१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

इन्द्रजात्रा हेर्न महानगरको निमन्त्रणा : चीन र अमेरिकाबाट २० पाहुना आउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:३६:oo

इन्द्रजात्रा अवलोकनका लागि आउने पाहुनालाई इन्द्रजात्रा सञ्चालन हुने रुटमा पर्ने हनुमानढोकाकेन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार स्क्वायरको भ्रमण अवलोकन, कुमारी रथ यात्राको अवलोकनमा समेत सहभागी गराइनेछ 

यँयाः (इन्द्रजात्रा) अवलोकनका लागि काठमाडौं महानगरपालिकाको निमन्त्रणामा अमेरिका र चीनबाट २० जना पाहुना आउने भएका छन् । महानगरका प्रवक्ता नवीन मानन्धरले सोमबार पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार महानगरको निमन्त्रणामा अमेरिकाको फेडरिसवर्ग सिटी तथा चीनको नान्जिन, छेन्दु, झान्झाउ र सियान सिटीबाट पाहुना आउनेछन् । ०७६ सालदेखि भगिनी सम्बन्ध भएका नगरबाट पाहुनालाई निमन्त्रणा गर्न थालिएको हो । 

इन्द्रजात्रा अवलोकनका लागि आउने पाहुनाहरूलाई इन्द्रजात्रा सञ्चालन हुने रुटमा पर्ने हनुमानढोकाकेन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ र स्वयम्भू र भक्तपुर दरबार स्क्वायरको भ्रमण अवलोकन, कुमारी रथ यात्राको अवलोकनमा समेत सहभागी गराइनेछ । ‘इन्द्रजात्रा पर्यटकीय सम्भावनाको आकर्षक क्षेत्र हो । यसको गरिमालाई देशभरि नै अपनत्व गराउन तथा यसको आकर्षणलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न महानगरपालिकाले जात्रा अवलोकन गर्न देशभित्र र अन्तर्राष्ट्रिय नगरबाट पाहुनालाई निमन्त्रणा गरेको छ,’ महानगरले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ 

महानगरपालिका र उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्राका औपचारिक कार्यक्रहरू सुरु भइसकेका छन् । जात्राअन्तर्गतका वन प्रस्थान, लिङ्गो नगर प्रवेशलगायत कर्म सम्पन्न भइसकेका छन् । जात्रा सञ्चालन तथा व्यवस्थापनका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा महानगरपालिकाले सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवर्द्धनको काम गरिरहेको छ । महानगरले शान्तिसुरक्षा, सरसफाइ, सम्पदाको मर्मत–सम्भार, रङरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मतलगायत काम गरिरहेको छ ।

लिच्छविकालीन राजा गुणकामदेवका पालादेखि जात्रा चलिआएको मानिन्छ । जीवित देवी कुमारीको पूजा गर्ने र शाक्य थरकी कन्यालाई देवीका रूपमा पूजा गर्ने चलनलाई मल्लकालसँग जोडेर हेर्ने गरिएको छ । तत्कालीन राजामा तान्त्रिक शक्ति भएकाले उनले देवीसँगको नियमित भेट गर्ने गरेको, देवीसँगै खेल खेल्ने गरेको, भेटघाटका क्रममा राजाका मनमा भोग र वासना उब्जिएपछि देवीबाट श्राप प्राप्त गरेकोलगायत किंवदन्ती यससँग जोडिएको छ । यसबाट पाएको दोष कटाउन र शासन बचाउन सुरु गरिएको परम्पराका रूपमा जात्रालाई हेरिन्छ । यसैकारण कुमारीको रथयात्रा हुनुपूर्व गणेश, भैरव र कुमारीको दर्शन गर्न राष्ट्र प्रमुख उपस्थित हुने गरेको भनाइ छ ।

मानव सिर्जित सम्पदाको सुन्दरता र भौतिक सम्पदासँग जोडिएका अमूर्त सम्पदाको मिश्रण ‘ययाँः’ले काठमाडौंको सभ्यतालाई समुन्नत बनाएको छ । जात्राको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा सामाजिक पक्षको अन्तरघुलन अद्वितीय छ । धार्मिक सहअस्तित्व स्विकारेर हिन्दू र बौद्ध धर्मावलम्बीले एउटै पर्वलाई आ–आफ्ना विधिबाट मनाउनुले गहिरो सन्देश दिएको विज्ञप्तिमा उल्लेख छ ।

ad
ad