१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ७ आइतबार
  • Friday, 09 May, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८o असोज ७ आइतबार १२:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

१८ महिनामा सक्नुपर्ने जलवीरे-तेम्बाथाङ सडक पाँच वर्षसम्म पनि अधुरै 

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८o असोज ७ आइतबार १२:५o:oo

पूर्वसभामुख अग्निप्रसाद सापकोटा र वर्तमान संघीय सांसद माधव सापकोटाको घर जाने बाटो हो– बलेफी–जलवीरे–तेम्बाथाङ सडक। वर्तमान स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको घर पनि यही क्षेत्रमा पर्छ।

बलेफीदेखि जुगल गाउँपालिका- ५ सम्म २० किलोमिटर सडक निर्माणको चरणमा छ। बलेफीदेखि जलवीरेसम्म १० किलोमिटर खण्ड सडक डिभिजन कार्यालय चरिकोटबाट ठेक्का भएर तीनवटा निर्माण कम्पनीले छुट्टाछुट्टै तीन प्याकेजमा गरिरहेका छन्। 

जलवीरेदेखि जुगल– ५ लप्सेसम्म १०.६३७ किलोमिटर सडक पूर्वाधार विकास कार्यालय चौताराले ०७५ चैतमा ठेक्का लगाएको हो। १८ महिनामा सक्नुपर्ने काम पाँच वर्षमा पनि अधुरो छ। सडक चौडा पार्ने, वाल लगाउने र ढलान गर्ने काम सकिए पनि कालोपत्रे हुन सकेको छैन। 

१५ चैत ०७५ बाट कन्टेक जेभीले जलवीरे–तेम्बाथाङ १० किलोमिटर सडकखण्ड कालोपत्रेको काम सुरु गरेको थियो । ४५ करोडको टेन्डर आह्वान भए पनि २६ करोड ५७ लाखमा कन्टेक जेभीले ठेक्का सम्झौता गरेको हो। 
पाँच वर्ष लगाएर बनाएको सडक अझै सफा भएको छैन। 

ठाउँ-ठाउँमा पहिराे गएको छ। धेरै स्थानमा नाली भत्केर बर्खाको भलले सडक बगाएको छ। तोकिएको समयमा काम पूरा नगरेको निर्माण कम्पनीलाई कारबाही गर्नुको साटो पूर्वाधार विकास कार्यालयले म्याद थपेकोथप्यै छ। 

‘भौगोलिक कठिनाइले समयमा कालोपत्रे गर्न नसकेपछि हामीले आउँदो पुससम्मलाई अन्तिम म्याद तोकेका छौँ,’ पूर्वाधार विकास कार्यालय चौताराका प्रमुख वरिष्ठ इन्जिनियर राजु श्रेष्ठले भने। 

बर्खाको भलबाढी र पहिरोले पुरेको सडक पुनः सुधार गरेर पुससम्म कालोपत्रे सक्ने योजना रहेको उनले बताए। सडक जथाभावी खनेर लापरबाही गर्दा जलवीरेका स्थानीय गोकर्णदास श्रेष्ठले लगाएको गोलभेँडा खेतीलाई पहिरोले पुरेको छ। 

करिब दुई लाखबराबरको गोलभेँडा र तरकारी क्षति भएको श्रेष्ठले बताए। सडकको दूरावस्था अनुगमन गर्न संघीय सांसद सापकोटा पटकपटक यस क्षेत्रमा आएका छन्। यद्यपि, निर्माणको प्रगति विवरण यस्तो छ। 

सभामुख, मन्त्री र सांसदले पटकपटक अनुगमन गरेको सडक त समयमा बन्दैन भने अन्य ठाउँको अवस्था कस्तो होला ? यता बलेफीदेखि जलवीरे सडकखण्डको अवस्था पनि उस्तै छ। सडक डिभिजन चरिकोटले लगाएको ठेक्काको काम धमाधम भए पनि समयमा नसकिँदा हिलाम्मे सडकले स्थानीय हैरानीमा परेका छन्। 

बलेफीदेखि टुनेबोटेसम्म पाँच किलोमिटर सडकको हिलाम्मे अवस्थाले सवारीसाधन आवतजावतमा बाधा उत्पन्न भएको छ। झरी पर्दा यो सडकमा जीवनलाई हत्केलामा राखेर यात्रा गर्नुपर्ने अवस्था छ। टुनेबोटेदेखि जलवीरे बोक्सेखोलासम्मको पाँच किलोमिटर सडक सोवर्ण निर्माण कम्पनीले हालसालै ठेक्का सम्झौता गरेको छ। 

काम सुरु गर्न निर्माण सामग्री र जनशक्ति तयारी अवस्थामा रहे पनि स्थानीयको बालीनाली नपाकेसम्म राम्ररी काम गर्न सक्ने अवस्था छैन। सडकको दायाँबायाँ स्थानीयले लगाएको धानबाली भएकाले भनेजसरी काम गर्न नसकेको सोवर्ण निर्माण सेवाका प्रमुख अर्जुन थापाले बताए।