नेपाल साफ यू–१९ च्याम्पियनसिपअन्तर्गत बिहीबार आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको छ । दशरथ रंगशालामा पाकिस्तानले उमेरसमूहको यस प्रतियोगितामा डेब्यु जित निकाल्यो । जितसँगै पाकिस्तानले तीन अंक जोड्यो । अब सेमिफाइनल पुग्न नेपाललाई जित्नैपर्ने दबाब छ । नेपालले शनिबार माल्दिभ्सलाई हराउनुपर्नेछ । प्रतियोगिताको पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० ले हरायो ।
चार संस्करणसम्म पाकिस्तानले सहभागिता जनाएको थिएन । सार्क राष्ट्रमा अफगानिस्तानसहित आठ राष्ट्रले सहभागिता जनाउँदा पाकिस्तानको यो नै पहिलो सहभागिता हो । भुटान चारपटक सहभागी भएको छ । नेपाल र भारतसँगै बंगलादेश र माल्दिभ्सले समान पाँचपटक प्रतियोगिता खेल्दै छन् । पाकिस्तानको डेब्यु जितमा मिडफिल्डर अली चफरले चलाखीपूर्ण गोल गरेका थिए । खेलको ७६औँ मिनेटमा जफरले ३० यार्ड टाढाबाट प्रहार गरेको बलले सीधै जाली चुमेको थियो । जफरको प्रहार नेपाली गोलरक्षक तथा कप्तान जियारथ शेखले ठम्याउनै सकेनन् ।
नेपालको रणनीति असफल
नेपालको प्रशिक्षक सुनील श्रेष्ठले पाकिस्तानविरुद्ध आक्रमणमा असफल भएको बताए । ‘सोचेको जस्तो खेल भएन । खेलाडीले मिहिनेत गरेका थिए । अर्काे खेलमा राम्रो गर्ने प्रयास गर्छाैं,’ उनले भने । पाकिस्तानी खेलाडीविरुद्ध आक्रमणमा चुकेपछि श्रेष्ठले ‘प्लान बी’ प्रयोग गरे । ‘पहिलो रणनीति सफल नभएपछि हामीले प्लान बी लागू गरौँ, आशा गरिएका खेलाडीबाट राम्रो प्रदर्शन हुन सकेन,’ श्रेष्ठले थपे, ‘गोलरक्षकको राम्रो प्रदर्शनका बाबजुद पनि हार्न पुग्यौँ । माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा पुग्ने आशा छ ।’
पाकिस्तानका प्रशिक्षक सदाव इफ्तिखरले खेलाडीको मिहिनेतले जित निकाल्न सफल भएको बताएका छन् । ‘मैले दुई साता मात्रै टोली हेरेको छु । पहिलो हाफमा केही दबाब भयो । दोस्रो हाफमा राम्रो गर्न सफल भयौँ,’ दुई साताअघि लन्डनबाट पाकिस्तान फर्किएका इफ्तिखरले भने ।