मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १५ शुक्रबार
  • Friday, 01 December, 2023
समाचार डिजिटल संस्करण

उच्चस्तरीय आयोग बनाउन सरकारले आवश्यक तयारी गरेन : एमाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ७ आइतबार १६:१४:००

नेकपा एमालेका सचेतक महेश बर्तौलाले ६१ केजी सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग बनाउन सरकारले आवश्यक तयारी नगरेको बताएका छन्।

सिआइबीको अनुसन्धानमा बाधा नहोस् भन्ने हेतुले आयोग गठनका लागि एक महिनाको समय राखे पनि सरकारले आवश्यक तयारी नगरेको उनको भनाइ छ। यद्यपि, सरकारले प्रक्रियालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफललाई जोडिरहेको भन्दै बर्तौलाले त्यसलाई भने पार्टीले सकारात्मक रूपमा लिएको बताए।

आइतबार गृह मन्त्रालयमा भएको छलफलपछि पत्रकारहरूसँग उनले भने, ‘सिआइबीको अनुसन्धानमा ‘डुब्लिकेसन’ नहोस्, सहयोग नै पुगोस् भन्नका लागि यो समय राखेको होइन र ? यो बीचमा सरकारका तर्फबाट तयारी भएन । आयोग बनेन । सम्झौता पूर्ण कार्यान्वयन गर्न सरकार तयार भएको देखिएन।’

असोज ५ गते आयोग निर्माण गरी सोही दिनदेखि काम गर्ने सहमति भएको पनि बर्तौलाले स्मरण गराए। ऐनअनुसार आयोगले अदालतसरहको काम गर्न सक्ने भएकाले काम, कर्तव्य अधिकार तोक्दा प्रस्ट ढंगले काम गर्न सक्ने आधार दिनुपर्नेमा उनको जोड थियो।

‘विगतका पनि केही आयोगको चर्चा चल्यो– आयोग बनेका थिए, काम केही गरेन। यो पनि त त्यस्तै हुने हो भन्ने चर्चा चलाइएकै छ। हामी त्यस्तो नहोस् भन्नका लागि के भन्दै छौँ भने– शक्तिशाली आयोग हो यो। अदालतसरहको काम गर्न सक्ने आयोग हो यो। ऐनले त्यो भन्छ भने काम, कर्तव्य अधिकार तोक्दा पनि प्रस्ट ढंगले काम गर्न सक्ने आधार दिऊँ,’ उनले भने।