१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आन्दोलनमा उत्रिएका पहिचान पक्षधरमाथि दमन गर्ने डिएसपीविरुद्ध कारबाहीको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४६:oo

कोशी प्रदेशको नाममा असहमति राखेर आन्दोलनमा उत्रिएका वेला प्रहरीले दमन गरेको भन्दै प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति खोटाङले भर्त्सना गरेको छ। 

प्रदेशका खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोलाई बिहीबार दिक्तेलमा कालो झन्डा देखाएर विरोध गर्ने क्रममा आन्दोलनकारीमाथि प्रहरीले धरपकड गरी निर्घात कुटपिट गरेको भन्दै संघर्ष समितिले विज्ञप्तिमार्फत घोर भर्त्सन भएको जनाएको हो। 

प्रदेश नम्बर १ पुनः नामा‌ंकन सयुक्त संघर्ष समितिका संयोजक युगसन किराँत र युवा परिचालन समितिका संयोजक निर्मल राईले विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनार र जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम खड्का सम्मिलित प्रहरीले शान्तिपूर्ण आन्दोलनमा गएका आन्दोलनकारीमाथि बल प्रयोग गरेको उल्लेख छ। 

संयुक्त संघर्ष समितिले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका आन्दोलनकारीलाई सार्वजनिक स्थलमा जबर्जस्त बल प्रयोग गरी कुटपिट गर्ने डिएसपी खड्का सम्मिलित प्रहरीलाई छानबिन गरी कारबाही गर्न मागसमेत गरेको छ। 

‘शान्तिपूर्ण आन्दोलन गर्न पाउने नागरिकको अधिकारमाथि जबर्जस्त बल प्रयोग गरी आन्दोलनकारीलाई सार्वजनिक स्थलमा निर्धात कुटपिट गर्ने डिएसपी सम्मिलित प्रहरी जवानमाथि यथाशीघ्र छानबिन गरी कारबाहीका लागि सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो मागलाई बेवास्ता गरिए जस्तोसुकै आन्दोलनको तयारी गर्न बाध्य हुनेछौँ, त्यसबाट उत्पन्न हुने सबै परिस्थितिको जिम्मेवार स्वयं प्रहरी र प्रमुख जिल्ला अधिकारी हुने सार्वजानिक गर्न चाहन्छौँ।’ 

कोशी प्रदेश नाममा हस्ताक्षर गर्ने ८२ सांसदलाई प्रदेशभरि निषेध गर्ने कार्यक्रम रहेको अवस्थामा आन्दोलनलाई बेवास्ता गर्दै खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री मेन्याङ्बो जिल्ला भित्रिएकाले कालो झन्डा देखाइएको संयोजक किराँतले बताएका छन्। 

विज्ञप्तिमा पहिचानको आधारमा प्रदेशको पुनः नामांकन नभएसम्म कोशीको पक्षमा हस्ताक्षर गर्ने सांसदलाई जिल्ला प्रवेश नगर्न आग्रहसमेत गरिएको छ। 

संघर्ष समितिको आग्रहलाई बेवास्ता गरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जवाफदेही आफूहरू नहुने सयुक्त संघर्ष समितिले चेतावनीसमेत दिएको छ। संयुक्त संघर्ष समितिले प्रहरीको कुटपिटबाट घाइते बनेका पहिचान पक्षधर युवाको स्वास्थ्यलाभको कामना गरेको छ। 

मन्त्री मेन्याङ्बो जिल्ला अस्पताल खोटाङ निरीक्षण गरेर बाहिरिने क्रममा अस्पतालको गेटमा पहिचान पक्षधर युवाले प्रदर्शन गरेका थिए। कालो झन्डा प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा संयोजक किराँत, किराँत युवा फोर्सका संयोजक निर्मल राई, मूल संघर्ष समितिका सचिवालय सदस्य सुनील चाम्लिङलगायत घाइते भएका छन्।