मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १५ शुक्रबार
  • Friday, 01 December, 2023
२०८० असोज ७ आइतबार १६:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भन्सार छली ल्याइएको मदिरासहित पाँच भारतीय पक्राउ

Read Time : < 1 मिनेट
२०८० असोज ७ आइतबार १६:१८:००

मकवानपुर प्रहरीले आइतबार भन्सार छली ल्याइएको विभिन्न ब्रान्डका आठ सय ५५ बोतल मदिरा, ओसार पसारमा प्रयोग भएको दुईवटा भारतीय कार र पाँचजना भारतीय नागरिकलाई सार्वजनिक गरेको छ।

प्रहरीले असोज ६ गते शनिबार र ७ गते आइतबार बरामद गरेको मदिरासहित कार र संलग्न व्यक्तिहरूलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा भारतको पश्चिम दिल्ली बस्ने २७ वर्षको बिक्की, २५ वर्षको राहुल, २८ वर्षको कुनाल, ३१ वर्षको नहिम र ३७ वर्षको राजु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए।

उनका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौँडा– १५ रातोमाटे चेकपोस्ट अगाडिबाट उक्त मदिरा र कारसहित पाँचजना भारतीयलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा सवारीसाधनहरू रोकी जाँच गर्ने क्रममा चितवनबाट आउँदै गरेको  डिएल २ सिएके १३९० र डिएल २ सिएके ७२७३ नम्बरको भारतीय कारबाट भारतको उत्तर प्रदेशबाट भन्सार छली ल्याइएको रोयल ग्रिन ह्विस्की तीन सय ७५ एमएलको सात सय १५ बोतल र एक सय ८० एमएलको एक सय ४० बोतल गरी आठ सय ५५ बोतल मदिरा बरामद गरेको प्रहरी प्रमुख रिजालले जानकारी दिए।

उक्त मदिरा भारतको बिहारतर्फ लैजाने क्रममा हेटौँडामा नियन्त्रणमा लिएको उनले बताए। भरतको बिहारमा मदिरा प्रयोगमा प्रतिबन्ध रहेकाले उनीहरूले नेपालको बाटो हुँदै तस्करी गरेको हुन सक्ने प्रहरी प्रमुख रिजालको भनाइ छ। 

नियन्त्रणमा लिएको मदिरासहित कार र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको प्रहरी प्रमुख रिजालले जानकारी दिए।