१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Friday, 09 May, 2025
२o८o असोज ८ सोमबार ११:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनियमितताबारे आवाज उठाउँदा गल्छीमा स्थानीयमाथि कुटपिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार ११:१२:oo

सामुदायिक विद्युतीकरणमा भएको चरम अनियमितताबारे न्यायिक समितिमा छलफल गरेर निस्किएका गल्छी गाउँपालिका– ५ सागिनेका सुजन थिङमाथि कुटपिट भएको छ।

उपभोक्ताहरूसँग रकम उठाएर काम नगरेको आरोप खेपिरहेका श्री रणकालिका सामाजिक सेवा समितिका तत्कालीन अध्यक्ष कुमार भनिने वेदबहादुर भण्डारी पक्षका युवाले उनलाई कुटपिट गरेका हुन्।

एक साताभित्र सबै कागजातसहित पुनः छलफलमा बस्ने सहमतिपछि छलफलबाट निस्किए पनि उनीहरूले गाउँपालिका कार्यालयकै अगाडि कुटपिट गरेको पीडित थिङले बताए। 

छलफलपछि सबैजना आ–आफ्नो बाटो लागिसकेका थिए, गाउँलेहरू फर्किसकेपछि एक्लै भएको वेला ‘तँ बढी बोलिस् भन्दै कुटपिट गरे,’ पीडित थिङले भने।

कुटपिटबाट थिङको टाउको, अनुहार र शरीरका विभिन्न भागमा नीलडाम छन्। कुटपिटमा संलग्नमध्ये हेम रिजाल र मधुकर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।

रकम उठाएर गाउँलेसँग सम्पर्कविहीन रहेका वेदबहादुर भण्डारीले अनियमितताबारे समाचार संप्रेषण गर्ने पत्रकार र कुरा उठाउने पीडितहरूमाथि समेत काठमाडौं जिल्ला अदालतमा मानहानिको मुद्दा दर्ता गराएको बताइएको छ। 

आरोपित भण्डारीले पीडित थिङसहित अनियमितताबारे आवाज उठाउने स्थानीयमाथि पनि मुद्दा दर्ता गराएका छन्। स्थानीयले भने आफूलाई बचाउ गर्न अनेकन जालझेल रच्ने क्रममा स्थानीय र पत्रकारमाथि नै मुद्दा दर्ता गराएको भन्दै मुद्दा फिर्ता लिन र उठाएको रकमको सुनिश्चितता गर्न माग गरेका छन्।

भण्डारीले गल्छी गाउँपालिका वडा नम्बर ४, ५ र ६ सामुदायिक विद्युतीकरण गरिएको क्षेत्रमा मिटर खरिद गर्न रकम उठाएर हिनामिना गरेको आरोप छ। 

स्थानीयहरूका अनुसार भण्डारीले ९० घरको मिटरका लागि एक हजार दुई सयका दरले, ११ घरका लागि दुई हजारका दरले र बाँकी चार सय घरको दुई हजार दुई सयका दरले मिटर उपलब्ध गराउन कर्मचारीमार्फत ०७१ सालमा पैसा उठाएका थिए।