Skip This
लोसपामा परिवारवाद, नातेदारलाई पदैपद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ९ मंगलबार
  • Tuesday, 08 October, 2024
अनिल यादव काठमाडाैं
२o८o असोज ९ मंगलबार o८:५८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लोसपामा परिवारवाद, नातेदारलाई पदैपद

Read Time : > 2 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ९ मंगलबार o८:५८:oo

गत मंसिरको निर्वाचनबाट राष्ट्रिय पार्टीसमेत बन्न नसकेको लोसपामा नातेदारलाई भागबन्डा र अस्वाभाविक पदाधिकारी थपेपछि असन्तुष्टि

लोकतान्त्रिक समाजवादी पार्टीले स्थापनाको दुई वर्षपछि पदाधिकारीको जिम्मेवारी बाँडफाँटसहित केन्द्रीय समितिलाई आकार दिएको छ । तर, दुई वर्षको तयारीपछि गरिएको पदाधिकारी चयनमा परिवारवाद हाबी देखिएको छ ।

लोसपाका शीर्ष नेताहरूले भागबन्डा गरेरै आफूसँगै श्रीमती, छोरी र नातेदारहरूलाईसम्म पदाधिकारीको जिम्मेवारी दिएका हुन् । अध्यक्ष महन्थ ठाकुरले सोमबार पुनगर्ठित गरेको केन्द्रीय समितिमा उनकै सम्धी, सम्धिनी पदाधिकारी चयन भएका छन् । छोरी मिनाक्षी ठाकुरलाई केन्द्रीय सदस्य बनाइएको छ । ठाकुरले सम्धी उमाकान्त झालाई पार्टीको वरिष्ठ उपाध्यक्ष र सम्धिनी इन्द्रा झालाई उपाध्यक्षको जिम्मेवारी दिएका छन् । उमाकान्तका आफ्नै भतिज डा. सन्दीप झालाई पार्टीको सचिव बनाइएको छ ।

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्ना दुई नातेदारलाई महासचिव बनाएका छन् । महतोका ज्वाइँ अनिल महासेठ र भतिज उपेन्द्र महतोले महासचिवको जिम्मेवारी पाएका छन् । अर्का वरिष्ठ नेता एवं श्रममन्त्री शरत्सिंह भण्डारीले श्रीमती र छोरीलाई पदाधिकारी बनाएका छन् । भण्डारीकी श्रीमती निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष दुवै पद दिइएको छ । छोरी सृष्टिसिंह भण्डारीलाई सचिव बनाएका छन् ।

अर्का नेता प्रदीपनारायण यादवका बाबुछोरा नै पदाधिकारी बनेका छन् । महन्थ ठाकुरको नेतृत्वमा तमलोपा हुँदा किसान संघका अध्यक्ष रहेका प्रदीप वरिष्ठ उपाध्यक्ष र उनका छोरा देवेन्द्र यादव महासचिव बनेका छन् । लोसपाका एक नेताका अनुसार शीर्ष नेताहरूले नातेदार, राजनीतिक पृष्ठभूमि नभएको, मधेश आन्दोलनमा कुनै योगदान नदिएका र मतदाता सूचीमा नाम नभएका व्यक्तिसम्मलाई पदाधिकारी र केन्द्रीय समितिमा ल्याएका छन् । जसकारण पार्टीभित्र असन्तुष्टि बढेको छ ।

पार्टीमा ६३ जना पदाधिकारी, महासचिव नै १६
लोसपाको पुनर्गठित केन्द्रीय समिति तीन सय ११ सदस्यीय छ, जसमा पदाधिकारी संख्या नै ६३ छ । राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिलकुमार झा वरिष्ठ नेतामा छन् । सर्वेन्द्रनाथ शुक्ला वरिष्ठ सहअध्यक्ष तोकिएका छन् । ६ जनालाई वरिष्ठ उपाध्यक्ष तोकिएको छ । वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाउनेमा जितेन्द्रप्रसाद सोनाल, उमाकान्त झा, लक्ष्मणलाल कर्ण, अकवाल अहमद साह, निर्जला राउत र प्रदीपनारायण यादव छन् ।

अध्यक्ष ठाकुरले १५ जनालाई उपाध्यक्षको जिम्मेवारी दिएका छन् । कार्यकारी मानिने महासचिव पदमै १६ जना छन् । आठजना सहमहासचिव, ११ जना सचिव, एकजना सहकोषाध्यक्ष र एकजनालाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । पुनगर्ठित समितिमा महासचिवको जिम्मेवारी पाएका डा. सुरेन्द्रकुमार झा स्वयं यो पुनर्गठन र पदाधिकारीको संख्याले आश्चर्यमा परेका छन् । ‘म स्वयं आश्चर्यमा छु,’ उनले भने, ‘संशोधित विधानअनुसार पार्टी अध्यक्षले यस्तो निर्णय गर्नुभएको हो । यो तदर्थ समिति नै हो । यसमा अस्वाभाविक हिसाबले पदाधिकारी संख्या बढी भएको देखिन्छ । यद्यपि, पार्टीलाई महाधिवेशनमा लगेर यो गल्तीलाई सच्याउनेछौँ ।’

झाका अनुसार ६३ जना पदाधिकारी नै लोसपाको केन्द्रीय कार्यकारिणी समितिमा रहनेछन् । ‘लोसपाको विधानमा ६५ सदस्यीय कार्यकारिणी समिति रहने उल्लेख छ । अहिले ६३ जना राखियो । बाँकी दुई बिस्तारै मनोनीत हुन्छन्,’ झाले भने । त्यस्तै, विधानमा ४०१ सदस्यीय केन्द्रीय सदस्य रहने उल्लेख भए पनि अहिले ३११ मात्रै तोकिएको छ । बाँकी थपिँदै जाने झाले बताए ।

कुनै वेला मधेशमा राम्रो प्रभाव रहेको लोसपा गत निर्वाचनमा राष्ट्रिय दलसम्म बन्न सकेन । संघमा चार सिट, मधेश प्रदेशमा नौ र लुम्बिनी प्रदेशमा तीन सिट मात्रै जित्न सफल भयो । जसपाबाट अलग्गिएर लोसपा गठन भएको दुई वर्षसम्म पनि केन्द्रीय समितिलाई पूर्ण आकार दिन नसकेर आलोचित रहेको लोसपा पुनर्गठित समितिमा नातेदारलाई भागबन्डा र अस्वाभाविक संख्या राखेर झन् आलोचित बनेको छ ।

लोसपाको शीर्ष तहमा रहेका चार दलका नेताका कारण यस्तो अवस्था आएको लोसपाका एक नेताले बताए । ‘तत्कालीन राजपा रहँदा ठाकुरको तमलोपा, महतोको सद्भावना पार्टी, झाको नेपाल सद्भावना पार्टी र भण्डारीको रामसपा मिसिएको अवस्था थियो,’ ती नेताले भने, ‘जसपा हुँदै लोसपासम्म आइपुग्दा पनि पार्टीभित्र चार गुटको ह्याङओभर छ । सबैले आफ्ना नातेदार र नजिकका मान्छोलाई केन्द्रीय समितिमा ल्याउनुपर्ने दबाब दिँदा यो अस्वाभाविक आकार र प्रकृतिको समिति बन्यो । हामी ०८४ को चुनावमा केन्द्रित भएर अघि बढ्नुपर्ने अवस्थामा यसले पार्टी अवसानको गतितिर गइरहेको संकेत गरेको छ । यसरी अर्को चुनावमा एक सिट जित्न पनि कठिन हुने स्थिति आउन सक्छ । महन्थ ठाकुरजस्तो पुरानो र परिपक्व नेताको नेतृत्वबाट यस्तो अपेक्षा थिएन ।’