मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
२०८० असोज ५ शुक्रबार ०८:१०:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

संयुक्त राष्ट्र महासभाका ती आक्रोशपूर्ण सम्बोधन

Read Time : > 2 मिनेट
२०८० असोज ५ शुक्रबार ०८:१०:००

सन् १९४६ डिसेम्बर १० मा पहिलो सत्र बसेदेखि नै संयुक्त राष्ट्रसंघको महासभा विश्व नेता र कूटनीतिज्ञलाई आफ्ना देशका प्राथमिकता भन्ने र मानवका साझा समस्या तथा आवश्यकताबारे छलफल गर्ने मञ्च बनेको छ । संयुक्त राष्ट्रसंघीय महासभाका बैठकले विश्वका शत्रु मुलुकका नेतालाई पनि एउटै भवनमा बहस गर्ने अवसर सिर्जना गरिदिएको छ ।

यिनै बैठकमा सहभागी हुन अमेरिकाले आफ्नो सबैभन्दा ठूला शत्रु मानेका देशका राष्ट्र प्रमुखसमेत अमेरिकी भूमि (न्युयोर्क सहरस्थित संयुक्त राष्ट्र मुख्यालय)मा आउन पाउँछन् । मंगलबारदेखि वार्षिक अधिवेशन सुरु भएको अवसरमा यहाँ महासभाको इतिहासमा विश्व नेताहरूका आक्रोशपूर्ण सम्बोधनबारे उल्लेख गरिएको छ ।

 शक्तिराष्ट्रविरुद्ध गद्दाफीको आक्रोश
आफ्नो चार दशकभन्दा लामो शासनमा लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीले एक पटक मात्र संयुक्त राष्ट्रसंघको महासभामा एक पटक मात्र सम्बोधन गरे । सन् २००९ को त्यस सम्बोधनलाई उनले सम्झनलायक बनाए । गद्दाफीले विश्व शक्तिविरुद्ध करिब सय मिनेट(डेढ घन्टा) लामो आक्रोशपूर्ण भाषण दिए । दुई वर्षपछि नेटो समर्थित विद्रोहमा सत्ताच्युत भएर मारिएका गद्दाफीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का पाँच स्थायी सदस्यको भिटो शक्तिको निन्दा गरे ।

‘भिटो शक्ति खारेज गरिनुपर्छ । सुरक्षा परिषद्ले हामीलाई सुरक्षा प्रदान गर्नुको साटो आतंक र प्रतिबन्ध प्रदान गरेको छ,’ गद्दाफीले भाषणमा भने । भाषणका क्रममा गद्दाफीले संयुक्त राष्ट्रसंघको बडापत्र पढेर सुनाउँदै संघका कमजोरी र उसले आफ्नै नियम लागू गर्न नसक्नुको कारणमाथि प्रकाश पारेका थिए । गद्दाफीले सन् २००३ मा इराकमाथि अमेरिकी नेतृत्वमा भएको आक्रमणको अनुसन्धान गर्नुपर्ने माग पनि राखे । उनले संयुक्त राष्ट्र बडापत्रको अनाक्रमणको प्रावधानलाई सन् १९९० मा इराकले कुवेतमाथि आक्रमण गर्दा लागू गरिएको तर जब सोही देशमाथि पश्चिमी आक्रमण हुँदा रद्दीको टोकरीमा फालिएको कुरा उठाए । संयुक्त राष्ट्रसंघको महासभामा वक्तालाई बोल्नका लागि १५ मिनेटको समय दिइन्छ, तर गद्दाफीले पटक–पटकको जनाउ सूचनालाई बेवास्ता गर्दै सम्बोधन जारी राखेका थिए ।

 जब ह्युगो चाभेजले जर्ज डब्लु बुसलाई ‘सैतान’ भने
भेनेजुलया र अमेरिकाबीचको बढ्दो टकरावका बीच सन् २००६ मा भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजले तत्कालीन अमेरिकी राष्ट्रपति जियोज डब्लु बुशलाई संयुक्त राष्ट्र संघको सम्बोधनमा ‘शैतान’को संज्ञा दिए । ‘हिजो शैतान यस ठाँउ उभिएको थियो । र, अहिलेसम्म पनि उसको सल्फरको गन्ध आईरहेको छ,’ चाभेजले सम्बोधनमा भने । चाभेजले केही साताअघि लेबनानमा १००० को ज्यान लिने अमेरिकी समर्थित इजरायली सैन्य कारबाहीलाई उद्धृत गर्दै बुशको नीतिको कडा आलोचना गरेका थिए । ‘अमेरिकी सरकार शान्ति चाहँदैन । यो युद्धको माध्यमबाट आफ्नो शोषण, लुटपाट, वर्चस्वको प्रणालीलाई अधिकतम उपभोग गर्न चाहन्छ ,’ चाभेजले अमेरिका आलोचनामा केन्द्रीत हुदै भनेका थिए,’ इराकमा के भइरहेको छ ? लेबनानमा के भयो ? अनि प्यालेस्टाइनमा के भइरहेको छ ? ल्याटिन अमेरिका र संसाराभर पछिल्लो १०० वर्षमा के भयो ? र अहिले फेरी भेनेजुएलालाई धम्की दिँईदैछ, नयाँ धम्की ।’ 

 उत्तर कोरियालाई ‘पूर्ण रूपमा ध्वस्त’ पार्ने ट्रम्पको धम्की 
संयुक्त राष्ट्रसंघको महासभाका भाषण प्रायः अन्तर्राष्ट्रिय सहयोग र साझा चुनौतीमा केन्द्रित हुने गर्छन् । तर, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले २०१७ को सम्बोधनमा एउटा देशलाई ध्वस्त पारिदिने धम्की दिए । ‘अमेरिकासँग विशाल बल र धैर्यता छ । तर, आफू र आफ्ना सहयोगीको प्रतिरक्षाका लागि बाध्य पारियो भने हामीसँग उत्तर कोरियालाई पूर्ण रूपमा ध्वस्त बनाउनुबाहेक अर्को विकल्प हुनेछैन । रकेट म्यान आफ्ना लागि र उनकै शासनका लागि पनि आत्मघाती हुने अभियानमा छन् । अमेरिका यसका लागि तयार र सक्षम छ, तर आशा गरौँ कि यो आवश्यक हुनेछैन,’ ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई ‘रकेटम्यान’को रूपमा उल्लेख गर्दै धम्की दिए ।

यो सम्बोधनको एक वर्ष पनि नपुग्दै ट्रम्पले सिंगापुरमा भएको शिखर सम्मेलनमा किमलाई भेटे । यससँगै ट्रम्प उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्ने पहिलो अमेरिकी राष्ट्रपति बने । भेटवार्तापछि ट्रम्पले उत्तर कोरियाली नेताप्रति नरम सम्बोधन गर्न थाले । 

इरानको आणविक कार्यक्रमविरुद्ध नेतान्याहुको चित्रसहितको व्याख्यान 

सन् २०१२ को संयुक्त राष्ट्रसंघको महासभामा बोल्ने क्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले केही महिनाभित्र आणविक हतियार बनाइसक्ने चेतावनी दिएका थिए । ‘आणविक बम बनाउन कति युरेनियम चाहिन्छ ? र, इरान यसलाई हासिल गर्नबाट कति नजिक छ ?’ नेतान्याहुले सम्बोधनका क्रममा प्रश्न गरे र आफैँले प्रश्नको जवाफ दिन लागे । ‘म तपाईंहरूलाई बुझाउँछु । यसका लागि मैले एक रेखाचित्र ल्याएको छु ।’ आणविक विज्ञानको जटिलताका बाबजुद, नेतान्याहुको रेखाचित्रमा गोलो आकारको परम्परागत बम थियो । उनले आणविक हतियार निर्माण गर्न आवश्यक पर्ने ७० प्रतिशत प्रशोधित युरेनियम तेहरानले संकलन गरिसकेको र दोस्रो चरणमा ९० प्रतिशत हासिल गर्ने क्रममा रहेको दाबी गरे । त्यसपछि उनले रेखाचित्रमा एक रातो घेरा कोरेर ९० प्रतिशत देखाएका थिए । 

असमानताविरुद्ध क्यास्ट्रोको सम्बोधन
क्युबाली नेता फिडेल क्यास्ट्रोले सन् १९६० को महासभाको सत्रमा साढे चार घन्टा भाषण गरेर रेकर्ड नै बनाए । क्युवाली क्रान्ति सम्पन्न भएको एक वर्षपछि महासभामा सम्बोधन गर्न पुगेका क्यास्ट्रोले विश्वव्यापी असमानताविरुद्ध बोलेका थिए । संयुक्त राष्ट्र सघंको रेकर्डअनुसार क्यास्ट्रोले २६९ मिनेटसम्म भाषणा गरेका थिए । त्यो भाषणको एक वर्षपछि, अमेरिकाले ‘बे अफ पिग्स’ आक्रमणमार्फत क्यास्ट्रोलाई अपदस्थ गर्न खोजेको थियो, तर असफल भयो ।