१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format १o:४४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

मंसिरसम्म विद्युत् उत्पादन गर्ने मध्यभोटेकोसीको लक्ष्य

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १o:४४:oo

१०२ मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् कम्पनीले आउँदो मंसिरबाट विद्युत् उत्पादन सुरु गर्ने तयारी गरेको छ । निर्माणलगायत ९९ प्रतिशत काम सकेपछि मंसिरदेखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित ट्रान्समिसन लाइनको बाँकी काम पूरा गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले बताए ।

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको मध्यभोटेकोसी जलविद्युत् आयोजना सन् २०१३ देखि चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रोइलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोले निर्माण गरिरहेको छ । भोटेकोसी गाउँपालिका– ५ चाकुमा यसको मुख्य बाँधस्थल छ । चाकुबाट बाह्रबिसे नगरपालिका– ५ जम्बुसम्म ७.२ किलोमिटर सुरुङ खनेर भोटेकोसी नदीको पानी पावरहाउसमा ल्याइएको छ । सिवाकोटीले दिएको जानकारीअनुसार सुरुङ निर्माण सम्पन्न भएको छ । 

२०१७ मा सम्पन्न गर्ने लक्ष्य रहे तापनि भोटेकोसी बाढी र भूकम्पले आयोजनाको काम पछाडि धकेलिएको हो । अहिले पनि यही मितिमा विद्युत् सुरु गर्ने भन्ने अन्तिम टुंगो लाग्न नसकेको आयोजनाका साइट प्रमुख सूर्यनाथ भुर्तेलले बताए ।

‘कात्तिकसम्म सबै काम सकेर मंसिरबाट उत्पादन सुरु गर्ने लक्ष्य छ,’ उनले भने । यसअघि असारमा परीक्षण उत्पादन गर्ने भनिएको थियो । मध्यभोटेकोसीले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिन बाह्रबिसे नगरपालिकाको बेतेमा निर्माणाधीन ४०० केभीको सबस्टेसन पूरा हुनुपर्छ । सबस्टेसन बनेपछि खिम्ती–बाह्रबिसे प्रसारणलाइनमा जोडिन्छ । खिम्तीको प्रसारणलाइनअन्तर्गत केही स्थानमा टावर बन्न बाँकी छन् । त्यसैगरी सबस्टेसनको काम पूरा हुन अझै ६ महिनाजति लाग्न सक्छ । बाह्रबिसेका स्थानीय बुद्धराज बस्नेतले मध्यभोटेकोसीले प्रसारणलाइन निर्माण गर्दा प्रभावित जनतासँग छलफल नगरेकाले विवाद कायमै रहेको बताए । प्रसारणलाइनको टावर र तार टाँगिने क्षेत्रका स्थानीयलाई मनोमानी ढंगले मुआब्जा तोकेकाले विवाद निस्केको हो । सबस्टेसन रहेको क्षेत्र भौगोलिक हिसाबले पनि कमजोर छ । सबस्टेसनको भारी सामग्री बेते पुर्‍याउन समय लागेकोले निर्माण ढिलो भएको हो । 

आयोजनाको पनि प्रसारणलाइन र निर्माणसम्बन्धी केही काम पूरा हुन बाँकी छन् । दसैँनजिक आएकाले करिब १५ दिन काम बन्द हुन्छ । ‘सुरुङ, बाँध, हेडवर्क्स र पावरहाउसका सबै काम सम्पन्न भएका छन् । प्रसारणलाइन र सबस्टेसनको काम पूरा हुन समय लाग्ने भएकोले हामी रोकिएका हौँ,’ सिवाकोटीले भने, ‘तर, मंसिरसम्म जसरी पनि विद्युत् उत्पादन सुरु गर्छौँ ।’ अढाई वर्षअघि सिवाकोटी सिइओ बनेर आउँदा मध्यभोटेकोसीको काम जम्मा ३० प्रतिशत मात्रै सकिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध–निर्देशक कुलमान घिसिङ दुईपटक बाह्रबिसे पुगेर सबस्टेसन र मध्यभोटेकोसीको निरीक्षणपछि समयमै काम सक्न निर्देशन दिएका थिए । घिसिङकै निर्देशनपछि आयोजनाको कामले तीव्रता पाएको हो । विद्युत् उत्पादन सुरु हुनै लाग्दा आयोजनामा १५ अर्ब २८ करोड लगानी भइसकेको छ ।

यसमध्ये तीन अर्ब सञ्चयकोषको ब्याज हो । आयोजनाको काम ढिलो हुँदा तीन अर्ब ब्याज तिर्नुपरेको भुर्तेलले बताए । यहाँ चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, नेपाल विद्युत् प्राधिकरण १०, सञ्चयकोष र आयोजनाका कर्मचारीको २०.५०, सिन्धुपाल्चोकवासी १०, सिन्धुपाल्चोकका चारवटा लगानीकर्ता कम्पनीको चार र सर्वसाधारणको १५ प्रतिशत सेयर लगानी छ । १०२ मेगावाट क्षमताबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुन्छ । जसबाट आयोजनाले बर्सेनि करिब तीन अर्ब आम्दानी गर्न सक्छ ।