१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
चन्देश्वर सदा (मुसहर)
२०८० असोज ९ मंगलबार ०७:२३:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

किन आवश्यक छ संविधान संशोधन या पुनर्लेखन ?

धर्मनिरपेक्षता, संघीय समाजवाद र पहिचानसहितको संघीयताको रक्षार्थ तथा जातीय, राष्ट्रिय विभेदविरुद्ध संविधान संशोधन नगरी नहुने अवस्था छ

Read Time : > 4 मिनेट
चन्देश्वर सदा (मुसहर)
२०८० असोज ९ मंगलबार ०७:२३:००

राष्ट्रिय स्वाधीनता, शान्ति र अग्रगामी परिवर्तनको पक्षमा पटक–पटक परिवर्तनकारी आन्दोलन भए । जनक्रान्ति, जनआन्दोलन, जनयुद्ध, मधेश जनविद्रोह, आदिवासी जनजाति, खस, थारू, महिला, मुस्लिम, दलित, पिछडा वर्गलगायत उत्पीडित जनताले चलाएको जनसंघर्ष र आन्दोलनले विभिन्न माग, मुद्दा र राजनीतिक व्यवस्था स्थापित गरे । जनताका तिनै त्याग, संघर्ष, बलिदान र उत्सर्गको उच्च सम्मान गर्दै जनताद्वारा चुनिएका जनप्रतिनिधिमार्फत संविधानसभाबाट नयाँ संविधान लेखियो ।

संविधानमा जनताको सार्वभौमिकता, संघीय शासन प्रणाली, बहुलतायुक्त खुला समाज, नागरिक स्वतन्त्रता, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्णसमावेशी लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, समानुपातिक समावेशिता, संवैधानिक सर्वोच्चतालगायत मुद्दा समेटिए पनि । त्यसैगरी, कानुनी राज्य, मौलिक हक एवम् मानवअधिकार, नागरिक र राजनीतिक अधिकार, आर्थिक सामाजिक र सांस्कृतिक अधिकार, अल्पसंख्यक अधिकार, महिला पुरुषबीच समानता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, प्रेस स्वतन्त्रताजस्ता विषय पनि संविधानले प्रत्याभूत ग¥यो । तर, जनताको आत्मनिर्णयको अधिकार, स्वायत्तता र स्वशासन, समाजिक सुरक्षा, सामाजिक तथा आर्थिक न्यायको सिद्धान्त, समाजवादी लोकतन्त्रलगायत मूल्य–मान्यतालाई ठोस रूपमा कार्यान्वयनको बाटामा लान भने अझै बाँकी नै छ ।

मानवद्वारा सिर्जित जात–व्यवस्था : आजभोलि जात र धर्मका आडमा समाज र राज्यको अमनचैन एवं सामाजिक भाइचारा खलबल्याउने काम भइरहेको छ । यस पृथ्वीको उत्पत्तिसँगै पृथ्वीमा रहेका लाखौँ जीवजन्तुको पनि उत्पत्ति विभिन्न किसिमका वातावरणीय प्रभाव तथा एक–आपसको समागमका आधारमा भएको विज्ञानले अकाट्य रूपमा पुष्टि गरिसकेको छ । संसारमा जीवहरूको उत्पत्ति र तिनको विकासका क्रममा मानवको उत्पत्ति भएको हो । मानिसको जन्मको विधि संसारभरि एउटै प्रक्रियाबाट भएको हुन्छ । तैपनि, मनुवादको व्याख्यामा कोही अछुत र कोही छुत हुन जान्छन् । यस्ता विभेदलाई विज्ञानको विपरीत व्यवस्था मान्ने गरिन्छ । विज्ञानको आधारमा मान्छेको जात हुँदैन भन्ने तथ्यको पुष्टि निम्न तथ्यहरूबाट गर्न सकिन्छ :


संविधानका विभिन्न धारा, उपधारा र त्यसका व्यवस्थामाथि आधाभन्दा बढी जनसंख्याले अपनत्व लिन नसकिरहेको अवस्थामा ०७२ को अधुरो संविधान संशोधन या पुनर्लेखन आजको टड्कारो आवश्यकता बनेको छ
 


–  जनावरको आवाजबाट कुन जनावर बोल्दै छ भन्ने थाहा पाउन सकिन्छ । तर, मानिसको आवाजबाट उसको जात पत्ता लगाउन असम्भव छ । त्यसैले, जनावरको जात हुन्छ तर मानिसको हुँंदैन ।


–  रूप हेरेर त्यो कुन–कुन जनावर हो भन्ने थाहा हुन्छ तर मानिसको पूर्ण परिचय थाहा नपाउन्जेल उसलाई हेरेर जात छुट्याउन सकिन्न । त्यसकारण मानिसको जात हुंँदैन ।


–   जनावरको खुट्टाको चिह्नबाट उसको जात छुट्याउन सकिन्छ तर मानिसको पैताला अथवा खुट्टाबाट कुन जातको मानिस हो भनी छुट्याउन सकिन्न । त्यसैले, मानिसको जात हुँदैन ।


–  जनावरको रौँबाट ऊ कुन जातको हो भनी छुट्याउन सकिन्छ तर मानिसको रौँ या कपाल हेरेर उसको जात छुट्याउन सकिँदैन ।


–     जनावरको मल (दिसा) बाट पनि कुन त्यो जनावर हो भनी स्पष्ट गर्न सकिन्छ, तर त्यसरी मानिसको जात छुट्याउन सकिँदैन । त्यसकारणले पनि मानिसको जात हुँदैन ।


–     जनावरको दाँतबाट त्यो कुन जनावर हो भनी छुट्याउन सकिन्छ तर मानिसको दाँतबाट कुन जातको हो भनी पत्ता लगाउन सकिन्न । त्यसकारण मानिसको जात हुँदैन ।


–     जनावरको स्वभावबाट पनि ऊ कुन जनावर हो भनि छुट्याउन सकिन्छ । तर, मानिसको स्वभावबाट कुन जातको हो भनी छुट्याउन सकिन्न ।


–     अफ्रिकी देशकी केटी र नेपाल देशको केटाबीच विवाह भए सन्तान जन्मनेमा शंका रहँदैन, तर गाई र भैँसीको समागमबाट अर्को नौलो सन्तान उत्पन्न हुँदैन ।


यी माथिका तथ्यबाट सिद्ध हुन्छ, मान्छेमा जात हुँदैन र जनावरमा चाहिँ जात हुन्छ भन्ने तथ्य पुष्टि हुन्छ । तर विडम्बना, मनुवादीहरूको कुविचार, कुसंस्कार, कुबुद्धि, अमानवीय सोच तथा विचारहीन सोचको प्रतिफलबाट आजसम्म यस समाजमा मानव–मानवबीच विभेद हुँदै आएको छ । छुवाछुत तथा जातीय विभेदजस्ता प्रथाका सन्दर्भमा वैदिक वर्ण व्यवस्थाले निर्माण गरेको तथा मनुवादीहरूले आ–आफ्ना स्मृतिमा छुवाछुत तथा मानवको वर्गीकरण गरी जन्मका आधारमा राज्यको सुखसुविधाबाट वञ्चित गर्ने विधान नै निर्माण गरे । यसैका आधारमा त्यसपछि टाठाबाठाले मानव–मानवबीच असमानताको खाडल बढाउने भयावह नियम–कानुन निर्माण गरे । 


पछिलो समयसम्म भारत र नेपालमा अप्रत्यक्ष रूपमा मनुकै विधान र असमानतामा आधारित संविधानद्वारा नै भारत र नेपालका मूल निवासीमाथि शासन गरिँदै आएको छ । विश्व मानवशास्त्रका ज्ञाता बाबासाहेब डा. भीमराव अम्बेडकरले असमानतामा आधारित मनुको संविधानलाई चुनौती दिँदै मनुको षड्यन्त्रविरुद्ध पहिलोपटक कलम चलाए । उनले करोडौँ ‘अछुत’ (मूलवासी) लाई मनुवादी व्यवस्थाविरुद्ध सचेत गराए ।

उनले यस सन्दर्भमा कैयौँ पुस्तकको रचना गरे । संसारमा परापूर्वकालमा मानव–मानवबीच विभेद थिएन र पछि आएर मनुवादीहरूको जालझेलले मानवलाई कसरी अछुत बनाइयो र कस्ता–कस्ता समुदायलाई अछुत बनाइयो, सोको स्पष्ट प्रमाणसाथ डा. अम्बेडकरले आफ्ना पुस्तकमा प्रस्ट पारेका छन् । तिनै पुस्तकको अध्ययनबाट पक्कै पनि सचेत नागरिकले छुत या अछुतको पछाडि आजसम्म लुकेका सही तथ्यलाई बुझ्न सम्भव भएको छ । संसारका सम्पूर्ण मानव एकसमान हुन्, कोही पनि साना या ठूला अर्थात् छुत र अछुत हुँदैनन् भन्ने सन्देश ती पुस्तकबाट प्रस्ट हुन आउँछ । 


आजको २१औँ शताब्दीमा पनि विभिन्न विभेदमा परी जीवनयापन गरिरहेका मानवका लागि ठोस लोकतान्त्रिक समाजवाद कहिले आउला ? यसतर्फ राजनीतिक दलहरूको ध्यान कहिले जाला ? पीडित समाजले कहिलेसम्म यस्ता कुप्रथाको चपेटामा परिरहनुपर्ने हो ? मानव मनोविज्ञानको प्रभाव मनुवादीको मस्तिष्कमा कहिले प्रवेश गर्छ ? पानी चल्नेकी आमा र पानी नचल्नेकी आमा दुवैको प्रसव पीडा एकै प्रकारको हुन्छ ।

नौ महिनामा दुवैले पेटमा पालनपोषण गरी बच्चाको जन्म दिन्छन् । एउटा जन्मँदै पानी चल्ने, अर्काे पानी नचल्ने ! यो कस्तो अमानवीय कुप्रथा हो ? भाषणमा अथवा बौद्धिक वर्गसमेतले भन्ने गरेको पाइन्छ– छुवाछुत बिस्तार–बिस्तारै समाप्त हुन्छ । के ‘पानी चल्ने’ बौद्धिक वर्गले ‘अछुत’ बनेर सात दिन बिताउन सक्छ ? कदापि सक्दैन । जब सात दिनका लागि ‘अछुत’ बन्न कठिन हुन्छ या कसैले ग्लानि महसुस गर्छ भन्ने जुन समुदाय पुस्ता दरपुस्तादेखि नै ‘अछुत’ भनेर दुत्कारिँदै आएको छ, उसका मुटुमा कस्तो ज्वाला उठ्दो हो, स्वतः अनुमान गर्न सकिने विषय हो । विभेदपूर्ण जीवन जिउँदै आइरहेका समुदायका लागि सम्मानपूर्वक बाँच्ने अवस्था समाज स्थापित भएन भने भविष्यमा हाम्रो समाज नै दुर्घटित हुन पनि बेर लाग्दैन ।

संविधानका विभिन्न धारा, उपधारा र त्यसका व्यवस्थामाथि आधाभन्दा बढी जनसंख्याले अपनत्व लिन नसकिरहेको अवस्थामा ०७२ को अधुरो संविधान संशोधन या पुनर्लेखन आजको टड्कारो आवश्यकता बनेको छ । त्यसैले, आज सच्चा मानवतावादी, धर्मनिरपेक्षतावादी, संघीय समाजवाद पक्षधर पार्टी कुन हो ? पहिचानसहितको संघीयताको माग कुन पार्टीको छ ? जात र जातीय, राष्ट्रिय विभेदविरुद्ध कुन पार्टीले बुलन्द आवाज उठाउँदै आइरहेको छ ? समानुपातिक समावेशिताको अवधारणालाई कुन पार्टीले निर्धक्क रूपमा अगाडि बढाइरहेको छ ? कुन पार्टीले जनसंख्याका आधारमा प्रतिनिधिसभा र प्रदेश सभाको सदस्य संख्या तोक्न आवाज उठाउँदै छ ? कुन पार्टी जनसंख्याका आधारमा प्रशासनिक संरचना कायम गर्न अडिग रहँदै आएको छ ?

०६८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्याको ५३ प्रतिशत जनसंख्या मधेशमा बसोवास गर्दै आइरहेको छ । त्यसैले, तपसिलका प्रत्येक सिट–क्षेत्रमा मधेशबाट ५३ प्रतिशत सहभागिताको प्रावधानका लागि कुन पार्टीले स्पष्ट धारणासाथ जोडदार रूपमा उठाउँदै आइरहेको छ ?

तपसिल : कुल सरकार–७६१, कुल वडा– ६,७४३, प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन क्षेत्र– १६५, प्रतिनिधिसभा समानुपातिक– ११०, प्रदेश सभा प्रत्यक्ष निर्वाचन क्षेत्र– ३३०, प्रदेश सभा समानुपातिक– २२० र राष्ट्रिय सभा– ५९ यस्ता विभिन्न पक्षको वकालत कुन पार्टी र नेताले गर्दै आइरहेका छन्, स्पष्टसँग जानी–बुझी उपयुक्त पार्टीका उपयुक्त उम्मेदवारलाई अमूल्य मत दिनु आजको आवश्यकता हो । आफ्नो मतको मूल्यलाई मनन नगरुन्जेल अमूल्य परिवर्तन तथा नेपालमा गणतन्त्रको उत्थान असम्भव छ ।
(लेखक नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष हुन्)