
अर्को वर्ष श्रीलंकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘डी’मा परेको छ । २०२४ को जनवरीमा हुने यू–१९ विश्वकपमा नेपालले न्युजिल्यान्ड र पाकिस्तानजस्ता टेस्ट राष्ट्रविरुद्ध खेल्नेछ । नेपालको समूहमा अफगानिस्तानसमेत रहेको छ । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई सात रनले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । नेपालका लागि फाइनलमा स्पिनर दीपेश कँडेलले ह्याट्रिक लिएका थिए । सन् २०१६ पछि नेपाललाई विश्वकपमा स्थान रक्षा गराउन कँडेलको भूमिका महत्वपूर्ण रह्यो ।
समूह ‘ए’मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ‘बी’मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड छन् । समूह ‘सी’मा अस्ट्रेलियाले आयोजक श्रीलंका, जिम्बाबे र नामिबियाको सामना गर्नेछ । नेपालले १३ जनवरीमा न्युजिल्यान्डसँग खेल्नेछ । नेपालले १७ जनवरीमा पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । २० जनवरीमा नेपालको भेट अफगानिस्तानसँग हुनेछ ।
हरेक समूहका शीर्ष तीन टोली अर्को चरणमा पुग्नेछन् । अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नेछन् । शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । हरेक समूहका पुछारका टोलीले १२ देखि १६ स्थानका लागि प्ले अफ खेल्नुपर्ने हुन्छ । क्षेत्रिय छनोटबाट नेपाल, अमेरिका, स्कटल्यान्ड, न्युजिल्यान्ड र नामिबियाले विश्वकपमा स्थान बनाएका थिए ।