘प्रतिकेजी सय रुपैयाँभन्दा तलको कुनै तरकारी पनि भेटिँदैन, काठमाडौंमा टिक्न गाह्रो भयो ।’ 

ad
ad