Skip This
राहुघाट जलविद्युत् आयोजना : १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
रासस म्याग्दी
२o८१ जेठ १६ बुधबार १३:१२:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

राहुघाट जलविद्युत् आयोजना : १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति

Read Time : > 2 मिनेट
रासस, म्याग्दी
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार १३:१२:oo

नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको १४ वर्षमा ६० प्रतिशत काम सकिएको छ। भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारको संयुक्त लगानीमा ०६६ मा सो आयोजना निर्माण सुरु भएको थियो।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा सो आयोजना निर्माण अघि बढाइएको थियो।

पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट ०७० मा निर्माण सकिनुपर्ने थियो। ०७४ मंसिरमा सम्पन्न गर्नेगरी रु. ६ अर्बमा ठेक्का सम्झौता गरेको भारतको सिभिल ठेकेदार जयप्रकाश एसाेसियट् (जेपी)ले पनि निर्धारित समयभित्र आयोजना निर्माण सम्पन्न गर्न सकेको छैन।

आयोजनाका व्यवस्थापक राज विष्टले हालसम्म समग्रमा ६० प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति भएको बताए। ‘४५ महिनाको ठेक्का सम्झौताको म्याद भएको आयोजना सन् २०२३ जनवरीदेखि सञ्चालनमा ल्याउने लक्ष्य थियो,’ उनले भने, ‘कोरोना महामारी र विपतका कारण ठेकेदार कम्पनीले लक्ष्यअनुसार काम गर्न नसकेका कारण सन् २०२४ को अक्टोबर १७ सम्म ठेक्का सम्झौताको म्याद थप भएको छ।’

पुरानो ठेकेदार आइभिआरसिएलले आठ वर्षमा १० प्रतिशत काम गरेको थियो। ०७५ असारमा पहुँचमार्ग र ०७६ असारमा सुरुङ खन्न सुरु गरेको जेपी कम्पनीले हालसम्म पिप्लेमा ६१ मिटर गहिरो सर्चसाफ्ट, तीन सय २९ मिटर बटम प्रेसर साफ्ट, ६ सय ५४ मिटर लामो चारवटै अडित (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) र एक सय ९६ मिटर ठाडो सुरुङ निर्माण गरिसकेको छ। अडिट एकबाट बाँधतर्फ जाने ७५ मिटर लामो सुरुङ जोडिएको छ।

६ किलोमिटर दुई सय ७० मिटर लामो सुरुङमध्ये हालसम्म पाँच हजार एक सय ६२ मिटर निर्माण सकिएको छ । एक हजार एक सय आठ मिटर सुरुङ खन्न बाँकी छ । बाँध निर्माण स्थलमा अडिट एक, अँधेरीखोलामा अडिट दुई, पिप्लेमा अडिट तीन र तिल्केनी चौरमा अडिट नम्बर ४ खन्ने कार्य सम्पन्न गरी ती अडिटहरुबाट सुरुङ निर्माणलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ।

रघुगंगा गाउँपालिका– ४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध निर्माणको काम ६० प्रतिशत सकिएको छ। तिल्केनीचौरमा विद्युतगृहको संरचना निर्माण तीव्रताका साथ भइरहेको छ।

घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एकवटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युतगृह र बाँधलाई सीधा सडकले जोडिएको छ। यसअघिका दुई वर्ष बुग्लको पहिरोका कारण बर्खायामको चार महिना बाँध निर्माणको काम रोकिएको थियो। यस वर्ष बर्खायाममा पनि बाँध, सुरुङ र विद्युतगृह निर्माणले निरन्तरता पाएको आयोजनाका व्यवस्थापक गणेश केसीले बताए।

प्राकृतिक विपत्, कोरोना भाइरसको महामारी र कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्री उत्खनन गर्न नपाउनुलाई ठेकेदारले ढिलाइको कारण भएको जनाएको  छ। ०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले विद्युतगृहका उपकरण आयात गर्न थालेको छ।

भेलसँगको ठेक्का सम्झौताको म्याद सन् २०२४ नोभेम्बर महिनासम्म थपिएको छ। उक्त आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक रु. २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो।

राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो)को चार टावर तयार भएको छ।

केही दिनअघि आयोजना निरीक्षण गरेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीसँग आयोजनाका अधिकारीहरूले नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्माण कार्यमा असर पर्न थालेको जानकारी गराएका थिए। सर्वोच्च अदालतले ०७८ असारमा कालीगण्डकी नदीबाट ढुंगा, गिटी र बालुवा उत्खनन तथा निकासी गर्न रोक लगाएको थियो।

ad
ad
ad
ad