१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ९ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज ९ मंगलबार o७:५८:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

एमाले अध्यक्षले प्रधानमन्त्री प्रचण्डलाई दिए सुझाव–शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल नबनाउनुस्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ९ मंगलबार o७:५८:oo

एमाले अध्यक्ष केपी ओलीले शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल खेल्ने माध्यम नबनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सभालाई काठमाडौंस्थित भृकुटीमण्डपमा सम्बोधन गर्दै ओलीले त्यस्तो सुझाव दिएका हुन् । 

‘शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल नबनाउनुस्, प्रधानमन्त्रीजी । पीडकलाई थप पीडा दिएर शान्ति प्रक्रिया टुंगिँदैन, घाउमा मलमपट्टी लगाएर, क्षतिपूर्ति दिएर टुंगिने हो, आफ्नालाई काखा, अरूलाई पाखा गरेर चल्दैन,’ ओलीले प्रश्न गरे, ‘यो दसैँमा तपाईंका कार्यकर्तालाई मात्र पैसा बाँड्नुहुन्छ कि, पीडितहरूले पनि सारी लाउनुपर्छ कि पर्दैन ?’ सरकारमा बसेर संक्रमणकालीन न्याय टुंग्याउन सबै पीडितले समान रूपमा न्याय पाउने गरी कुनै काम नगर्ने, तर अन्तर्राष्ट्रिय मञ्चमा पुगेर सहयोग चाहियो भन्दै उनीहरूलाई गुर्हानुको कुनै अर्थ नभएको ओलीको टिप्पणी थियो । 

‘अहिले शान्ति प्रक्रियाको कुरा चलेको छ, अमेरिकाको महासभामा पुगेर प्रधानमन्त्रीले शान्ति प्रक्रिया सफल पारिदिनुस् भन्नुभएछ, ठीक छ तर यहाँ द्वन्द्वबाट पीडित, उहाँबाट पीडितहरूले न्याय पाउनुपर्छ कि पर्दैन ? उनीहरू (द्वन्द्वपीडित)लाई सहयोग माग्नुभएको छ कि छैन ? तिनीहरूसँग सहयोग नमाग्ने, अन्तर्राष्ट्रिय समुदायसँग मागेर के हुन्छ ?’ ओलीले भने, ‘आफ्ना कार्यकर्ताजतिलाई पैसा बाँडेर अरूलाईचाहिँ रुवाएर शान्ति प्रक्रिया टुंगिन्छ ?’ मानवताविरुद्धको जघन्य अपराधमा कारबाहीका लागि प्रधानमन्त्री प्रचण्ड तयार भएको अवस्थामा मात्र शान्ति प्रक्रिया टुंगिने उनको भनाइ थियो ।

माओवादी लडाकुबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारीलाई दुई–दुईपटक संविधान र कानुनविपरीत सेनालाई दबाब दिएर म्याद थप गराएकोमा पनि ओलीले गम्भीर आपत्ति जनाए । सेनाजस्तो उच्च गरिमामय संस्थालाई संविधान र कानुनविपरीत काम गर्न दिनेजस्तो गलत काम गरेको भन्दै ओलीले तत्काल सच्याउन चेतावनीसमेत दिए । उनले सरकारीनिवास बालुवाटारमा राष्ट्रसेवक सुरक्षाकर्मीलाई ज्वाइँलाई गेटबाट भित्र पस्न नदिएको नाममा दुई तह पद घटुवा गरेर प्रधानमन्त्रीले नेपाल देश, सुरक्षाकर्मी र कर्मचारीलाई निजी बपौती ठानेर व्यवहार गरेको भन्दै उनले गम्भीर आपत्तिसमेत जनाए । 

कांग्रेस प्रचण्डको पछि लुरुलुरु हिँडेको छ
ओलीले देश आर्थिक, सांस्कृतिकलगायतका सबै क्षेत्रमा अस्तव्यस्त बन्दै गए पनि बिपीको विचार समाप्त पारेर कांग्रेस प्रचण्डको पछि लुरुलुरु कुद्ने र प्रचण्डपथको जयजयकार गर्ने पार्टीमा रुपान्तरित भइसकेको टिप्पणी पनि गरे । ‘एमाले मात्र विकास र समृद्धिको उद्देश्य राखेर हिँड्ने पार्टी हो, यसो भन्दा अब कांग्रेसलाई रिस उठ्ला, किन रिसाउनुहुन्छ तपाईं कांग्रेसहरू ? प्रचण्डको पछाडि लुरुलुरु हिँड्नुभएकै छ त,’ ओलीले कांग्रेसको पछिल्ला भूमिकाप्रति टिप्पणी गर्दै भने, ‘कांग्रेस त हेर्दाहेर्दै कस्तो पार्टी बन्यो, एक जमानामा बिपीले नेतृत्व गरेको पार्टी, त्यतिवेला प्रजातन्त्र त भन्थ्यो, तर आजकाल प्रचण्डपथ भन्न थालेको छ, कठैबरी माया लाग्छ, कांग्रेसको यस्तो हविगत देख्दा ।’

०८४ मा बहुमत ल्याउँछौँ
अध्यक्ष ओलीले प्रतिनिधिसभाको आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने बताए । एमाले मरेको बिरालो नभएर जिउँदो बाघ भएकाले ०८४ को आमनिर्वाचनमा अहिलेको गठबन्धनमा अरू थपिएर लड्न आए पनि आफ्नो पार्टीले एकल बहुमत ल्याउने ओलीको भनाइ थियो । ओलीले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति नै गठन नगरी अहिले सरकारले गुपचुप बनाउने कोसिस गरेको, छानबिनका लागि कानुनी अधिकारसमेत दिन नचाहेको भन्दै गम्भीर आपत्ति पनि जनाए । 

पूर्वराजाको गतिविधि अनौठो सपनाजस्तो
ओलीले लोकतन्त्रविरुद्ध पूर्वराजा ज्ञानेन्द्रले गतिविधि गरेर उपलब्धि उल्ट्याउने अनौठो सपना देखेको टिप्पणी गर्दै कटाक्ष गरे । ‘कोहीकोहीका अनौठा सपना देखिए । हिजो भक्तपुरमा पनि एउटा राम्रो नाटक मञ्चन गरेको देखियो, महिनौँ लगाएर तीन–चार हजार मान्छे भेला गरेर ओहो धुमधाम भक्तपुरका जनताले पनि रमाइलै मानेछन्,’ ओलीले कटाक्ष गर्दै भने, ‘विस्केट हुन्थ्यो, के हुन्थ्यो, यो कुन जात्रा पो आयो भनेर वरिपरि बसेर हेरे, तिनको संख्या पनि गनेर खैर...यतापट्टि पनि कमेन्ट आवश्यक छैन ।’

प्यालन बनाएर चुनाव लडे खारेज गर्ने चेतावनी
अध्यक्ष ओलीले अधिवेशनमा सकभर सर्वसम्मत नेतृत्व टुंग्याउन निर्देशन दिए । सर्वसम्मत हुन नसके लोकतान्त्रिक प्रतिस्पर्धाका नाममा प्यानल उम्मेदवार बनाएर चुनाव लडे भने खारेज गर्ने चेतावनी दिँदै उनले प्रतिस्पर्धीहरूलाई सचेतसमेत गराए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज गुरु बराललगायतले सम्बोधन गरेका थिए । उद्घाटनअघि रत्नपार्कबाट झाँकीसहित सुरु भएको एमालेको ठूलो जुलुस भृकुटीमण्डप बगैँचा चौरमा पुगेर सभामा परिणत भएको थियो । बागमती अधिवेशनको बन्द सत्र मंगलबार बिहानबाट प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ ।