१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ९ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज ९ मंगलबार o८:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

धनगढीको मार्कीमा आशिष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ९ मंगलबार o८:२२:oo

साबिक उपविजेता धनगढी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि आफ्नो मार्की खेलाडीमा राष्ट्रिय फुटबल टोलीका अट्याकर आशिष चौधरीसँग सम्झौता गरेको छ । ‘गो ड्रिमर्स’को स्वामित्वमा रहेको धनगढीले पहिलो संस्करणका मार्की खेलाडी विशाल राईको महत्वपूर्ण भूमिकामा एनएसएलको उपविजेता बनेको थियो । धनगढी एफसीले विशालको अनुपस्थितिमा आशिषलाई मार्की खेलाडी बनाएको हो । 

२३ वर्षीय आशिषले सहिद स्मारक लिग ‘ए’ डिभिजनमा चर्च ब्वाइज युनाइटेडबाट खेलेका थिए । उनको टोली डेब्युमै सहिद स्मारक लिगको विजेता बनेको थियो । बंगलादेशविरुद्धको खेलमा नेपाली राष्ट्रिय टिमका लागि डेब्यु गरेका आशिषले ६ क्याप जितेका छन् । बैंगलोरमा गत जुनमा भएको साफ फुटबल प्रतियोगितामा पाकिस्तानविरुद्ध नेपालले १–० को जित हात पार्दा आशिषले नै नेपालको तर्फबाट विजयी गोल गरेका थिए । एनएसएलको पहिलो सहभागितामै मार्की खेलाडीमा अनुबन्ध भएपछि आशिषले खुसी व्यक्त गरेका छन् ।

 ‘पहिलो सिजन सबैको मिहिनेतले उपविजेता बनेका थियौँ । यस सिजनमा थप राम्रो नतिजा ल्याउने प्रयासमा छौँ । आफ्नो तर्फबाट सक्दो मिहिनेत गर्दै टोलीलाई एक स्थान माथि पुर्‍याउन भूमिका खेल्नेछु,’ आशिषले भने । धनगढीका अध्यक्ष सुवास शाहीले यस सिजन आशिष चौधरीलाई सम्झौता गर्दा एकदमै उत्साहित भएको प्रतिक्रिया दिए । ‘नेपाली फुटबलका प्रतिभावान् खेलाडीमध्येका एक आशिषको आगमनसँगै टोलीको ऊर्जा झनै बढेको महसुस भएको छ ।’